भुपेन्द्र वली
दाङ, कार्तिक १५ । सहजराम यादव, गढवा गाउँपालिकाका अध्यक्ष । जम्मा ८ वडा रहेको गढवा गाउँपालिकाको स्थानीय तह निर्वाचनमा एमालेले एक वडा मात्र जित्दा पनि उनी अध्यक्ष पदमा निर्वाचित भए ।
स्थानीय तहको निर्वाचनमा उक्त गाउँपालिकामा ४ वडामा नेकपा माओवादी केन्द्र, ३ वडामा नेपाली काँग्रेस र मात्र एक वडामा एमालेका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भएका छन् । निर्वाचन परिणाम अनुसार पार्टीको अवस्था अपेक्षित रुपमा बलियो नभए पनि यादवको जीतले सबैलाई आश्चर्यचकित बनाइदिनु स्वाभाविक पनि थियो । आफ्नो पार्टीले एउटा मात्र वडा जित्दा पनि आफु अध्यक्षमा निर्वाचित हुनुले पनि सहजै अनुमान गर्न सकिन्छ उनी त्यो क्षेत्रमा कति लोकप्रिय छन् ।
तर उनको यो लोकप्रियता सजिलै सम्भव भएको हैन । गाउँमा कसैको पेट दुखेको होस् वा सामान्य पारिवारिक झगडा, जग्गा विवाद नमिल्दा दुई भाइबीच उत्पन्न हुन विवाद होस् या फेरि बेला–बेला उत्पन्न भइरहने ग्रामीण झगडा ।
दाङको राप्ती नदी पारिका स्थानीयले सबैभन्दा पहिले सम्झने नाम हो सहजराम । सहजराम नाम जत्तिकै सहज छन् । स्थानीयका हरेक दुःख सुखका सारथिका रुपमा उनी उभिएका छन् । आफुले निर्वाचन जितेपछि केही समय सुस्ताउन पाएका सहजराम यतिबेला पुनः निर्वाचनको दौडमा होमिएका छन् । आउँदो मङ्सिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन दिन रात उनी मेहनत गरिरहेका छन् ।
‘मैले गाउँपालिका जितें । देउखुरीमा विकास र समृद्धि ल्याउने वाचा कसेको छु ।’ उनी भन्छन् ‘तर त्यो मेरो मात्र प्रयासले सम्भव छैन । प्रदेश र केन्द्रमा पनि बामपन्थी सरकार अत्यावश्यक छ ।’
यतिबेला उनी बाम गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर १ (१) का उम्मेदवार इन्द्रजित थारु सँगसँगै घरदैलोमा जुटेका छन् । गढवा गाउँपालिका अन्तर्गतका विभिन्न गाउँबस्तीमा आफै पुगेर बाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन उनी आग्रह गरिरहेका छन् । सहजरामको मेहनतले आफुलाई निक्कै उत्साहित बनाएको उम्मेदवार थारुले बताए ।
‘यो क्षेत्रका जनतालाई उहाँको नाम मात्र पनि काफी छ,’ उनले भने, ‘म सँगै दिनरात नभनी हिड्नुभएको छ । उहाँको साथले थप उत्साहित बनाएको छ ।’ आफ्नो दुःख सुखमा साथ दिदै आएका गाउँपालिका अध्यक्षले बाम गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेपछि स्थानीय पनि उत्साहित भएका छन् ।
गढवा गाउँपालिका २ का चुन्नुलाल थारुले भने, ‘बामपन्थी उम्मेदवारलाई भोट हाल्ने त निश्चित नै थियो । सहजराम दाइले भनेपछि झनै उत्साहित भएका छौं ।’
दाङ १ नम्बर क्षेत्रमा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा एमाले नेता मेटमणि चौधरी उम्मेदवार छन् । यस्तै प्रदेश सभातर्फ १ मा माओवादी नेता इन्द्रजित थारु र २ मा एमाले नेता रेवतीरमण शर्मा उम्मेदवार छन् ।