थबाङका खम्बा बर्मन र सूर्यलाल जब मतदाता लाइनमा उभिए…

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४       | 205 Views   ||

नरेन्द्र केसी

हरेक चुनावसँगै रोल्पाको थवाङ चर्चामा रहने गर्दछ । २०३८ सालको राष्ट्रिय पञ्चायत चुनावमा शून्य मतदान गरेको थवाङले २०७० सालको संविधानसभा निर्वाचनमा पनि त्यही विरासत दोहो¥यो । २०६४ सालको चुनावमा माओवादीको पक्षमा एकछापे मत दिएको थवाङ पनि माओवादीमा आएको विभाजनसँगै नराम्ररी विभाजित भयो ।

विभाजनपछि शुरुमा मोहन वैद्य ‘किरण’को पक्षमा देखिएको थवाङ वैद्यको पार्टी पनि विभाजित भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’को पक्षमा देखियो । यद्यपि यो दृढता स्थानीय तह चुनावसम्म आउँदा कायम रहन सकेन ।

सँधै बिद्रोही देखिने थवाङले २०७४ को स्थानीय तह चुनावमा विप्लवसँग पनि बिद्रोह गर्यो । पार्टी केन्द्रले चुनाव लड्नुहुन्न भन्दाभन्दै स्थानीय नेताहरु चुनावमा लडे र १७ जना विप्लवकै कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिए । गाउँपालिकामै हार ब्यहोरे पनि स्वतन्त्र उम्मेदवारले वडा नम्बर १ मा भने जीत हात पारे ।

यही कारणले धेरै कार्यकर्ता विप्लव नेकपाको कारवाहीमा परे । स्थायी समिति सदस्य सन्तोष बुढाले पनि स्पष्टीकरण दिनुपर्यो । त्यसपछि कम चर्चामा रहेको थवाङ दुई महिनाअघि फेरि चर्चामा आयो, जतिबेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड थवाङ पुग्दा त्यसलाई बिथोल्न विप्लव कार्यकर्ताले गाउँपालिका अध्यक्ष नै अपहरण गरे ।

यो घटनापछि चर्चामा रहेको थवाङले प्रतिनिधिसभा तथा प्रदेश चुनावमा के गर्छ भन्ने धेरैको कौतुहलता थियो । अन्ततः चुनावमा मतदान भएपछि थवाङ फेरि चर्चामा छ ।

२०७० को चुनावमा शून्य मतदान भएको थवाङमा यसपटक पनि शून्य गराउने विप्लव नेकपाको लामो तयारी थियो भने यसपटक ब्रेकअप गर्ने माओवादी केन्द्रको तयारी थियो ।

‘२०७० मा माओवादी केन्द्रका कार्यकर्तासमेत अपहरणमा परेर मतदान गर्न आएनन्, तर यसपटक यो स्थिति आउन नदिन माओवादी केन्द्रको पनि लामै तयारी थियो’– थवाङ निवासी पत्रकार मौसम रोका भन्नुहुन्छ– ‘दुबैतिरको तयारी उस्तै देखिन्थ्यो तर पनि शून्य मतदानको रणनीति सफल हुन सकेन ।’

स्थानीय तह चुनावदेखि नै थवाङमा माओवादी केन्द्रको प्रभाव बढ्दै गएको देखिन्छ । माओवादी केन्द्रका जिल्ला पार्टी स्रोतका अनुसार स्थानीय तह चुनावअघि अन्य स्थानीय तहले दुई सय पार्टी सदस्य थप गर्दा त्यहाँ चार सय थप गरिएको थियो । परिणामस्वरुप साविक थवाङमा पर्ने वडा नम्बर २ सहित गाउँपालिका माओवादी केन्द्रले जित्यो ।

त्यही पृष्ठभूमिलाई विस्तार गर्दै यसपटक माओवादी केन्द्रले साविक थवाङमा ८२२ मत झारेको छ । जसमध्ये १२७६ मतदाता रहेको वडा नम्बर १ विप्लवको बढी प्रभाव रहेको वडाको रुपमा चिनिन्छ ।

त्यहाँ सापेक्षिकरुपमा कम मत नै खस्यो । त्यहाँ २७६ मत मात्रै खसेको छ भने साविक थवाङको अर्को वडा वडा नम्बर २ मा ५४६ मत खसेको छ । यो वडामा १५०५ मत रहेको छ । यो हिसाबले वडा नम्बर १ मा अझै विप्लवको प्रभाव बढी रहेको देखिन्छ भने वडा नम्बर २ मा माओवादी केन्द्रको प्रभाव विस्तार हुँदै गएको देखिन्छ ।

बर्मन र सूर्यलालको मतदान

बर्मन बुढा थवाङ मात्र होइन रोल्पाकै पहिलो कम्युनिष्ट सदस्य हुन् । त्यस्तै सूर्यलाल बुढा रोल्पाका पहिलो जिल्ला सेक्रेटरी हुन् । उनीहरु थवाङका खम्बा मानिन्छन् । बर्मन २०४८ सालमा कृष्णबहादुर महरासँगै जिल्ला सेक्रेटरी बनेका हुन् भने सूर्यलाल कृष्णबहादुर महरा जिल्ला सदस्य हुँदाका जिल्ला सेक्रेटरी हुन् । यसपटकको चुनावमा यी दुबै अगुवा नेताले थवाङका मतदाताको अलमल फुकाइदिए ।

मतदानका लागि मतदाता तयार भए पनि धेरै अलमलमा थिए । डाँडाडाँडामा बम बिष्फोटन भइरहेको बेला बम बारुदलाई चुनौति दिंदै मतदाताको लाइनमा गएर उभिनु पनि चुनौतिपूर्ण नै थियो । ‘धेरै मतदाता अलमलमै रहेको बेला बर्मन र सूर्यलाल जब मतदाताको लाइनमा गएर उभिए, अनि धेरैको मौनता टुट्यो र मतदान केन्द्रमा लाम लाग्न थाल्यो’– निर्वाचनमा खटिएका एक कर्मचारीले भने ।

किन गए त बर्मन र सूर्यलाल माओवादी केन्द्रको लाइनमा ?

लामो समयदेखि बर्मनले थवाङमा वैचारिक बहस गरिरहेका थिए । क्रान्तिलाई धोका भयो भन्नेमा उनी अहिले पनि सहमत छन् तर यसको अर्थ विप्लवबाटै क्रान्ति हुन्छ भन्नेमा उनी ढुक्क भइसकेका थिएनन् ।

जब केन्द्रमा बामगठबन्धनको सहमति भयो, अनि बर्मनमा उत्साह देखियो । मतदान गरेपछि बर्मनले भने– ‘म रोल्पाको पहिलो कम्युनिष्ट सदस्य हुँ, म सबै कम्युनिष्ट एक भएर कम्युनिष्ट सरकार बनेको हेर्न चाहने मान्छे हुँ, ढिलै भए पनि नेपालका कम्युनिष्टहरु एक हुने तयारी भएपछि मेरो मत पनि यसैको समर्थनमा हो ।’

त्यसो त पछिल्लो समयमा बर्मनकै अगुवाइमा भएको थवाङ गाउँपालिका गठन र यसको केन्द्र थवाङ बनाउने आन्दोलनप्रति माओवादी केन्द्र र प्रचण्ड सकारात्मक भएपछि बर्मनको केही सामिप्यता बढेको थियो । दुई महिनाअघि प्रचण्ड थवाङ जाँदा पनि उनले खुलेरै स्वागत गरेका थिए र मञ्चमै गएर बसेका थिए ।

त्यस्तै रोल्पाका संस्थापक डिसीएस सूर्यलालले पनि कम्युनिष्ट एकताले उत्साहित बनाएर आफूले मतदान गरेको बताए । ढिलाचाँडो कम्युनिष्ट धु्रवीकरणमा सबै घटक आउने उनको विश्वास छ ।

तनावको खतरा, संयमताको खाँचो

यो पंक्ति तयार गरिरहँदा माओवादी केन्द्रको दुई वडाको समीक्षा बैठक छेर्लावाङमा बसिरहेको थियो । अधिकांश कार्यकर्ता ठूला गाउँ छाडेर यो बैठकमा भाग लिन छेर्लावाङ पुगेका छन् । यता ठूलो गाउँमा भने विप्लव नेकपाका कार्यकर्ता हावी भइसकेका छन् ।

उनीहरुले फोन गरेर ‘तिमी किन भागेको यतै आउ हिसाब किताब गरौं’ भन्न थालेको एक नेताले बताए । त्यसो त मतदान गरेका घरको सूचि बनाउने र तिमीहरुको हिसाब किताब हुन्छ भन्दै माइकिङ गर्ने काम भइरहेको उनको दावी थियो ।

त्यसो त समीक्षा बैठक सकेर माओवादी केन्द्रका कार्यकर्ता ठूलो गाउँमा फर्केपछि तनाव हुने हो कि भन्ने स्थानीयको त्रास छ । त्यसो हुन नदिन दुबै पक्षले संयमता अपनाउनुपर्ने देखिन्छ । मतदान गर्ने र बहिष्कार गर्ने दुबै पक्षले आफ्नो अभिमत प्रकट गरेका हुन्, त्यसैले दुबै पक्षको मत सम्मान गरेर मिलेर बस्नु उपयुक्त हुने कम्युनिष्ट अगुवा बर्मन बुढाको सुझाव छ ।

माओवादी केन्द्रको निष्कर्ष– शान्ति र समृद्धिको लाइन अनुमोदन

यसैबीच माओवादी केन्द्रको थवाङ छेर्लावाङमा बसेको बैठकले साविक थवाङमा भएको मतदानले शान्ति र समृद्धिको लाइन दोस्रोपटक अनुमोदन भएको निष्कर्ष निकालेको छ ।

त्यस्तै नेकपाले भने राज्यशक्तिको दुरुपयोग गरेर जबरजस्ती मतदान गराएको आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *