अब जति बाँच्छु, दाङमै जीवन बिताउँछु– महरा

  
  प्रकाशित मितिः बिहिबार, मंसिर १४, २०७४       | 204 Views   ||

दाङ, मंसिर १४ । उप–प्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले एकपटक आफूले अध्ययन गरेको, आफूले एकपटक चुनाव जितिसकेको र फेरि चुनाव लडेको दाङ आफ्नो सबैभन्दा भरपर्दो कर्मथलो भएको बताउनुभएको छ । साथै उहाँले अब आफ्नो बाँकी जीवन दाङमै बिताउने बताउनुभएको छ ।

महरा एकता समाज र खत्री बन्धुले घोराहीमा गरेको छुट्टाछुट्टै कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले भन्नुभयो– अब मेरो दाङमै धोको छ ।

हरेक महिना पाँच दिन मतदातासँग

सयौं आफन्तमाझ भावुक हुँदै महराले आफूलाई चुनाव जितेर गएपछि नफर्कने हो कि भनेर धेरैले प्रश्न गरेको उल्लेख गर्दै भन्नुभयो– ‘एक जना बहिनीले त निकै मालाको भारी लिएर आउनुभएको रहेछ, अहिले यति माला किन लिएको भनेको त उहाँले अब चुनाव जितेपछि आउनुहुुन्न होला, अहिले नै लडाइदिन्छु पो भन्नुभयो, यसलाई मलाई थप भावुक बनायो ।’

२०६४ सालमा दाङबाटै चुनाव जिते पनि त्यसपछि निरन्तर संविधान निर्माण र शान्ति प्रक्रियामा लाग्नुपरेकाले आफू कम आएको उल्लेख गर्दै अब हरेक महिनाको पाँच दिन आफ्नै क्षेत्रका मतदातासँग बस्ने वाचा गर्नुभयो ।

चाहना डाक्टरीको, गन्तव्य राजनीतिको

दाङ क्षेत्र नम्बर २ बाट चुनाव लडेका महराले आफ्नो चाहना डाक्टरी पढ्ने भए पनि अन्तमा राजनीतिमा आएको बताउनुभयो ।
‘मेरो शुरुमा डाक्टर बन्ने चाहना थियो र साइन्स पढियो, त्यता सम्भव नभएपछि शिक्षकमा आइयो’– उहाँले भन्नुभयो– ‘त्यहाँबाट पनि पछि राजनीतिमा आइयो ।’ आफ्नो मात्र भन्दा पनि देशको चाहनाले आफू राजनीतिमा आएको उहाँले बताउनुभयो ।

दाङमा नेताको पनि नेता

नेता महराले आफूलाई दाङमा चुनाव लड्न गठबन्धनले मात्र नभर्इ स्थानीय कयौं कांग्रेसका नेता कार्यकर्ताले पनि माग गरेको खुलासा गर्नुभएको छ । ‘म गठबन्धनको उम्मेदवार हुँ नै, कांग्रेसका धेरै नेता कार्यकर्ताले पनि मलाई दाङबाटै चुनाव लड्न दबाब दिएका थिए, उनीहरु अहिले सम्पर्कमै छन् र आन्तरिक प्रचारमा पनि लागेका छन् ।’

अहिले दाङमा चुनाव लडेका नेतामध्ये आफूलाई सबैले नेताको पनि नेता मानेकाले आफूले पनि सोहीअनुसार दायित्व पूरा गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *