थरुनी

  
  प्रकाशित मितिः मङ्लबार, मंसिर १९, २०७४       | 368 Views   ||

कथाकार : दिल महरा

‘पैंतीस मिनेट । गाडीको बाटो । अनि आउनेछ ठूलो सिमल । सिमलको बोटमा उभिएर हेर्नुपर्छ । दक्षिणतिर । देखिनेछ ठूलो खलियान । खलियानमा बाँधिएका हुनेछन्, चार–पाँचवटा एकनासका राँगाहरु । त्यही पुग्नुपर्छ सरासर । त्यसपछि चारवटा बाटा देखिनेछन् ।

सबभन्दा ठूलो बाटो नहिड्नू । सबभन्दा सानो झन् हिड्दै नहिड्नू । बाँकी दुइटा एकनास छन् । तीमध्ये एउटा शर्मा गाउँ पुग्छ । अर्को थारु गाउँ । फेरि शर्मा गाउँ जाने बाटो जाने हो भने घुमाउरो छ । पन्ध्र मिनेट बढी । थारु गाउँ जाने बाटो । पन्ध्र मिनेट छिटो । जताबाट पनि पुगिन्छ मेरो घर ।

थारु गाउँबाट जाने बाटो हिलै हिलो छ । खाल्डाखुल्डी छ । सुँगुर, भैंसी, गाई, भेडा । हिडेको हिड्यै हुन्छन् । शर्मा गाउँ जाने बाटो सम्मो छ । सफा छ । र सुँगुर, भेडा, गाई, भैँसी । केही पनि हिड्न पाउँदैनन् त्यो बाटो । कहिलेकसो हिडिहाले भने । जसका हुन् त्यही मान्छेले एक दिन गरी दिनुपर्छ काम । जुन शर्माले बोलाउँछन् आफ्नो घर । त्यसैले पनि कोही हिड्दैन आजभोलि त्यो बाटो ।

तपाईं चाहिं । जुन बाटो आए पनि हुन्छ । सोध्दै सोध्दै आउनुहोला । थरुनी चौधरीको घर कहाँ छ ? जसले पनि सिकाउँछ ।’
०००

(यहाँ पछिल्लो हप्ताको कुरा हुँदैछ । जस्तो नक्सा थियो मसँग, त्यही नक्साको पिछामा हिडिरहेछु म । थारु गाउँ । थरुनी चौधरीको घर पुग्ने बाटोको नक्सा । थरुनी चौधरीले दिएकी हो । गएको हप्ता । एउटा चोकको पश्चिमपट्टि । टूाफिक बिटभन्दा उत्तर पश्चिम । आधुनिक कालोपत्रे एउटा सहरको चोक । बिजुलीको पोल मुनि । मानौं, त्यही पोल हो थरुनी । जुन पोलले सकिनसकी बोकेको छ । बिजुलीका तार, टेलिफोनका तार, अरु–अरु तार र डिजिटल ब्यानरहरु । त्यही एउटा ब्यानरमा लेखेको छ । रातो अक्षर ।
–‘तुलसीपुर चोक ।’)

राँगाहरु बाँधिएको खलियान । छेउमा उभिएर हेरिरहेछु चार वटा बाटाहरु । ठूलो साह्रै ठूलो छ । सानो साह्रै सानो छ । दुइटा बराबर । हिड्नुपर्ने दुइटामध्ये एउटा । थरुनीले भनेजस्तो । एउटा अति सफा, समथर । अर्को खाल्डाखुल्डी । सँुगुर, भेडा, गाई, भैंसी हिडिरहने । म अझैं उभिरहेछु । खाल्डाखुल्डी बाटोमा ओहोरदोहोर थे मान्छे । सफा, समथर बाटोमा एक दुई कुकुरभन्दा केही देखिनँ मैले बढी ।

अनि, म पनि खाल्डाखुल्डीकै बाटो हिडें ।

केही पर निलो कालो ड्रेसको स्कूल जाने बच्चा । बच्चाले थरुनीको घर यसरी सिकायो ।

‘पाँच मिनेट अगाडि जानू सिधै । तीनवटा लस्करी आउँछन् घर । सबभन्दा पूर्वतिरको घरमा सेतो रङ छ । बीचकोमा रातो । जुन घरमा रङ छैन । त्यही घर हो । फेरि अल्मलिनुहोला । रातो रङको घरभित्र जाने बाटो । त्यही घरको भित्रबाट साँघुरो बाटो छ ।’

रातो रङको घरमा पुगें म । खलियानमा कालो सँुगुर । आफ्ना नौवटा बच्चाहरुलाई चुसाइरहेछे दूध । एउटा सेतो रङ, अर्को कालो रङको हाँस । खेलिरहेछन् आँगन वरिपरि । अलि पर बारमा भँगेरा, दुइटा परेवा ।

कालो सुँगुर कराउन थाल्यो । उसका बच्चाहरु दौडिन थाले । रातो रङको घरभित्र कोही बोल्यो । आठ–नौ बर्षजतिको बच्चा देखियो । भरिपूर्ण बालापनको जन्तीको लस्करसँग ।

‘घरभित्रै जाने रे ।’ केटाले एकै सासमा भन्यो ।

म भित्र छिरें । थरुनी चौधरी ‘हेल्का’ बनाउँदै थिइन् । म उसको घरको ढोका पुग्दा ।

(म सब यी कुरा त्यसै दिनको भनिरहेछु । थरुनी नामकी एक युवतीसँग मेरो भेट हुनेछ । थारु परिवारमै जन्मिएकी उसको ‘नामै’ थरुनी कसरी भयो ? म यसैको खोजीमा छु । थरुनी भनिरहेकी हुनेछिन् आफ्नो नामको इतिहास ।)

थरुनीले भनेको नामको कुरा

थारु गाउँबाट चार घण्टा लाग्छ । दाउरा, घाँसपात जे चाहिन्छ । सबै–सबै पाइने वन । त्यही वनमा माघीको लागि पात टिप्न जानुभएछ आमा ।

एक दिन । पात टिप्दाटिप्दै बिरामी हुनुभएछ आमा । फोरिया, चेती, अग्न्या उहाँका साथीहरुले ल्याएछन् घरसम्म बिरामी आमालाई । अनि जन्मिएछु म । त्यसदिन घरमा बा, दिदी, दाजु खुब खुसी भएछन् ।

म जन्मिएको दिन । मङ्लबार भएकाले न्वारानको दिन राखिएछ मेरो नाम । मंगली । अनि बाआमा, दिदी, दाजु– मलाई चिन्ने जतिले मंगली भन्न थालेछन् ।

र, क्रमशः अरुले मेरो नाम मंगली जानेछन् ।

बाले भनेको, हाम्रो घरको कालो सुँगुर पाँच पटक ब्याउने पालो’थ्यो रे । सुँगुर्नीसँग सुँगुर भेट भा’को बीस दिनपछि । कान्छा शर्माको जेठो छोराले मारिदिएछन् ढुङ्गाले हानेर । त्यही सुँगुर्नी मरेको ठीक बीस दिनपछि दाउरो लिन गएकी आमा बगिछिन् बबईमा । अहँ, भेटिएन रे आमाको सुन्दर अनुहार । मलाई त्यति थाहा छैन त्यो दिन । दाजु दिदी खुब रोए रे । बा मुर्छाको मुर्छा रे दुई दिन ।

हाम्रो घरमा आमा नभएपछि । उदास भएछ । चुलोको आगो कम बल्ने भएछ । दिदीलाई कामको भारी थपिएछ । अझ बढी–बढी फुट्न थालेछन् दिदीका हातखुट्टा चरचरी । चियाको रङजस्तै बाको छाला । झनै कालो हुँदै गएछ बढी–बढी । दाजुको कुम । भारी बोकेर भएछ जोत्ने गोरुको काँधजस्तै दुबै ।

दिदीले भनेको सुनेको हुँ मैले । सबभन्दा उदास त थियो रे– बा र आमा सुत्ने खटिया ।

मलाई थाहा भो पहिलोपटक । हाम्रो घर छेउको रिठ्ठा फुल्यो । सुरुमा हरियो रङको फल फल्यो । पछि रातो भयो । त्यसैको फिजमा मैले कपडा धुन जान्ने भएँ ।

अर्को साल पनि त्यस्तै गरी फुल्यो, फल्यो र पाक्यो रिठ्ठा । यस साल अलि ठूली भएछु म । रिठ्ठा टिपेर घरभित्र राख्ने भएँ ।

त्यसपछि त पानी बोक्ने । भाँडा माझ्ने । डाबरभरि गोबर खोजेर गुइँठा बनाउने, सुकाउने, उठाउने । दिदी, दाजु र बा दिनभरि काममा । कहिलेकाहीं त दिदी थाकेको बेला भात पनि पकाउने भएँ । मैले भात पकाएको साँझ बाले काँचो प्याजसँग खाँदै भन्नुहुन्थ्यो– ‘मङ्गलीले पका’को भात मिठो छ । काँचो प्याजभन्दा ।’

दिउँसो कहिले हुन्थेन हाम्रो घरमा । चामल, दाल, नुन, प्याज । तर साँझ कहाँबाट आउँथ्यो कुन्नि ? कहिलै भोकै सुतिनँ म ।

एक दिन हाम्रो घरमा फुर्के घोडा आयो । दिदी पात टिप्न गएकी थिइन् । बाले डो¥याउँदै ल्याउनु भो झ्यापुल–झ्यापुल फुर्के घोडा । कस्तो राम्रो । बाले किला ठोक्नु भो । खलियानमा बाँध्नु भो फुर्के घोडा ।

साँझ–साँझपख । घोडा चढाएर बाले गाउँभरि घुमाउनु भो मलाई । त्यसदिन दिदी पनि खुब खुसी थिइन् । तर, दिदी ठूली भा’छी भनेर बाले चढाउनु भएन घोडा ।

हाम्रो घरमा फुर्के घोडा आएको पाँच दिन पछि दाजुको विवाह भयो । त्यसै दिन देखेकी हुँ मैले धेरै चामल, दाल । पहिलोपल्ट हाम्रो घरमा चार बोरा चामल । एक बोरा दाल । अरु के–के थिए ? मैले हेरिनँ । गाउँबाटै दाजुको विवाह भयो । धेरै भात त्यसै दिन पाक्यो हाम्रो घरमा । गाउँका मान्छेले थपी–थपी खाइरहे दालभात । मैले पनि खाएँ । फुर्के घोडाले पनि खायो दालभात । साँझ भाउजु, दिदी र मैले सबै थालबटुका, कराइ, डेक्ची माझ्यौं ।

बाले साँझ नै सबै भाँडाकुँडा कान्छा शर्माको घर पु¥याउन भन्नु भो । भाउजु, दिदी, मैले लगिदियौं भाँडा ।

भोलिबाट दाजुले घोडा लाद्ने भयो । बा, भाउजु, दिदी काममा जानुहुन्थ्यो । घरको सबै काम मेरो । फुर्के घोडालाई घाँस पनि खोज्नुपथ्र्याे ।

छ बर्ष पुग्दै थिएँ म ।

एक साँझ । बासँग कान्छा शर्मा आए हाम्रो घर । भाउजुले भर्खर बुनेको गुदको चटाइ बिछ्याइदिनु भो । कान्छा शर्मालाई ।

दिदी, दाजुसँगै थिए म पनि छेऊमा । बा र कान्छा शर्माले केही समय के–के कुरा गर्नु भो ? घर जानुपूर्वको कुरो हो । बाको हातमा पैसा दिएर उठे कान्छा शर्मा । पैसा कति थियो कुन्नी ? कान्छा शर्मा सिधा–सिधा घरतिर हिडे । बाले केही भन्नु भएन हामीलाई त्यस दिन ।

भोलिपल्ट राम्ररी उज्यालो भा’कै थिएन । बाले उठाउनु भो मलाई । म दिदीसँग सुतेकी थिएँ । उठेर बा र म चार घण्टा जत्तिकै हिड्यौं । घोराही आयो । मैले कहिलै नदेखेको ठाउँ । छानो नभएका घर । अनि बाले एउटा छानो नभा’को घरको कोठामा छोडेर फर्कनु भो घर । त्यो घर मैले देखेजस्तो थिएन माटोको ।

(यहाँनिर हामी थोरै गफ गर्नेछौं । संसारमा सबभन्दा ठूलो कुरो के हो ? सायद यसको जवाफ अत्यन्त कठीन र उदास लाग्छ मलाई । तर, एउटा कुरा के चाहिं सत्य हो भने प्रेमको बदनाम गरेर म भोकभोकै हिड्न सक्दैन । बरु, त्यो भन्दा सजिलो नाङ्गै हिड्न लाग्छ मलाई । यदि यसो होइन भने अथवा तर्कसंगत लाग्दैन भने हरेक देशको बसपार्क वरिपरि बस्ने बासिन्दाका बच्चाहरुलाई हेर्नुस् वा इट्टाभट्टामा छ महिना काम गरेर वर्षदिन बाँच्नेहरुलाई हेर्नुस् । अझ विश्वास लाग्दैन भने वा गरिबहरु कस्ता हुन्छन् भन्ने चिन्नुहुँदैन भने स्वयम् आफैले अपनाएको धन्दा वा जागीर छोडेर हेर्नुस् ।)

म रुन हुँदो रहेनछ । बा फर्केपछि कोठामा एक दुई घण्टा एक्लै थिएँ म । साह्रो न साह्रो ठूलो घरमा थोरै समयपछि ट्वाक–ट्वाक बज्यो चप्पलको आवाज । चुरा पनि बज्यो । एकपटक घाँटी सफा गरेर फेरि घाँटी सफा गरेको आवाज आयो । म मेरो खाल्डो परेको आँखाभरिको आँसु पुछ्न थालें । खैं किन हो मुटु काँप्यो । म खुब डराएँ । कोही बोल्छ कि भनेर पर्खिरहें । कुहिएको सिन्कीभन्दा नमीठो स्वादको ठूलो आवाज आयो एकछिन पछि ।

‘थरुनी, काँ मरेकी छस् ? भान्सा कोठामा भाँडा माझेर राख् ।’

(मानवीय संवेदना एकाएक अपहरण गरेर बाँच्ने यो दुनियाँका बेकुफ मान्छेहरु । आफूलाई महामानव घोषणा गरियोस् भनेर भाषण दिदा मेरो शरीरको रगत किन यसरी तातिन्छ हँ ?)

त्यसपछि मंगली नाम हरायो साह्रो न साह्रो घरका सबै मान्छेले थरुनी नाम राख्देपछि । पछि–पछि घरमा भेटिने साथीहरु सबैले थरुनी भन्न थाले । बिहा भएपछि थरुनीकै नाममा नागरिकता पनि बनाइसकें ।

०००
थरुनीको कुरा सकिएको समय हो यो

सुँगुरका पाठाहरु वरिपरि आइपुगेका छन् । परेवा, भँगेरा ढोकामा खेलिरहेका छन् । थरुनी निकै उदास देखिन्थी । मलाई बोल्न पनि मन थिएन । हाँस्न पनि थिएन मन । तर, पनि भित्री मनमा एउटा खस्रो इच्छा जाग्यो, थरुनीले साह्रो न साह्रो घरमा भोगेको जीवनकथा, फुर्के घोडा । उसका बा, दिदी, दाजु र भाउजु कता छन् होला ? जान्ने इच्छा राखेँ । तर, निकै नरम भएर उठी थरुनी ‘हेल्का’ समाएर । उठिसकेपछि भनी–

‘घर चिन्नु भइहाल्यो फेरि आउनुहोला । साँझ खानुपर्छ– म त गंगटा, माछा मार्न जान्छु । साँझ खानालाई केही छैन तरकारी घरमा ।’

केही माथिसम्म सँगसँगै आई थरुनी मसँग । त्यतिबेला मेरो दिमागमा ताजा कुरा के खेलिरहेको छ भने थरुनीको निकै उदास जीवनकथा कसले देख्यो होला ? त्यो मान्छे कस्तो थियो होला ?

‘साँढेजस्तो ?’

‘गंगटाजस्तो ?’

‘सिंहजस्तो ?’

‘वा समयअनुसार मान्छे बन्न जानेको रंगीन मान्छेजस्तो ?’

त्यसपछि थरुनी कुलोतिर लागी ‘हेल्का’ हल्लाउँदै ।

मैले विचार गरिरहेको छु । फेरि थरुनीले आफ्ना सबै कथा भन्ले वा नभन्ले ? म खाल्डाखुल्डीको बाटोमा गाई, भैंसी, भेडा, सुँगुर छलेर हिडिरहेछु । थारु गाउँको बाटो । थरुनीको बाटो । साँच्ची, थरुनी र जनावरबीचको सम्बन्ध के छ हँ ? रेडिमेड उत्तर कसले देला मलाई ? पर्खिरहेछु म ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *