भूपू सैनिकहरुको साथ महरालाई

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४       | 184 Views   ||

घोराही । भूपू भारतीय सैनिकहरुले उप–प्रधानमन्त्री एवं दाङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णबहादुर महरालाई स्वागत गरेका छन् ।

नेपाल–भारत भूतपूर्व सैनिक संघले घोराहीको चौघेरामा आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी भूपू सैनिकहरुले विकासप्रेमी नेता महरालाई सबैले साथ दिने प्रतिवद्धता व्यक्त गरेका हुन् । सो अवसरमा उनीहरुले महराको जित सुनिश्चित भएको समेत बताएका थिए ।

संघका सचिव पदम केसीले महराको स्तरका अन्य प्रतिस्प्रर्धी उम्मेदवार नभएकाले उनको जित सुनिश्चित भइसकेको बताए । उनले संघलाई महराको पहलमा एम्वुलेन्स प्राप्त भएको जानकारी दिए ।

‘हामीले संघमा रहनुभएका सम्पूर्ण सदस्यहरुलाई महरालाई मतदान गर्न आग्रह गरेका छौं,’ केसीले भने, ‘महराले आफू अर्थमन्त्री हुँदा दाङमा साढे ५ अर्ब बजेट विनियोजन गर्नुभएको छ, अरु कसैले यति बजेट विनियोजन गर्न सक्छ ?’

संघका अध्यक्ष कृष्ण घर्तीले यसपटक आफूहरुले विकासप्रेमी नेतालाई मतदान गर्ने जानकारी दिए । उनले दाङ राजधानी बनाउनको लागि सबै भूतपूर्व सैनिक परिवारले केन्द्रमा हस्तक्षप गर्न सक्ने नेतालाई भोट हाल्न तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै उप–प्रधानमन्त्री महराले पछिल्लो दश वर्ष आफूले संविधान निर्माण र शान्ति प्रकृयामा ध्यान दिएको उल्लेख गर्दै अबको पाँच वर्ष दाङको विकासका लागि लाग्ने प्रतिवद्धता व्यक्त गरे । ५ नं. प्रदेशको राजधानी दाङ बनाउने आफ्नो प्रमुख लक्ष्य भएको उनले प्रतिवद्धता व्यक्त गरे ।

महराले समृद्ध दाङ चाहने जनताले वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा हाँस्य कलाकार कमल गाउँलेले आफ्नो प्रस्तुति देखाएका थिए । कार्यक्रम रामबहादुर थापाको स्वागत मन्तव्यबाट शुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *