मताधिकारको सदुपयोग गरौं

  
  प्रकाशित मितिः बुधबार, मंसिर २०, २०७४       | 187 Views   ||

संविधान कार्यान्वयनको अन्तिम चरणको रुपमा हेरिएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ को दोस्रो चरणको निर्वाचन भोलि बिहीबार अर्थात् मंसिर २१ गते सम्पन्न हुँदैछ । यो निर्वाचनसँगै २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधान कार्यान्वयनको प्रक्रिया पूरा भई संस्थागत हुनेछ ।

३२ जिल्लामा गत मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ भने अब भोलि ४५ जिल्लामा निर्वाचन हुँदैछ । अहिले मौनअवधि जारी रहेको अवस्था भएको हुँदा दलहरुले आफ्ना चुनावी प्रचार प्रसारका कार्यक्रमहरु बन्द गरिसकेका छन् भने निर्वाचन आयोग र सम्पूर्ण राज्यका निकायहरु यतिबेला निर्वाचन सम्पन्न गर्न आ–आफ्नो फिल्डमा खटिइसकेका छन् ।

जिल्लाको हकमा पनि सोमबार र मंगलबार नै सबै मतदान केन्द्रहरुमा निर्वाचन सामग्रीहरु पु¥याइसकिएको छ भने मंगलबारदेखि नै मतदाता परिचय–पत्र वितरण शुरु भइसकेको छ । यी निर्वाचनसम्बन्धी गतिबिधिले देश पूरै निर्वाचनमय बनिसकेको छ । स्थानीय तहको निर्वाचनपछि पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न हुनु र दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यासम्म पनि एकाध घटनाहरु बाहेक निर्वाचनका कार्यक्रमहरु अहिले शान्तिपूर्ण रुपमा सम्पन्न हुनुले देश अब संविधान कार्यान्वयनको दिशामा सफल भइसकेको प्रष्ट हुन्छ । संविधान कार्यान्वयन हुनु भनेकै देश अघि बढ्नु हो र देश अघि बढ्नु भनेको विकास र समृद्धिको पाइला अघि सर्नु पनि हो ।

कुनै बेलाको राजा, महाराजा, साहु र जमिन्दारको अनुकूल हुने गरी उनीहरुकै निर्देशनमुताविक मत हाल्नुपर्ने अवस्था अब छैन । समय र व्यवस्था बदलिएको छ । अहिले जनताको मताधिकार व्यक्तिगत र स्वतन्त्र रुपले प्रयोग गर्न पाउने जनताको सबैभन्दा उच्चतम नैैसर्गिक अधिकार मानिन्छ । हामी जति–जति विकसित समाजभित्र प्रवेश गर्छौं, त्यति–त्यति हामीले प्रयोग गर्ने मतको महत्व बढेर जान्छ । अझ जनताले मत जाहेर गर्ने चुनाव नै लोकतन्त्र वा गणतन्त्रको सबैभन्दा सुन्दर पक्ष मानिन्छ । गणतन्त्रलाई जगदेखि नै बलियो र विकसित गर्ने माध्याम नै जनताको मत हो । जुन मतको म्याण्डेटबाट शासन सत्ता र शासन व्यवस्थाहरु चल्ने गर्छन् । त्यसैले मेरो मत देशको नीति निर्माण, शासन सत्ता चलाउने प्रतिनिधिलाई छान्ने निणार्यक अधिकार हो । यसको महत्व जबसम्म बुझिदैन, तबसम्म आफूलाई सार्वभौम अधिकारसम्पन्न नागरिक भएको ठानिदैन ।

अहिलेको निर्वाचन अब देशलाई कतातिर लैजाने त्यसको फैसला गर्ने महत्वपूर्ण घुम्ती हो । स्थानीय तहको निर्वाचनले सिंहदरबारमा केन्द्रित अधिकारलाई गाउँ÷नगरमा ल्याएको छ, त्यसको सही ढंगले कार्यान्वयन र नीति निर्माणका लागि प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनले विशेष महत्व राख्दछ । यो बेला मताधिकारको महत्व बुझिएन र लोभ, मोह, आश्वासन, डर, धम्कीमा पर्ने वा मताधिकारलाई वेपर्वाह गरियो भने हाम्रो अधिकारको दुरुपयोग हुन जान्छ । गलत मान्छेले गलत उद्देश्य पूर्तिका लागि नेतृत्व लिन्छ र सर्वमान्य नागरिक भएर पनि हामी अरुको दुरुपयोगमा फस्न पुग्छौं अनि अधिकार पाएर पनि फस्न पुग्छौं ।

त्यसैले हामी विकसित समाजका सचेत मान्छे बन्न जरुरी छ । आफ्नो विवेक र चेतनाको निर्णयमा देश बनाउने मतको महत्व, उपादेयता र आवश्यकतालाई हेरी मतदान गर्न जरुरी छ । यो बेला सही र असल उद्देश्य बोकेका प्रतिनिधिलाई छान्ने आफ्नो दायित्व पूरा गर्न मतदाताहरुले विशेष ध्यान पु¥याउनुपर्दछ । हामीले मताधिकारको सही सदुपयोग गर्नु नै समृद्ध राष्ट्र निर्माणको अभियानलाई सघाउनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *