भूपिको अनुरोधमा नारायणगोपाल टेलिफोनमै घण्टौं गीत सुनाउँथे

  
  प्रकाशित मितिः बुधबार, मंसिर २०, २०७४       | 326 Views   ||

पत्नी पेमला लामाका साथ नारायण गोपाल

नारायणगोपाल– नेपाली सङ्गीत आकाशमा यो भन्दा ठूलो ‘फैलावट’को नाम छैन, आजसम्म । वर्णन पनि असीमित छ । भन्ने र सुन्नेले सबैभन्दा बढी नारायणगोपालकै बारेमा भनेका र सुनेका होलान्, नेपाली सङ्गीत मामिलामा ।

आफ्नो जीवनमा मैले कहिल्यै नारायणगोपाल भेटिनँ । काठमाडौंबाहिर जन्मेका मजस्ता मान्छेका लागि नारायणगोपाल रेडियोभित्र अटाउने ‘साना मान्छे’ थिए । ती कसरी रेडियोभित्र छिरे र कसरी गाइरहेका छन् ? उतिबेला जिज्ञासाका विषय थिए । जिज्ञासा मात्र होइन, म र मजस्ता मान्छेका लागि ती ‘देवतासरि’ रहे ।

लेखक : सञ्जय घिमिरे

०४७ सालताका काठामाडौं छिर्दासम्म पनि नारायणगोपाल र रेडियोबाट बज्ने नाम ‘देवता’सरह नै थिए । म ०४७ ताका काठमाडौं छिर्दा एकजना दाइ हुनुहुन्थ्यो, सुदेश शर्मा, नारायणगोपाल भनेपछि हुरुक्क हुने । हुरुक्क पनि कतिसम्म भने त्यो हुरुक्कमा अंग्रेजीमा एक खालको ‘क्रेजिनेस’ थियो । पागलपन नै भनौं । अरुहरू पनि हुँदा हुन् कति यस्तै ।

हामी अक्सर नारायणगोपालले गाएका दुई वटा गीतमा घन्टौं बहस गथ्र्यौं । एउटा गीत– ‘यो कस्तो व्यथा हो ? लिएर एक्लै हिंडिरहेछु ।’ र, अर्को– ‘यति धेरै माया दिई मनभरि दुःख नदेऊ ।’

‘यो कस्तो व्यथा हो ? लिएर एक्लै हिंडिरहेछु’ भन्ने बोलको गीतका यति असीमित व्याख्या र तर्कहरू गरिन्थ्यो कि, ती कहिल्यै निष्कर्षमा पुग्दैनथे । कसका व्यथा ? पार नलागेका सम्बन्धका प्रेमी र प्रेमिकाका कि ? जागिर नपाएका बेरोजगारका ? यो गीत, यस्तो छ कि, अमूर्त कलाजस्तो, आकाशको बादलजस्तो । जस्तो कल्पना र व्याख्या गरे पनि हुने ।

अर्को गीत छ– ‘यति धेरै माया दिई, मनभरि दुःख नदेऊ ।’

मायामा, दुःख ?

सबैभन्दा बढी मेरो जीवनमा बिथोलेको गीत हो यो । मायामा पनि दुःख ? लेख्नेले कुन अर्थले लेखे मलाई थाहा छैन, तर यो पङ्क्तिको दार्शनिक महत्व कति छ कति । यसको अर्थ खोज्न काठमाडौंका सडकमा म धेरै भौतारिएको छु । कोसँग सोधिनँ ? र कहाँ पुगिनँ ? भनिसाध्यै छैन । जब मृगस्थलीमा बसेर पशुपति आर्यघाटमा जलिरहेका लास हेरें, तब बल्ल मलाई ज्ञान भयो, यति धेरै माया दिई मनभरि दुःख नदेऊको अर्थ । जलिरहेको लासको अगाडि त्यही बढी भक्कानिएर रोइरहेको देखें, जो मर्नेको सबैभन्दा बढी नजिक थियो, जो मर्नेको सबैभन्दा बढी मायामा थियो ।

हो, यहींनेर मायाले दुःख दिँदोरहेछ । क्याबात्, नारायणगोपाल । माफ गर्नुहोला, रचनाकार अहिले मैले सम्झन सकिनँ । त्यस्ता नारायणगोपाल, जसलाई मैले मेरो जीवनमा भेटिनँ र पनि जसले मलाई र म जस्तालाई बिथोलिरहे ।

कविहरु माधवप्रसाद घिमिरे, सिद्धिचरण श्रेष्ठलगायतसँग गायककार नारायण गोपाल

संयोगवश उनी बितेको एकाध वर्षपछि म पत्रकारितामा छिरें । पत्रकारिताकै क्रममा केही वर्षपछि श्रीमती पेमला गुरुवाचार्यलाई भेट्ने संयोग जु¥यो । साल ठयाक्कै याद भएन । ०५३ सालताका हुनुपर्छ । त्यतिबेला म कार्यरत हिमालय टाइम्स दैनिकको व्यक्ति–अनुभूति स्तभ्भका लागि पेमलासँग मेरो लामो कुराकानी भयो । कुराकानीका क्रममा नारायणगोपालको भनाइ उद्धृत गर्दै पेमला भनिरहेकी थिइन्, ‘तिमी मलाई जहिल्यै पनि यो छोड्नुस्, त्यो छोड्नुस् भनिरहन्छ्यौ, कुनै दिन मलाई नै छोड्नुस् भनौली नि ।’

पेमलाले चुरोट–रक्सी छाड्न भनिरहँदा नारायणगोपाल यसै भन्थे । भयो पनि त्यस्तै, दुई वटैले छोड्न नचाहेको तर कसैको चाहनाअनुसार नचल्ने ‘मृत्यु’ बीचमा आयो र ‘म मुर्दा भएको, तिमी आज हेर’ भन्ने नारायणगोपाल पेमलालाई छाडेर गए ।

राजा विरेन्द्रबाट जगदम्बा श्री पुरस्कार ग्रहण गर्दै नारायण गोपाल (२०४७)

एक समय थियो, जतिबेला २०–२१ वर्षकी पेमला दार्जीलिङमा कलेज पढ्दै थिइन् । यता ‘आँखाको भाखा आँखैले’ जस्ता गीतले नारायण गोपाललाई चम्काइरहेका थिए । गीतहरूले नौडाँडा पारि दार्जीलिङकी पेमलालाई पनि छोयो, धेरै नै छोयो । र, पत्रको आदानप्रदान सुरु भयो ।

पेमलाका शब्दमा ‘कलेज पढ्दा एउटा लहड हुन्छ । हामी पत्रमित्र खुब बनाउँथ्यौं । यस्तैमा मैले उहाँको ठेगाना काठमाडौं आउने एक मान्छेबाट पाएँ । म तपाईंका गीतबाट एकदम प्रभावित छु भनेर पत्र लेखेर पठाएँ । उहाँको आावाजमा जुन प्रकारको माधुर्य थियो, त्यसले मलाई प्रभाव पारिरहेको थियो । ‘ए कान्छा ठट्टैमा’ भन्ने गीतमा ‘फूलैफूलको डोली’ भन्ने उच्चारण गर्दा म सहनै नसक्ने गरी प्रभावित हुन्थें । र, म ठान्थें– यति राम्रो स्वर भएको मान्छेले सिरियस खालका गीत गाएको भए कत्ति राम्रो हुन्थ्यो । चिठीमा यस्तै कुराहरू लेख्थें । यसरी नै पत्रमित्रता चलिरहेको थियो । यो बीचमा म सुकियापोखरी पढाउन थालिसकेकी थिएँ । एकदिन उहाँहरू, (गोपाल योञ्जन, नगेन्द्र थापा, कर्म योन्जन र नारायणगोपाल) दार्जीलिङ आउनुभयो । उहाँहरू आउँदै हुनुहुन्छ भन्ने मलाई थाहा थिएन । म स्कूल जाँदै थिएँ । बाटोमा गोपाल योञ्जन र नगेन्द्र थापा भेटिनुभयो । र, गोपाल योञ्जनले ‘नेपालबाट तपाईंको साथी आउनुभएको छ’ भन्नुभो । मैले नगेन्द्र थापालाई नै नारायणगोपाल भन्ठानें र नमस्ते गरें । नगेन्द्र दाइले तत्कालै यो कुरा बुझेर नारायण दाइ र कर्म योञ्जन तल बसेका छन् भन्नुभयो । उहाँलाई पहिलोचोटि भेट्दा अप्ठ्यारो पनि लाग्यो, लाज पनि लाग्यो । के गर्ने, के गर्नेजस्तो भइरह्यो एकछिन । घरमा जाऊँ भनेर घरमा लिएर गएँ तर उहाँले कहीं डुल्न जाऊँ भन्नु भो । कहाँ लाने कहाँ ? अन्ततः सीमानाको एक डाँडामा जाने कुरा भयो । त्यहाँ गयौं र उहाँले ‘यो मौसम यो हरियाली रंगीबिरंगी फूलहरू’ भन्ने गीत सुनाउनुभयो । यसबाट म झनै प्रभावित भएँ ।’

त्यो प्रभाव र चिठी आदानप्रदानले करीब पाँच वर्षसम्मको समय लिएपछि यो जोडीको विवाह भयो । विवाहमा दुबै परिवारका तर्फबाट विरोध आएपछि लगत्तै दुवै पोखरा पुगेर भूपि शेरचनको घरमा छ महिना बिताए । नारायणगोपालले एक महिनाजति पोखराको अमरसिंह स्कूलमा पढाए पनि । पेमलाका अनुसार तास खेल्ने, जमघट गर्ने, नाच्ने गाउने गरेर नारायणगोपाल, भूपि शेरचन, छत्र गुरुङ, कल्याण शेरचनका दिनहरू बिते । छ महिनापछि काठमाडौं फर्केपछि उही गाउने श्रृंखला सुरु भयो । पेमलाका शब्दमा ‘उहाँ (नारायणगोपाल) नगाई बस्नै नसक्ने ।’

भारतीय गायिका आशा भोस्ले (बीचमा), संगीतकार रञ्जित गजमेर र नारायण गोपाल

गीत छान्ने मामिलामा बहुतै सोच्ने नारायणगोपाल । पेमला र नारायणगोपालबीच गीत छान्ने मामिलामा यो राम्रो, यो नराम्रो भन्ने हुन्थ्यो र अरुहरूसँग पनि । तर अन्तिम निर्णय भने नारायणगोपालकै हुन्थ्यो । कुनै गीतलाई लिएर नारायण दाइले ‘पेमला यो गीतमा मैले तिमीलाई राखेको छु, अटाएको छु भन्नुहुन्थेन ?’ मैलै पेमलालाइ सोधेको थिएँ । पेमलाको जवाफ थियो, ‘हो, भन्नुहुन्थ्यो। पहिलोचोटि भेट भएर छुट्टिसकेपछि, जतिबेला पत्राचार भइरहेको थियो तर विवाह भएको थिएन, त्यतिबेलाकै एउटा चिठीमा ‘चिनारी हाम्रो धेरै पुरानो भएझैं लाग्दछ’ गीतमा उहाँले मलाई गीतमा ‘तिमी छौ’ भनेर लेख्नुभएको थियो ।’

कम बोल्ने, अरुलाई हँसाउने प्रवृत्तिका नारायणगोपाल नजिकका मान्छेसँग अति ठट्टा गर्थे रे । ‘मलाई त के हो के हो, सधैं उल्लु बनाउने,’ पेमलाले सुनाएकी थिइन् । ‘म भान्सामा खाना पकाउँदै थिएँ । रेडियोमा समाचार आइरहेको थियो । मलाई त्यो आवाज कताकता नीर शाहको जस्तो लाग्यो । अनि मैले ‘नीर शाहले समाचार पढेका ?’ भनेर सोधें । उहाँले ‘हो, राम्रो पढ्दोरहेछ’ भन्नुभयो । र, मुसुमुसु हाँस्नुभयो । अनि मैले अफिसमा गएर ललित क्षेत्रीलाई नीर शाहले समाचार पढ्नुहुँदोरहेछ हगि भनें । उसले पनि हो र दिदी भन्यो । हो त, दाइले भन्नुभएको भनेँ । ललितले यो कुरा रेडियोमा अरुलाई पनि सुनाएछ । तर त्यो समाचार पढ्ने मानिस प्रवीण गिरी हुनुहुँदोरहेछ । सबैले मलाई उल्लु बनाए । घरमा आएर मैले उहाँलाई (नारायणगोपाललाई) तपाईंले गर्दा अफिसमा म आज उल्लु भएँ, किन यस्तो गरेको भन्दा उहाँले हाँस्दै भन्नुभयो, ‘तिमी कान राम्ररी सुन्दिनौ यसैले ।’

ठमेल बस्दा नारायणगोपाल घरमा अबेला आउनेरहेछन् । ‘अबेला आउँदा रिस उठेर ढोका खोल्दै झक्र्यो । उहाँ चाहिँ नकराऊ चुप लाग, चुप लाग, त्यहाँ बाहिर झगडा परेर केटाहरू मलाई कुट्न आइरहेछन् । छिटो ढोका बन्द गर, केटाहरू आए भने म छैन भनिदेऊ भन्ने । को–को कुट्न आए भनेर म डराउँथे । खाना खाइसकेपछि म सोध्थें, ‘खै त कोही आएन ?’ उहाँ भन्नुहुन्थ्यो, ‘तिमीले मलाई गाली गछ्र्यौ भनेर नि । केटाहरूसँग झगडा प¥यो भनेपछि त तिमी डराइहाल्छ्यौ र कचकच गर्दिनौ भनेर ।’

यस्ता कति प्रसङ्ग कति–कति ?

‘गीत गाएर पनि उहाँ प्रायः मलाई जिस्क्याउने गर्नुहुन्थ्यो । सुरु–सुरुमा विवाह गरेर आउँदाखेरी ‘कान्छी नानी पेमला च्याट्टै परेकी’ भन्दै गाउँदै मलाई जिस्काउनुहुन्थ्यो,’ पेमलाले भनेका यी शब्द अझै स्मृतिमा छन् ।

जर्मनीमा एक महिना बसेर आएपछि नारायणगोपाल ट्वाक्कटुक्क जर्मन भाषा बोल्न सक्थे । आई लभ युलाई जर्मनी भाषामा ‘इस लिवे डिस’ भन्दोरहेछ । अन्तिम दिनहरूमा, एकदिन बेडबाट उनले ‘ए बूढी, इस लिवे डिस (ठ्याक्कै यो जर्मन उच्चारण हो, होइन ? पाठकले सच्याउनुहोला) भनेछन् । पेमलाले यो प्रसंग पनि सुनाएकी थिइन् ।

पेमलाका अनुसार भूपि शेरचन पनि बेलाबेला हँसाइरहन्थे । भूपि र नारायणगोपाल बसेर अरुलाई उल्लु बनाउँथे । दुवै जनाको यो प्रवृत्ति, खुब मिल्थ्यो । कहिले चाइनिज र कहिले रसियन जस्तो बनाएर बोल्ने । ‘म फेरि कस्तो मूर्ख होला, पत्याउँथे, उल्टापल्टा कुरा गरिरहने भूपि दाइ अब रसियनमा समाचार भन्छु भन्दै पढ्न थाल्नुहुन्थ्यो ।’

भूपि शेरचनसँग नारायण गोपाल

पेमलाका अनुसार नारायणगोपालका लागि भूपि शेरचन मात्र एकजना त्यस्तो व्यक्ति थिए, जसलाई फोनबाट नारायणगोपाल फर्माइस गीत सुनाउँथे । पेमलाका शब्दमा ‘भूपि दाइले फोन गर्नुभएपछि एक घण्टा डेढ घण्टा समय लागिहाल्ने । फोनबाटै गीत सुनाउनुपर्ने । दाइ हार्मोनियम समाएर बस्नुहुन्थ्यो, म फोनको रिसिभर समाउँथें र भूपि दाइ उताबाट गीत फर्माइस गर्दै जानुहुन्थ्यो । भूपिदाइ, उहाँलाई सानोबाबु (नारायणगोपालको घरको बोलाउने नाम) भन्नुहुन्थ्यो । ‘मलाई नसोध कहाँ दुख्छ घाउ’को अहिले बजिरहेको ट्युन भूपि दाइले मन पराउनुभएको थिएन र भन्नुहुन्थ्यो, ‘सानोबाबु, यो गीतमा ट्युन परिवर्तन गर ।’

चुरोट अलि बढी पिउने, चेस खेल्नुपर्ने गायक नारायणगोपालको जिस्काउने प्रवृत्ति हस्पिटलसम्म कायमै रह्यो । पेमलाले भनेकी थिइन्, ‘उहाँले हस्पिटलमा हामीलाई सुत्नै नदिने । एकदिन हामी जाँदा हाँसेर बसिरहनुभएको थियो । मैले आज नर्सहरूलाई क्या हप्काएँ भनेर उहाँले घटना बताउँदै भन्नुभयो– यहाँ नारायणगोपाललाई राखिएको छ भनेर हामी हेर्न आएका भन्दै ४–५ जना नर्स आइपुगे । मैले ढोकामा उभिएर ‘ए, नानी हो यहाँ किन हल्ला गरेको’ भन्दै हप्काएँ । उनीहरूले नारायणगोपाललाई एकदम हेर्न मन लागेको छ, त्यसैले आएका भनेर जिद्दी गरे र नारायणगोपाल बाहिर गएको छ, म उसलाई कुर्न बसेको मान्छे हो भनेर पठाइदिएँ । तर पछि नर्सहरूले यो कुरा थाहा पाएछन् ।’

नारायणगोपालसँग २० वर्ष बिताएकी पेमला गुरुवाचार्यलाई मैले उतिबेला आग्रह गरेको थिएँ, नारायणगोपालका केही रहस्यमयी कुरा बताउनुस् । सारमा पेमलाले भनेकी थिइन्, ‘यो चाहिं धेरै कमलाई थाहा छ । उहाँ खुब क्यारिकेचर गर्ने । मित्रसेनको गीत ठ्याक्कै गाउनुहुन्थ्यो । यदि तपाईं पछाडि फर्केर हेर्नुभएन भने साँच्ची नै मित्रसेन हो भन्ने तपाईंलाई लाग्थ्यो । यस्तै मुकेश, अम्बर गुरुङको आवाजको पनि ठ्याक्कै नक्कल गर्नुहुन्थ्यो । उहाँ किताबहरूमा बढी सङ्गीतसम्बन्धी नै पढ्नुहुन्थ्यो भने इतिहास उहाँको मन पर्ने विषय । हरेक पत्रपत्रिका पढ्नुपर्ने, नेसनल जियोग्राफी उहाँलाई एकदम मन पर्ने, चाँडै उठ्नुपर्ने, ४–५ बजेतिरै मर्निङ वाकमा एक घण्टा जति निस्कने । अनि आएर एक दुई घण्टा सङ्गीत साधना गर्नुपर्ने । गीत पनि उहाँ अति नै सुन्नुहुन्थ्यो । वेगम अफतरका गीत, प्रायः क्लासिकल गीत सुनेर बस्ने उहाँको बानी थियो । खानामा एकदम सौखिन, बिरामी भएर बस्दा पनि जेरी–स्वारी खान्छु भन्ने यस्तै–यस्तै ।’

– नेपालखबर डटकमबाट
तस्बिरहरु नारायण गोपाल सङ्स फेसबुक पेजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *