महरा र पोख्रेलले भने– देश विकासको जिम्मा वामपन्थीको

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४       | 123 Views   ||

गढवा । उप–प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले अब देश बनाउने जिम्मा वामपन्थीहरुले लिने बताएका छन् ।

देउखुरीको गढवामा आयोजित वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै महराले मंसिर २१ गते हुने निर्वाचनले नेपाली जनताको समृद्धिको चाहनाको फैसला गर्ने बताएका हुन् । उनले मुलुकको समृद्धिका लागि आफूहरुले स्पष्ट खाका लिएकाले आम जनताले साथ दिनुपर्ने आवश्यकता औंल्याए ।

अहिलेसम्म आफूहरुले संविधान निर्माणमा ध्यान दिएको उल्लेख गर्दै महराले अब मुलुकको समृद्धिमा ध्यान दिने जानकारी दिए । देश र जनताको चाहनाका लागि सबै जनसमुदाय पार्टीभन्दा माथि उठेर समृद्धिको पक्षमा लाग्ने उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा व्यक्त गरे ।

महराले प्रदेश नं पाँचको राजधानी दाङलाई बनाउनको लागि दाङका नौ वटै सिट वाम गठबन्धनका उम्मेदवारले जित्नुपर्ने आवश्यकता औंल्याए । उनले चुनाव लगत्तै दुई पार्टी एकता हुने भएकाले सबै नेता तथा कार्यकर्ताहरुलाई भावनात्मक रुपमा एकतावद्ध भएर अघि बढ्न निर्देशन समेत भए ।

साझा घोषणापत्रमार्फत आफूहरुले देश निर्माणको खाका तयार पारेको उल्लेख गर्दै उनले समृद्ध नेपालका निम्ति समृद्ध दाङको नारा लिएर आफूहरु चुनावमा होमिएको जानकारी दिए । यो गठबन्धन जनतन्त्र, जनजिविका र राष्ट्रियताको लागि भएको उनको भनाई छ ।

दश वर्षमा प्रतिव्यक्ति आय दश हजार डलर पु¥याउँछौं–पोख्रेल

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं दाङ क्षेत्र नं. २ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार शंकर पोख्रेलले अबको दश वर्षमा देशबाट गरिवी हटाएर शुन्यमा झार्ने बताउनुभयो ।

नेपाली जनताहरुको आयस्तर उठाउने अभियानमा गठबन्धन लागेको भन्दै पूर्व सूचना तथा सञ्चार मन्त्रीसमेत रहनुभएका पोख्रेलले दशवर्षमा प्रतिव्यक्ति आय १० हजार डलर पु¥याउने बताउनुभयो । लोकतन्त्रको रक्षाका लागि बाम गठबन्धन निर्माण गरिएको पोख्रेलको भनाई छ ।

बामपन्थीले नेतृत्व गर्दा दाङले विकासमा फड्को मारेको भन्दै पोख्रेलले बड्कापथ, प्रगन्ना सिचाई आयोजनाले देउखुरीमा कृषिक्रान्ति गरिदिएकाले गठबन्धनले अब राप्तीको कहरबाट देउखुरीबासीलाई मुक्ति दिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *