दाङ प्रदेश राजधानीका लागि महरा र शंकरको जीत अनिवार्य : अनन्त

  
  प्रकाशित मितिः बुधबार, मंसिर १३, २०७४       | 276 Views   ||

दाङ, मंसिर १३ । नेकपा माओवादीका नेता तथा पूर्वअर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ले दाङलाई राष्ट्रिय स्तरकै वरिष्ठ नेताहरु जिताउने अवसर आएको बताएका छन् ।

पुनले वाम गठबन्धनले दाङलाई पश्चिम नेपालकै केन्द्र विशेष प्राथमिकता दिएर एक जना प्रतिनिधि सभामा र एक जनालाई प्रदेशको मुख्यमन्त्रीकै उम्मेदवारको रुपमा प्रदेश सभामा उम्मेदवार बनाएर वरिष्ठ नेताहरुलाई अघि सारेको बताएका हुन् ।

प्रेस सेन्टर नेपाल दाङ र प्रेस चौतारी नेपाल दाङले बुधबार घोराहीमा गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पुनले दाङको समग्र विकासका लागि केन्द्र र प्रदेश दुवै तहमा बलियो हस्तक्षेप गर्न सक्ने नेताहरुलाई वाम गठबन्धनले अघि सारेको बताए ।

‘वरिष्ठ नेताहरुमध्ये एक जनालाई प्रतिनिधि सभामा र एक जनालाई प्रदेश सभामा मुख्यमन्त्रीको उम्मेदवारकै रुपमा गठबन्धनका तर्फबाट अघि सारेर दाङबाट चुनावी मैदानमा अघि सारेका छौं, उनले भने, ‘यसले पनि दाङलाई वाम गठबन्धनले विशेष प्राथमिकता दिएको स्पष्ट हुन्छ ।’

वरिष्ठ नेताहरुलाई जिताउनै पर्ने मुख्य कारण प्रदेशको राजधानी दाङलाई बनाउने उद्देश्यसँग जोडिएको भन्दै उनले भने, ‘दाङलाई हामीले ५ नं. प्रदेशको राजधानीको रुपमा प्रस्ताव गरेका छौं, दाङ भौगोलिक, सामरिक, हावापानी र भौतिक पूर्वाधारको हिसाबले पनि प्रदेश राजधानीका लागि उपर्युक्त छ ।’ उनले थप प्रष्टिकरण दिदै भने, ‘प्रदेश राजधानी दाङ बनाउनकै लागि पनि प्रतिनिधि सभामा कमरेड महराले जित्नुपर्छ भने प्रदेशमा कमरेड शंकरले जित्नैपर्छ ।’

एक फरक प्रसंगमा महरा र आफ्नो विषयमा मिडियामा आउने नानाथरि समाचारप्रति अनन्तले सञ्चारकर्मीप्रति गुनासो गरे । ‘बेला–बेलामा मिडियाहरुमा महरा कमरेड र मेरो विषयमा नानाथरि हल्लाहरु आउँछन्, उनले भने, ‘महरा मेरो राजनीतिक र शैक्षिक दुवै गुरु हुनुहुन्छ, हामी बीचमा कुनै पनि मतभेद र असहमति छैन । कम्तीमा कथाहरु बुनेर नकारात्मक समाचार नलेखिदिनुहोला ।’

कांग्रेसलाई हतोत्साही नहुन आग्रह

निर्वाचनमा अहिले लोकतान्त्रिक र वाम गठबन्धन बनेको भन्दै नेता पुनले वैचारिक धु्रवीकरणसहित भएको यो गठबन्धन स्वभाविक प्रक्रिया भएको बताए । बामपन्थी गठबन्धन अहिलेको आवश्यकता भएको र यो गठबन्धन पार्टी एकताकै तहसम्म पुग्ने पुनले बताए ।

कांग्रेस नेताहरु हतोत्साहित भएर वाम गठबन्धनलाई अधिनायकवादी शासनको आरोप लगाइरहेको भन्दै उनले गठबन्धन बन्दैमा रातारात अधिनायकवादी कोही नहुने भएकाले हतास नहुन कांग्रेसलाई आग्रह गरे ।

‘हिजो हामी उहाँहरुसँग सरकारमा हुँदा अधिनायकवादी भएनौं, एमालेसँग सरकारमा हुँदा एमाले पनि अधिनायकवादी भएन, उनले भने, ‘अहिले हामीले वाम गठबन्धन के बनाएका थियौं, उहाँहरु आत्तिएर कम्युनिष्ट अधिनायकवादको भ्रम छर्दै हुनुहुन्छ । अधिनायकवाद रातारात हुँदैन, कांग्रेसका नेताहरु यसरी हतोत्साही हुन जरुरी छैन ।

विप्लवलाई सल्लाह– गलत तरिकाले हतियार प्रयोग गर्दा आफैलाई खतरा हुनसक्छ

माओवादी नेता पुनले पूर्व सहकर्मी नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द विप्लवलाई अहिले गलत तरिकाले प्रयोग गरिएका हतियारले पछि आफैलाई खतरा हुने भएकाले समयमै सजग हुन आग्रह गरे ।

हतियार उठाउनुको कारणबारे बहसमा आउन अपील गर्दै पुनले गलत समयमा गलत तरिकाले हतियार प्रयोग गरिएको बताए । ‘हिजो आवश्यकता थियो र हामीले सँगै हतियार उठायौं तर अहिले यही संविधानबाट समाजवाद, साम्यवादसम्म पुग्न सकिने ठाउँ छ,’ उनले भने, ‘त्यसैले बम बिस्फोटलाई पैसा असुल्ने, स्वार्थमा प्रयोग हुनेतिर गयो । हतियार गलत तरिकाले प्रयोग गर्दा भोलि तिनै कार्यकर्ताले नेतालाई नै सिध्याइदिने खतरा हुन्छ ।’

नाफा घाटाका लागि प्रयोग गरिने हतियार गलत तरिकाले प्रयोग हुने उनले बताए । अहिले कसका विरुद्ध हतियार चलाउने भन्ने स्पष्ट नभएको धारणा उनले व्यक्त गरे । ‘विप्लवजीको हतियार अराजकता र अपराधिकरणका लागि प्रयोग हुन थालेको छ । उहाँका गतिबिधि आपराधिक र अराजनीतिक भैरहेका छन्’ पुनले भने, ‘हिजो जनयुद्धमा आमसभामा कतै बम बिस्फोट भएको थिएन तर अहिले सभाबाट बम हान्न शुरु भएको छ । यो राजनीतिक काम भएन ।’

बम पड्काएर मान्छे मार्दा पनि सरकारले केही गर्न नसकेकोमा पुनले आक्रोश व्यक्त गरे । ‘राज्य पनि आपराधिक क्रियाकलापमा गम्भीर हुन सकेको छैन । राज्य पनि राज्य जस्तो हुन सकेन,’ उनले भने, ‘हरेक व्यक्ति निर्भयताका साथ चुनावमा सहभागी हुन पाउने अवस्था राज्यले सिर्जना गर्नुपर्छ । विस्फोट गराउने पक्षलाई वार्तामा ल्याएर समस्या समाधान गर्न सरकार तयार हुनुपर्छ ।’

प्रेस सेन्टर नेपाल दाङ शाखाका अध्यक्ष डिल्ली मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सेन्टरका सचिव पाण्डव शर्माले गरेका थिए भने स्वागत प्रेस चौतारी दाङका अध्यक्ष टीका बस्नेतले गरेका थिए ।

पत्रकार भेटघाटको पूर्ण सम्बोधन-

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *