सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्यो

  
  प्रकाशित मितिः बुधबार, मंसिर २०, २०७४       | 169 Views   ||

दाङ | जिल्लाका सामुदायिक विद्यालयहरुमा बर्षेनी विद्यार्थीको संख्या घट्दै गइरहेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै जान थालेपछि विद्यार्थीको संख्या घट्दै जान थालेको हो ।

सामुदायिक विद्यालयले निःशुल्क शिक्षाका नाममा अतिरिक्त शुल्क उठाउने र निजी विद्यालयसँग प्रतिस्प्रर्धा गर्न नसक्दाको कारण सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या ह्वातै घटेको अविभावकहरुले नै बताएका छन् ।

यता जिल्ला शिक्षा कार्यालयले पनि पछिल्लो ३ बर्षमा ६ हजार विद्यार्थीको संख्या घटेको कुरा स्वीकार गरेको छ । जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले सामुदायिक विद्यालयको खस्कदो शैक्षिक गुणस्तरसँगै विद्यार्थीको निजी विद्यालयमा आकर्षण बढ्दै जान थालेपछि सामुदायिक विद्यालयमा बर्षपिच्छे विद्यार्थीको संख्या घट्दै जान थालेको बताउनुभयो ।

निम्न माध्यमिक र माध्यमिक तहमा विद्यार्थी भर्नादर खासै नफेरिए पनि प्राथमिक तहमा विद्यार्थीहरु भर्ना दर ह्वात्तै घट्दै गइरहेको मैनालीले बताउनुभयो । आर्थिक बर्ष ०७२/७३ मा प्राथमिक तहमा ४७ हजार, ५ सय ३४ विद्यार्थी भर्ना भएका थिए । जसमा २४ हजार, ८ सय २५ छात्रा र २२ हजार ६ सय ९ छात्र रहेका थिए ।

त्यस्तै आव ०७३/७४ मा ४५ हजार २ सय विद्यार्र्थी भर्ना भएका थिए, जसमा २२ हजार ९ सय १६ छात्रा र २२ हजार, २ सय ८३ छात्र रहेका थिए ।

त्यस्तै आ.व. ०७४/७५ मा ४१ हजार, ४ सय, ८० विद्यार्थी भर्ना भएका छन् । जसमा २१ हजार ४ सय ६० छात्रा र २० हजार २० छात्र रहेका छन् । यसरी प्राथमिक तहमै बर्षेनी विद्यार्थीको संख्या घट्दै जान थालेपछि सामुदायिक विद्यालयको शैक्षिक दर पनि घटेको प्रमुख शिक्षा अधिकारी मैनालीको भनाई छ ।

प्रावि तहबाटै विद्यार्थीको संख्या घट्दै जान थालेपछि सामुदायिक विद्यालयको माथिल्लो तहमा प्रत्यक्ष प्रभाव परेको उहाँको भनाई छ । सामुदायिक विद्यालयको विश्वसनीयतामा कमी, शिक्षकद्वारा पठनपाठनमा हेल, चक्र्याई विद्यालय सहयोग शुल्कका नाममा अतिरिक्त शुल्क असुली, गरिबी आदिका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दो अवस्थामा रहेको मैनालीको भनाइ रहेको छ ।

विद्यालय छोड्नेमा छात्र बढी

जिल्ला शिक्षा कार्यालयले विद्यालय छाड्नेमा छात्रा भन्दा छात्रको संख्या बढि रहेको जनाएको छ । आमा बुबासँग विभिन्न काममा जानुपर्ने बाध्यताका कारण छात्रको संख्या बढिरहेको जिल्ला शिक्षा कार्यालयका प्रमुख रमेश मैनालीले जानकारी दिनुभयो ।

अविभावकको कमजोर आर्थिक अवस्था हुँदा बुबा, आमासँगै जिल्ला बाहिर ईट्टाभट्टामा काम गर्न जाने गरेका कारण बालकको संख्या बढी देखिएको उहाँले वताउनु भयो । बालिकाहरुको तुलनामा बालकहरु २५ प्रतिशतले बढी विद्यालय छाड्ने गरेको शिक्षा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *