दाङ । मुलुक प्रतिनिधि सभा र प्रदेश सभाअन्तर्गत हुने दोस्रो चरणको निर्वाचनको संघारमा छ । दलहरुले जीतका लागि मत माग्न आफ्नो अन्तिम कसरत गरिरहेका छन् ।
यसैबीच दाङमा पनि निर्वाचनको माहोल गर्माएको छ । दल तथा उम्मेदवारहरु मतदाताको घर आँगनमै पुगेर भोट मागिरहेका छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको दाङ स्वाभाविक रुपमा सबैको चासो भएको जिल्लाका रुपमा रहेको छ । खासगरी ‘हेविवेट’ मानिने नेताहरुको उम्मेदवारी यहीँबाट भएका कारण पनि जीत कसको पोल्टामा पर्ने भन्ने सर्वत्र चासोको विषय छ ।
र यसै चासोका बीच दाङ क्षेत्र नम्बर १ पनि चर्चामा रहेको छ । त्यसको मुख्य कारण हो– नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको प्रभाव क्षेत्रका रुपमा यो निर्वाचन क्षेत्र रहेको छ । अर्कोतर्फ यो क्षेत्र चर्चामा रहनुको कारण खड्काको प्रभाव क्षेत्रका रुपमा लिइने यो क्षेत्रमा उनैलाई पराजित गरेका माओवादी नेता इन्द्रजित थारु पनि पुनः यही क्षेत्रबाट निर्वाचनमा लड्दैछन् ।
दाङ क्षेत्र नम्बर १ (१) को प्रदेश सभातर्फ थारुले उम्मेदवारी दिएका छन् । उनका प्रतिस्पर्धीका रुपमा काँग्रेस उम्मेदवार प्रदीप थापा छन् ।
इन्द्रजितको जीतका आधार
निर्वाचनसँग सम्बद्ध तथ्यहरुलाई केलाइयो भने थारुले आफ्नो जीतलाई दोह¥याउने सम्भावना बलियो हुँदै गएको छ । यसको प्रमुख कारण हो बाम गठबन्धन । स्थानीय तह निर्वाचनको परिणामलाई केलाइयो भने उम्मेदवार थारु प्रतिस्पर्धी उम्मेदवार थापाभन्दा झण्डै दोब्बर मतले अगाडि छन् ।
स्थानीय तहको निर्वाचनअनुसार सो क्षेत्रमा थारुका पक्षमा १६ हजार ४ सय ४२ मत रहेको छ भने प्रदिप थापाको पक्षमा ८ हजार ७ सय ६४ मत रहेको छ । यहाँ काँग्रेस र गठबन्धनबीच ७ हजार ६ सय ७८ मतको अन्तर रहेको छ । यसरी स्थानीय तह निर्वाचनको अंकगणित अनुसार थारु थापाभन्दा निक्कै अगाडि देखिन्छन् ।
यस्तै सो क्षेत्र मानव बसोबासको दृष्टिकोणले बहुमत जनसंख्या थारु समुदायको छ । यसर्थ पनि सामुदायिक ‘सेन्टिमेन्ट’का आधारमा पनि इन्द्रजितलाई बढीभन्दा बढी मत आउने सम्भावना देखिन्छ । यद्यपि यो सामुदायिक सेन्टिमेन्ट मात्र नभएर जिल्लामा किसान तथा थारु आन्दोलनका पक्षमा उनले विगतमा गरेको संघर्षस्वरुप मतदाताले ‘आफ्ना’ नेतालाई मत खसाउने सम्भावना देखिन्छ ।
यस्तै उम्मेदवार थारु १६, १७ वर्षको उमेरदेखि नै राजनीतिक संघर्षमा होमिएका व्यक्ति हुन् । थापा भने शिक्षक जीवनबाट रिटायर्ड भएर बुढ्यौली उमेरमा प्रत्यक्ष राजनीतिमा होमिएका छन् । राजनीतिक उतारचढावबाट थापाभन्दा इन्द्रजित नै परिचित र परिपक्व भएका कारण पनि मतदाताले उनलाई रुचाउने सम्भावना देखिन्छ ।
मतदाताले मुख्यगरी आफ्नो नेता रोज्ने कामका लागि हो । काम गर्नका लागि नेतासँग भिजन र अनुभव दुबै अत्यावश्यक हुन्छ । यस हिसाबले हेर्दा पनि थापाभन्दा उम्मेदवार थारुको पल्ला नै भारी देखिन्छ ।
जनयुद्धकालभरि थारु माओबादीको नेतृत्वदायी भूमिका थिए । यस्तै शान्ति प्रक्रियापछि पनि उनी अन्तरिम व्यवस्थापिका संसदको विधायक भए भने २०६४ सालको निर्वाचनमा संविधानसभा सदस्य जिते ।
सभासद छँदा हाल निर्वाचन हुन थालेको मुलुकको सांगठनिक संरचना निर्माण गर्ने समितिका रुपमा रहेको राज्य पुर्नसंरचना समितिमा रहेर काम गरेको हुनाले पनि प्रदेश सभामा उनले काम गर्न सक्छन् भन्ने आधारमा मतदाता उनीप्रति स्वाभाविक रुपमा आकर्षित हुनेछन् ।
र अन्तिममा मतदाताले हेर्ने भनेको भविष्य नै हो । राजनीतिमा कसले कति संघर्ष, त्याग ग¥यो भन्ने आधारमा मतदाता भविष्यमा कसले कति संघर्ष र त्याग गर्न सक्छ भन्ने आँकलन गर्न सक्छन् । राजनीतिमा लामो समय बिताएका कारण थापाभन्दा इन्द्रजितले नै भावी दिनमा राजनीतिमा लामो समय बिताउने र काम गर्ने विश्वास मतदाताहरुमा हुनु स्वाभाविक देखिन्छ ।
यस्तै थारुले मुलुकका ठूलो–ठूलो जिम्मेवारी सम्हाल्दा पनि पदको दुरुपयोग नगरेको चर्चा जताकतै सुनिन्छ । उनले जति गर्न सके इमानका साथ गरे भन्ने कुरा पार्टीभित्र र बाहिर पनि सुनिन्छ ।
यिनै तथ्यहरुको आधारमा पनि दाङ क्षेत्र नम्बर १ (१) मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका इन्द्रजित थारुको जित घोषणा गर्न मात्र बाँकी रहेको अनुमान हामी सजिलै लगाउन सक्छौं ।