पाण्डव शर्मा
घोराही । दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कृष्णबहादुर महराले साझा नेताको रुपमा भूमिका निर्वाह गर्ने बताएका छन् ।
विजयी भएको घोषणा लगत्तै सञ्चारकर्मीहरुसँग पहिलो प्रतिकृया दिदै महराले भने, ‘म निर्वाचित भइसकेपछि सबैको साझा प्रतिनिधि हुँ, मलाई मतदान गर्नुहुने र मतदान गर्न असमर्थ सबै जनसमुदायलाई समानरुपमा व्यवहार गर्ने छु ।’
महराले निर्वाचनमा सहयोग गर्ने आम मतदाताहरुलाई धन्यवाद समेत दिएका छन् ।
उनले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्ने कांंग्रेसका उम्मेदवारलगायत अन्य सबै उम्मेदवारहरुलाई पनि धन्यवाद दिएका छन् ।
‘निर्वाचनमा विजय हुनु र विजय हुन नसक्नु स्वभाविक प्रकृया हो, जे भए पनि सबै उम्मेदवारहरुले स्वस्थ रुपमा प्रतिस्पर्धा गर्नुभयो, म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’
महराले आफूले निर्वाचनका क्रममा जनता सामु राखेका सबै प्रतिबद्धता पूरा गर्ने बताएका छन् । उनले भोलिदेखि नै दाङको विकासका लागि योजना निर्माणमा लाग्ने जानकारी दिए ।
‘दाङलाई ५ नं प्रदेशको राजधानी बनाउन म पहल गर्नेछु,’ उप–प्रधानमन्त्रीसमेत रहेका महराले भने, ‘हामी यही सरकारबाट ५ नं प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नेछौं ।’