के गर्छन् महरा ? यस्तो छ उनको दैनिकी

  
  प्रकाशित मितिः बुधबार, मंसिर १३, २०७४       | 1095 Views   ||

उनी कोठामा पुग्दा रात ढल्कदै गइरहेको हुन्छ । चुनावी अभियानमा दिनभरको थकान तर पनि उनी अर्को दिनको कार्यक्रमबारे जानकारी राखेर मात्र सुत्छन् ।

बिहान ३ बजे उनी उठिसक्छन् र अघिल्लो दिनभर सामाजिक सञ्जालमा राखिएका विषय र कुराहरुका बारेमा अपडेट हुन्छन् । बिहानको नित्यकर्मपछि ५ बजेदेखि नै उनको भेटघाटको क्रम जोडिहाल्छ । लगातार दिनभर उनी करिब १० देखि १२ वटासम्म कार्यक्रम भ्याउँछन् ।

महरा उमेरले ६० पुगिसकेका छन् । तर उनको क्रियाशीलता र सक्रियता युवाकालको जस्तो ऊर्जावान् छ । उनी कार्यक्रममा जोडिरहेका हुन्छन् र सँगसँगै फोनबाट भेटघाटको कामलाई पनि अघि बढाइरहेका हुन्छन् ।

नेपाली राजनीतिमा उनी हाई प्रोफाइलका नेता हुन् । उनको छवि राष्ट्रिय राजनीतिमा मात्र होइन, अन्तर्राष्टिय स्तरमा समेत प्रभावकारी ढंगले उठिसकेको छ ।

तर उनी आफ्नो चुनावी प्रचारमा जनताबीच पुग्दा सामान्य अनौपचारिक तरिकाले प्रस्तुत हुन्छन् र जनताका समस्या सुन्छन् अनि जनताकै शैलीमा कुराकानी थाल्छन् ।

शालीन र भद्र व्यक्तित्वका पर्याय बनेका महरा अनौपचारिक रुपमा त्यत्तिकै रमाइलो र ठट्यौली गरेर आफ्नो प्रचार टिमका साथीहरुको थकान मेटाइदिन्छन् । उनको प्रचार टिम पनि रमाइलो छ ।

चर्चित हाँस्यकलाकार कमल गाउँले हरदिन उनको साथमा रहेका छन् र जनतालाई हँसाउँदै भोट हाल्ने तरिका सिकाइरहेका हुन्छन् ।
महराले आजभोलि जतिलाई भेट्छन् र जति ठाउँमा पुगेर भाषण गर्छन् सबैसँग एउटै कुरा भन्ने गर्छन्– अब राजनीतिक एजेण्डा सकियो, आर्थिक विकास र समृद्धि नै हाम्रो प्राथमिकता हो ।

हिजोको शान्तिप्रकया र संविधान निर्माणमा मैले केन्द्रीय भूमिका निर्वाह गरें अब मेरो पूर्ण ध्यान र हासिल गरेको क्षमता विकास र समृद्धिमा लाग्नेछ ।

उनी भन्छन्– आजभोलि त म सपना पनि विकासका योजना कोरिरहेको र विकासमा जनताको सहभागिता भएको देखिराख्छु ।
दाङलाई समृद्ध बनाउने जिम्मा त म लिइहाल्छु, सँगै देशलाई समृद्ध बनाउने तहको जिम्मा पनि मैले निर्वाह गर्छु, उनले जनतामाझ यही कुरा राखिरहेका हुन्छन् । उनले जनताका समस्या पनि सुनिरहेका हुन्छन् र समाधानका उपाय पनि दिइरहेका हुन्छन् ।

उनी कार्यकर्ताहरुमाझ यही कुरा बोलिरहेका हुन्छन्, हिजो राजनीतिक अधिकारका लागि संघर्ष र युद्ध गर्नुपरयो अब आर्थिक विकास र समृद्धि गरेर देशलाई समाजवादमा लैजाने हो र हाम्रा समस्याहरु पनि त्यही आर्थिक समृद्धिको अभियानबाट हल हुनेछन् ।

उनले समृद्ध दाङ बनाउनका लागि आफ्ना योजनाहरु पनि प्रस्तुत गरेका छन् । ती योजनालाई उनले अन्य जिल्लामा जोडेर दाङलाई पश्चिम नेपालकै केन्द्र बनाउने गरी ठुला योजनाको पनि नेतृत्व गरिराखेका छन् ।

जसका लागि पार्टीले मलाई दाङमा पठाएको हो, अब मेरो एक सुत्रीय एजेण्डा हो आर्थिक विकासद्धारा दाङलाई देशकै एउटा नमुना केन्द्र बनाउने उनी भन्छन् ।

महरा दाङमा बसेर जनतासँग भोट माग्दै बोलिरहेका कुराप्रति सबै वर्गका जनता र समुदाय आश्वस्त बन्दै गइरहेका देखिन्छन् ।

बजार र चोकहरुमा धेरैले भन्न थालेका छन् महराजस्ता सन्तुलित नेता दाङलाई सधैं खाँचो छ, अझ दाङ प्रदेशको केन्द्र बन्ने र बनाउने कुरामा त महराको उपस्थिति अनिवार्य छ । दाङमा महराले जित्नुको अर्को विकल्प छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *