
रोल्पा । नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपाको बहिस्कारका बीच रोल्पाको साविक थबाङ गाविसमा ८ सय २१ जनाले प्रदेश सभा तथा प्रतिनिधि सभाका लागि मतदान गरेका छन्।
मध्यरातदेखि मध्यान्हसम्म मतदान बिथोल्न थबाङ वरपरका गाउँमा बिप्लव समूहले बिस्फोट जारी राखे पनि थवाङ्गीहरुले उत्साहपूर्वक मतदान गरेका हुन्।
थबाङमा रहेका पत्रकार मौसम रोकाका अनुसार थबाङ गाउँपालिका बन्नुअघिको थबाङ गाविस अहिले गाउँपालिकाको दुई वटा वडामा विभाजित छ। दिउसो ४ बजेसम्म ८ सय २१ जनाले मतदानमा भाग लिएका छन्’ रोकाले टेलिफोनमा भने, ‘मतदाताको अनुपातमा यो कमै संख्या हो, यहाँ जस्तो परिस्थिति छ, त्यसको तुलनामा चाहिँ यो उल्लेख्य हो।’
हाल थबाङ गाउँपालिकामा पर्ने वडा नं १ मा मतदाता संख्या १ हजार २ सय ६७ छ भने २ नं वडामा १ हजार ५ सय ५ छन् । वडा नं २ को तुलनामा १ नं वडामा बिप्लव समूहको पकड छ, जहाँ स्थानीय तह निर्वाचनमा नेकपा समर्थित स्वतन्त्र उम्मेदवार थर्कबहादुर पुनले वडाध्यक्षमा विजय हासिल गरेका थिए । २ नं मा चाहिँ माओवादी केन्द्रले विजय हासिल गरेको थियो ।
‘बिप्लव समूहको सांगठनिक प्रभाव रहेकाले वडा नं १ मा बहिस्कारको प्रभाव परेको छ’ रोकाले भने, ‘वडा नं २ मा चाहिँ माओवादी केन्द्रको प्रभाव रहेकाले त्यति ठूलो असर गरेको छैन ।’ उनका अनुसार पार्टी नीति विपरित स्थानीय तह निर्वाचनमा भाग लिएका बिप्लवका कार्यकर्ताहरु पनि यो चुनावमा चाहिँ बहिस्कारका लागि खटिएका छन् ।
पहिलेका निर्वाचनमा झैं यसपटक पनि पूर्णरुपमा बहिस्कार गराउन बिप्लव समूहका कार्यकर्ताहरुले विहानैदेखि थबाङ वरिपरिको जंगली इलाकामा लगातार विस्फोट गराएका थिए ।
रोकाका अनुसार विहान ४ बजेदेखि सुरु भएको विस्फोटन दिउँसो २ बजेसम्म पनि जारी थियो । यसैगरी घरघरमा पुगेर मतदानमा नजान उर्दीसमेत जारी गरेका थिए ।
‘थबाङमा एकखालको टकरावको स्थिति बन्यो, बिप्लवका कार्यकर्ताहरुले मतदानमा जान रोक्ने र माओवादी केन्द्र समर्थित वाइसिएलले चाहिँ मतदानका लागि उत्प्रेरित गर्ने गरिरहे’ रोकाले भने, वाइसीएलका कारण अधिक युवा र प्रौढहरु मतदानका लागि गए, तर भीडन्तको भयका कारण बृद्धबृद्धाहरु चाहिँ मतदानमा जान सकेनन्।’