कांग्रेस नेताहरुलाई अधिनायकवादको अर्थ खोज्न जनार्दनको आग्रह

  
  प्रकाशित मितिः सोमवार, मंसिर ११, २०७४       | 224 Views   ||

तुलसीपुर । उज्यालोका अभियन्ता पूर्वगृहमन्त्री जनार्दन शर्मा “प्रभाकर”ले नेपाली कांग्रेस र त्यसका सभापति तथा अन्य नेताहरुलाई अधिनायकवादको अर्थ सुझाएका छन् ।

प्रेस सेन्टर नेपाल दाङ र प्रेस चौतारी दाङको संयुक्त आयोजनामा तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “अधिनायकवादको अर्थ मुठ्ठीभरका मानिसले ९५ प्रतिशत जनतामाथि शासन गर्नु हो । हामी त ९५ प्रतिशत जनताले चुनेर पठाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन सञ्चालन गर्न चाहन्छौं ।” नेता शर्माले कांग्रेसीहरुले अधिनायकवादको अर्थ नै नबुझेको बताए ।

प्रतिनिधिसभाको निर्वाचनमा रुकुममा आफूलाई मतदान गरेलगत्तै दाङ झरेका नेता प्रभाकरले दाङलाई पश्चिम दिपायल र उत्तरमा डोल्पा हुँदै चीन जोड्ने योजना आफूसँग रहेको बताए । उनले दाङ राजधानी बनाउने कुरालाई सुनिश्चित गर्न दाङमा सबै सिट वाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने आवश्यकता औंल्याएका थिए ।

उनले मुलुकको समृद्धिका लागि वाम गठबन्धन निर्माण भएको उल्लेख गर्दै उनले निर्वाचनपछि वामपन्थीहरुले दुई तिहाईको सरकार बनाउने दावी गरेका थिए ।

नेता प्रभाकरले दाङलाई राजधानी बनाउने आधार आफूहरुले तय गरिसकेको बताए । पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै नेता प्रभाकरले भने, “हामी बोलेर हैन गरेर देखाउँछौं । म गृहमन्त्री हुँदा ५ नं प्रदेशको प्रहरीको मुख्यालय तुलसीपुरमा स्थापना गरिसकेको छु”, उनले भने, “उच्च अदालत समेत यही स्थापना भइसकेको छ । अब राजधानी यही बन्छ ।”

प्रदेशको राजधानी आ–आफ्नो जिल्लामा बनाउने तर्क र माग सबैका जायज हुन् भन्दै नेता शर्माले थपे, “तर, राजधानी बनाउने ठोस र वस्तुगत आधार चाहिन्छ । सीमा क्षेत्रमा लगेर राजधानी राख्न सकिन्न । सुरक्षा, हावापानी, मध्यविन्दु र पूर्वाधारका कारण दाङ नै राजधानी हुन्छ ।”

आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेसकै एजेण्टले समानुपातिकतर्फको मतपेटिकामा आगजनी गरेकाले लज्जाबोध भएको बताउँदै थपे, “कांग्रेसीहरु मतदानकै दिन पराजित मानसिकतामा पुगिसके । पश्चिम रुकुमका २ मतदान केन्द्रमा चुनाव स्थगित हुनुका पछाडि कांग्रेसको पराजित मानसिकताको उपज भएको पनि बताए ।

पहिलो चरणको निर्वाचनमा विभिन्न अवरोधका बावजुद शान्तिपूर्ण रुपले सम्पन्न भएको बताउँदै प्रभाकरले नेपाली कांग्रेस निकै आत्तिएको धारणा व्यक्त गरे ।

प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेस चौतारी दाङका सचिव बसन्तविवश आचार्यले गरेका थिए भने प्रेस चौतारी दाङका अध्यक्ष टीका बस्नेतको स्वागत गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *