सिमाबासीको प्रश्न– नेपालमा घर, भारतको भर कहिलेसम्म ?

  
  प्रकाशित मितिः बुधबार, मंसिर २०, २०७४       | 181 Views   ||

भुपेन्द्र वली

दाङ । यो समाचार लेखिरहँदा दोस्रो चरणको प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको मौन अवधि शुरु भइसकेको छ । सधैंजसो यसपटकको चुनावमा पनि नेताहरु मत माग्न भारतसँगको सिमावर्ती नाकासम्म पुगे– थुप्रै आश्वासनका पोका लिएर ।

भोट माग्न आउने उम्मेदवारहरुलाई सीमाबासीको एउटै प्रश्न हुन्छ । ‘तपाई आज एक दिन त यति कष्ट पाउनुभयो । हामीलाई दिनदिनै ओहोरदोहोर गर्नुपर्दा कति सास्ती हुँदो हो ?

प्रश्न सोध्नुको कारण हो– नाका क्षेत्रसम्म पुग्नका लागि उम्मेदवारहरुले पनि भारतीय बाटोको प्रयोग गर्नुपरेको छ । आफ्नै देशका मतदातासम्म पुग्न उनीहरुले बोर्डर यता नै आफ्ना सवारी साधन थन्क्याएर भारतीय नम्बर प्लेटका गाडी हिडाल्नुपर्छ ।

नेपालमा घर भए पनि दैनिक जीवनयापनका लागि पूर्ण रुपमा भारतको भर पर्नुपर्दा सास्ती व्यहोर्नुपरेको दुखेसो सीमाबासीको छ । ‘प्रत्येक निर्वाचनमा नेताहरुले घरसम्म सडक पु¥याउँनेछौं भनेर प्रतिबद्धता जनाउँछन् । तर त्यो कहिल्यै कार्यान्वयन भएन ।’ राजपुर १ सिरिया नाकाका स्थानीय ओमबहादुर पुनले भने, ‘नेपालका सवारी साधन चल्ने कोइलाबास नाकाका दुरी यहाँबाट जम्मा १०/१२ किलोमिटर मात्र छ । तर सडक छैन । भारततर्फबाट यता आउनुपर्दा करिब ५५ किलोमिटरको यात्रा गर्नुपर्छ ।’

भारतसँग जोडिएका २२ वटा नाका दाङमा मात्र रहेका छन् । प्रायः नाकामा मानव बस्ती रहेका छन् ।

दैनिक जीवन धान्न भारतकै भर

२२ वटा नाकामध्ये कोइलाबाससम्म मात्र नेपालका सवारी साधन पुग्छन् । त्यो पनि बर्षातको समयमा सडक बिग्रिएर यातायात अवरुद्ध हुन्छ । सडक नभएका कारण यहाँका स्थानीय दैनिक जीवनयापनका लागि पूर्ण रुपमा भारतको भर पर्नुपरेको बताउँछन् । ‘नुनदेखि सुनसम्म किन्न भारत नै पुग्नुपर्छ ।’ सिरिया नाकाका स्थानीय गणेश नेपालीले भने, ‘नेपालमा त घर छ भन्नु मात्र हो । दैनिक जीवनयापनका लागि पूर्ण रुपमा भारतको शरण पर्नुपरेको छ ।’

भारतबाट सामान ल्याउनुपर्दा पनि सास्ती व्यहोनुृपरेको स्थानीयको भनाई छ । ‘आजभोलि २५ किलोभन्दा बढी सामान ल्याउन पाइरहेका छैनौं ।,’ नेपालीले भने, ‘यो नियम पनि कतिखेर फेरिन्छ थाहा हुँदैन । ठाउँ–ठाँउमा चेकिङ हुन्छ ।’ यस्तै उब्जाउ जमिन नहुँदा आम्दानी नहुने भएकाले रोजगारीका लागि उनीहरु भारत नै पुग्नुपरेको छ ।

लालपूर्जा विहीन नाकाबासी

२२ वटा नाकामध्ये प्रायः स्थानमा मानव बस्ती रहेको भए पनि स्थानीय कोहीसँग पनि जग्गाको लालपुर्जा छैन । सुकुम्बासी समस्या समाधान आयोगको आह्वानबमोजिम लालपुर्जा प्राप्तिका लागि निवेदन दर्ता गराए पनि त्यसको कुनै सुनुवाई नभएको पटौली नाकास्थित श्री बाल बिसौनी प्राथमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हेमराज गिरीले बताए । २०१७ सालदेखि नाका क्षेत्रमा मानव बसोबास भए पनि लालपुर्जा कसैसँग नभएको उनको भनाई छ ।

‘राजा महेन्द्रको निर्देशनबमोजिम नाका क्षेत्रमा मानव बस्ती बसाइएका हुन् । त्यसयता कैयन् पटक जग्गाको नापी पनि भयो । तर लालपुर्जा दिइएन ।’ उनले भने । प्रत्येक नाका क्षेत्रमा करिब ३० देखि सयसम्म घरपरिवार बसोबास गर्दै आएका छन् ।

छैैनन् राज्यका सुविधा

नाका क्षेत्रमा ठुलो जनसंख्याले बसोबास गरे पनि राज्यका तर्फबाट भने न्युनतम सेवा सुविधा प्रदान गरिएको छैन । प्रायः नाका क्षेत्रमा प्राथमिक तहभन्दा माथिका विद्यालय छैनन् । खांग्रा नाकामा मात्र माध्यमिक स्तरको विद्यालय रहेको छ । विद्यालय नहुँदा स्थानीय शिक्षाबाट वञ्चित छन् । यस्तै प्रायः स्थानीयसँग नेपाली नागरिकतासमेत छैन । सदरमुकाम घोराहीसम्म आउन निक्कै समय र पैसा खर्च हुने भएकाले सीमाबासी नागरिकता नबनाएर बस्नुपरेको सिरिया नाकाका स्थानीय पुनले बताए ।

यस्तै गतिला स्वास्थ्य चौकी पनि नाका क्षेत्रमा नभएको स्थानीय बताउँछन् । ‘बैशाख–जेठमा बिच्छीले टोकेर प्रत्येक वर्ष कसै न कसैले ज्यान गुमाउनुपरेको छ ।’ पुनले भने, ‘मैले पनि अढाई वर्षको छोरा गुमाएँ । स्वास्थ्य चौकीमा बिच्छीको औषधि भएको भए मेरो छोराले ज्यान गुमाउनु पर्दैनथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *