प्यूठानी जनताको आशा र भरोसा कृष्णध्वज खड्का

  
  प्रकाशित मितिः बिहिबार, मंसिर १४, २०७४       | 297 Views   ||

प्यूठानी जनताको लागि कृष्णध्वज खड्का कुनै नौलो नाम होइन । ३ दशकदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका खड्का प्यूठान जिल्लाबाट केन्द्रीय राजनीतिमा प्रतिनिधित्व गर्ने पात्र हुन् ।

समकालीन नेपाली राजनीतिमा इमान्दार छवि, निरन्तर पार्टी जीवन, निस्वार्थ जनसेवा गरेर पनि अवसर तथा लाभको पदमा बस्ने सौभाग्य प्राप्त नगरेका नेतामा पर्दछन् कृष्णध्वज खड्का ।

२०३६ सालपछिका सबै जनसंघर्षहरु एवं आन्दोलनहरुको साक्षी किनाराझै प्रत्यक्ष सहभागी भएर र त्याग बलिदानको हिस्सेदार बनेर नेपाली समाजलाई आजको अवस्थामा ल्याइपु¥याउन अहम भूमिका निर्वाह गरेका खड्का प्यूठानको मात्र हैन नेपालकै कम्युनिष्ट आन्दोलनको एक स्थापित नाम हो ।

बाल्यकाल :

कृष्णध्वज खड्का वि.सं. २०१९ भाद्र ६ गते बुबा टोपबहादुर खड्का र आमा कालिका खड्काको कोखमा साविकको विजुवार ४, हाल प्यूठान नगरपालिका ७ पुण्यखोलामा जन्मेका हुन् ।

कक्षा ५ सम्म घर नजिकैको क्षेत्र विकास प्राविमा प्राथमिक तहको अध्ययन गरेका खड्काले कक्षा ६ देखि १० सम्म जनता मावि बाग्दुलामा अध्ययन गरेका थिए । २०३६ सालमा एसएलसी उतीर्ण गरेका खड्कामा बाल्यावस्थादेखि नै नेतृत्वमा हुनुपर्ने गुणहरु रहेका थिए । सोही कारण उनी कक्षा १ देखि १० सम्म कक्षा मोनिटरको भूमिका निर्वाह गरेका थिए ।

२०२९ सालको विद्यार्थी आन्दोलनले स्ववियू स्थापना भएपछि ६ कक्षामा पढ्दा नै उनी स्ववियुमा निर्वाचित भएका थिए । पढाइमा पनि अव्वल रहेका खड्का विभिन्न अतिरिक्त क्रियाकलाप, राजनीतिक सामाजिक गतिविधीहरुमा पनि सक्रिय रहने गर्दथे ।

राजनीतिक पृष्ठभूमिः

२०३० सालमा कक्षा ६ मा अध्ययन गर्दा स्ववियूमा निर्वाचित भएपछि राजनैतिक चेत खोलेका कृष्णध्वज खड्का २०३५÷०३६ सालको विद्यार्थी आन्दोलनसँगै राजनीतिक आन्दोलनमा होमिएका थिए ।

२०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा प्रचार गर्दै अखिलमा आवद्ध भएका खड्का २०३७ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा अध्ययन गर्दादेखि अनेरास्ववियुको सक्रिय भूमिकामा संलग्न भएका थिए ।

खड्काले २०४१ सालमा जनता मावि बाग्दुलामा झण्डै १ बर्ष अध्यापनसमेत गरेका थिए ।

२०४२ सालमा आफ्ना सहपाठी मित्रमणि आचार्यको चितवनमा हत्या भएपछिको आन्दोलनमा प्यूठानमा भूमिगत रुपमा पर्चा छर्दा उनलाई प्रशासनले पहिलो पटक वारेन्ट जारी गरेको थियो ।

२०४४ सालमा त्रिभुवन विश्वविद्यालयमा भर्ना हुनुका साथै विद्यार्थीको केन्द्रीय राजनीतिमा उदाएका खड्का २०४४ सालमा भएको तत्कालीन अनेरास्ववियुको १० औँ राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

२०४५ मा भारतले नेपालमाथि गरेको नाकाबन्दीको विरोधमा आन्दोलन गर्दा प्रहरी हिरासत र दिल्लीबजार सदरखोरमा बसेका उनी २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी हुने क्रममा प्रहरीद्वारा गिरफ्तार भइ केही समय भद्रगोल जेलमा बसेका थिए ।

क्रान्तिकारी पक्षधरता र नेतृत्व विकास :

२०४६ सालको जनआन्दोलनपछि नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने बहसका बीच कृष्णध्वज खड्काले नयाँ जनवादी क्रान्तिको पक्षमा आफुलाई उभ्याएका थिए ।

विभिन्न क्रान्तिकारी पार्टीहरुको एकिकरणपछि वनेको नेकपा (एकता केन्द्र)को क्रान्तिकारी कार्यदिशालाई अगाडि बढाउने सन्दर्भमा २०४९ सालमा उनी सो पार्टीको राप्ती अञ्चल ब्यूरो सदस्य र प्यूठान जिल्ला इन्चार्ज भइ आफ्नो नेतृत्व कौशल प्रदर्शन गरेका थिए ।

तत्कालीन समयमा विभिन्न चुनौतीहरुको बीचबाट पार्टीलाई स्थापित गर्न नेतृत्व प्रदान गरेर प्यूठान र राप्ती क्षेत्रमा जनयुद्धको आधार तयार गर्न खड्काले महत्वपूर्ण भूमिका खेलेका थिए ।

२०५१ सालमा क्रान्तिकारी महिला नेतृ रेखा शर्मासँग वैवाहिक जीवनमा बाँधिएका खड्काको २ छोरी रहेका छन् । श्रीमान श्रीमती नै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा रहँदा पनि पार्टी र क्रान्तिको पक्षमा निरन्तर उभिने संकल्प पैदा भएको खड्काको बुझाइ छ।

केन्द्रीय भूमिका र जिम्मेवारी : 

पूर्णकालीन भइ जनयुद्धको तयारीका कामहरु गर्ने सिलसिलामा कृष्णध्वज खड्का पार्टीको केन्द्रीय भूमिकामा स्थापित भए । नेकपा (माओवादी)ले २०५२ फागुन १ गते देखि शूरु गरेको जनयुद्धमा सहभागी भइ २०५२ मै अखिल (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्न पुगे ।

जनयुद्ध शुरुवात भएपश्चात् काठमाण्डौंमा रहेर विभिन्न नौ वामघटक सम्मिलित राष्ट्रिय संयुक्त जनआन्दोलनको सचिव भर्इ पार्टीको बाहिरी मोर्चा सम्हाल्ने सन्दर्भमा उनले सूचना सञ्चार, राजनीतिक परिचालन, काँग्रेस, एमाले लगायतका राजनीतिक दलहरु, कुटनीतिक नियोग, सेना प्रहरी लगायतका राज्यका अगंहरुसँग पार्टीको तर्फबाट वार्ता, संवाद गर्ने जिम्मेवारी र भूमिका निर्वाह गरे ।

काठमाण्डौंमा बसी जनयुद्धरत पार्टीको खुला काम गर्ने क्रममा २०५४ सालमा प्रहरीद्वारा गिरफ्तार भइ डिल्लीबजार जेलमा बसेका थिए । खड्का डिल्लीबजार जेलमा हुने क्रममा अखिल (क्रान्तिकारी)को कीर्तिपुरमा सम्पन्न राष्ट्रिय सम्मेलनले पुनः अध्यक्ष पदमा निर्वाचित गरेको थियो ।

२०५२ देखि ०५८ सालसम्म पार्टीको खुला मोर्चा सम्हाल्ने क्रममा कृष्णध्वज १२ पटक हिरासत तथा जेल बसेका थिए । त्यस क्रममा पार्टीको खुला मोर्चाबाट गर्नुपर्ने सम्पूर्ण काम खड्कामार्फत् नै सम्पादन हुने गर्दथ्यो ।

२०५७ सालमा भएको नेकपा (माओवादी)को दोश्रो राष्ट्रिय सम्मेलनबाट खड्का पार्टीको केन्द्रिय सदस्य बनेका थिए । अध्यक्ष प्रचण्डको तर्फबाट कांग्रेस एमालेका शीर्ष नेताहरु, कूटनीतिक नियोगका उच्च अधिकारी र सरकारका प्रतिनिधिहरु साथै राजदरबारका प्रतिनिधिहरुसँग पनि उनले वार्ता, संवाद र बैठकहरु गर्ने गर्दथे ।

२०५८ मा भएको पहिलो चरणको वार्ताको सबै आन्तरिक तारतम्य मिलाउने, सम्पर्क सूत्रको भूमिका खेल्ने र वार्ताको व्यवस्थापन गर्ने भूमिका समेत उनले निभाएका थिए । यसै सिलसिलामा तत्कालीन युवराज धिरेन्द्र शाह र कृष्णध्वज खड्काबीच भेटघाट र संवाद भएको थियो ।

संकटकाल र गिरफ्तारीः

नेकपा (माओवादी) र श्री ५ को सरकारबीचको पहिलो चरणको वार्ता भंग भएपछि तत्कालीन प्रधामन्त्री शेरबहादुर देउवाले संकटकाल लगाए । राज्यबाट माओवादीका भातृ संगठन, शुभचिन्तक, समर्थक सबैलाई धरपकड गर्ने, गिरफ्तार गर्ने, यातना दिने, बेपत्ता पार्ने, हत्या गर्नेजस्ता कर्तुतहरु शुरु भयो ।

यसै क्रममा २०५८ चैत्र ३१ गते काठमाण्डौंबाट शाही सेनाले कृष्णध्वज खड्कालाई जीवनसाथी रेखा शर्मासहित पक्राउ ग¥यो । पक्राउ गरी १० दिनसम्म शाही सेनाको राजदल गणमा कृष्णध्वज खड्का र रेखा शर्मालाई निर्मम यातना दिइयो ।

त्यसपछि हेलीकप्टरबाट गोर्खाको बद्रबहादुर गणमा १ बर्षसम्म गुपचुप बेपत्ता राखियो । त्यहाँ राख्दा कृष्णध्वज र रेखाको शरीरमा ब्लेडले चिरेर नुनचुक छर्नेजस्ता निर्मम यातना दिइयो । शाही सेनाको निर्मम पिटाइ र यातनाबाट उनीहरुको हात, खुट्टा, कम्मर र करङहरु भाँचिएका छन् । अहिले कृष्णध्वज खड्का र रेखा शर्माको दुवै खुटटा र हातमा फलामको रड र तारले बाँधिएको छ । कठोर यातनाका कारण उनको शरिर छियाछिया छ । यातनाका कारण उनीहरु दिर्घरोगी बनेका छन् ।

लगातार १ बर्ष निकृष्ट यातनासहित बेपत्ता पारिएका कृष्णध्वज खड्का र रेखा शर्मालाई सरकार र माओवादीबीचको दोश्रो चरणको वार्ताको क्रममा २०५९ चैत्र ३१ गते रिहा गरिएको थियो । रिहाइपश्चात यातनाका कारण विकलाङ्क बनेको शरीरको उपचारको लागि २०५९ देखि ०६२ सम्म खड्का दम्पती भारतमा रहेका थिए । शान्ति प्रक्रियाको शुरुवातसँगै कृष्णध्वज खड्का र रेखा शर्मा पुनः पार्टी केन्द्रिय सदस्यको भूमिकामा फर्किए र काठमाण्डौमा रही केन्द्रिय जिम्मेवारी निर्वाह गरे ।

उम्मेद्वारी, प्रतिबद्धता र विकासमा पहलः

लामो समय जिल्ला बाहिर रही केन्द्रीय भूमिका निर्वाह गरेका कृष्णध्वज खड्का २०७० सालको संविधानसभाको निर्वाचनमा प्यूठान क्षेत्र नम्बर २ बाट उम्मेद्वार भए । चुनावमा खड्काले आफु निर्वाचित भए वा नभए पनि प्यूठानी जनताको निरन्तर सेवा गर्ने प्रतिबद्धताका साथ आएको वचन दिएका थिए ।

चुनावमा निर्वाचित नभए पनि जनताको सामु गरेको प्रतिबद्धता बमोजिम उनले प्यूठानी जनताको सेवामा आफुलाई निरन्तर समर्पित गराए । प्यूठानमा महत्वपूर्ण योजना निर्माण र बजेट विनियोजनका लागि निरन्तर खटिए । बाढीपहिरोले क्षतविक्षत भएका बस्तीहरुमा पुगी पीडित जनताको उद्धार र राहतमा क्रियाशील भए । पुर्ननिर्माणका लागि करोडौं रकम विनियोजन गर्न केन्द्रमा पहलकदमी लिए ।

उनको नेतृत्वमा पछिल्लो समय जिल्लाका सबै भुभागहरु समेटेर सडक, खानेपानी, , नदी नियन्त्रण, सिंचाईलगायत विभिन्न विकास आयोजनाहरुमा करोडौं बजेट विनियोजन भर्इ कार्यान्वयन भइरहेका छन् ।

यसरी आफ्नो प्रतिबद्धता अनुसार निरन्तर पार्टी, कार्यकर्ता र जनताको निम्ति कार्य गर्ने सीमित नेताहरुमा कृष्णध्वज खड्काले आफूलाई दर्ज गराएका छन् ।

विकासको स्पष्ट खाकाः

प्यूठान जिल्लाको समग्र विकासको स्पष्ट खाका कृष्णध्वज खड्काले गत निर्वाचनको समयमा प्रस्तुत गरेका थिए । कृषि, पर्यटन र उर्जा क्षेत्रको योजनाबद्ध विकास, सबैतिर ब्यवस्थित सडक सञ्जाल, चाल्नेटार एयरपोर्ट, नौमुरे हाइड्रो परियोजना, झिमरुक चक्रपथ, ढोरपाटन सन्धिखर्क लगायत छिमेकी जिल्लाहरुसम्म सडक पहुँच र प्यूठानी जनताको जीवनस्तर उठाउने खालका विभिन्न परियोजनाहरु सञ्चालन गरी समृद्ध प्यूठान निर्माण गर्ने स्पष्ट मार्गचित्र उनको घोषणापत्रमा उल्लेख थियो ।

‘यदि प्यूठानी जनताले जनप्रतिनिधिको रुपमा जिम्मेवारी प्रदान गरे ती सबै विकासका खाकाहरुलाई ब्यवहारमा परिणत गर्न मन, वचन र कर्मले समर्पित भइ समृद्ध प्यूठानको सपना साकार पार्ने प्रतिवद्धता ब्यक्त गर्दछु ’ कृष्णध्वज खड्काको भनाई छ ।

कम्युनिष्ट क्रान्तिप्रतिको निष्ठाः

सानै उमेरदेखि कम्युनिष्ट आन्दोलनमा लागेका कृष्णध्वज खड्काले कम्युनिष्ट क्रान्तिका निम्ति चुक्ता गर्नुपर्ने त्याग र बलिदानको कोटा पूरा गरेका छन् भन्दा फरक पर्दैन । आन्दोलनको विभिन्न भूमिका निर्वाह गर्ने सन्दर्भमा पटक–पटक हिरासत, जेल, यातना सबै उनले खपेका छन् ।

प्यूठान जिल्ला कम्युनिष्ट आन्दोलनका लागि उर्वर मानिन्छ । प्युठानको ८० प्रतिशत जनमत कम्युनिष्टको पक्षमा रहेको, २०१० सालदेखि निरन्तर रुपमा प्यूठानी जनताले कम्युनिष्टहरुलाई साथ दिएको र समृद्ध प्यूठान निर्माणको नेतृत्व कम्युनिष्ट क्रान्तिकारीहरुलाई सुम्पने कुरामा दुविधा नरहेको खड्काको भनाई छ ।

पछिल्लो पटक भएको बाम ध्रुवीकरण इतिहासको अपरिहार्य आवश्यकता भएको र यसले समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने विश्वास कृष्णध्वज खड्काले लिएका छन् ।

प्रस्तुति : शशिधर भण्डारी

– गौमुखी अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *