दाङका ८ क्षेत्रमा वाम विजयी, १ क्षेत्र जितेर क्लीन स्वीप रोक्यो कांग्रेसले

  
  प्रकाशित मितिः आइतवार, मंसिर २४, २०७४       | 178 Views   ||

घोराही । दाङमा प्रतिनिधिसभा सदस्यका तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभामा भने कांग्रेसले एक सिट जित्दै वाम गठबन्धनको क्लीन स्वीपबाट रोकेको छ ।

दाङ क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट एमाले उम्मेदवार मेटमणि चौधरी निर्वाचित भएका छन् । पहिलो पटक आम चुनाव लडेका मेटमणिले पूर्वसांसद एवम् नेपाली कांग्रेसकी उम्मेदवार सुशीला चौधरीलाई १३ हजार ८ सय ३४ मतान्तरले हराए ।

कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको घर भएको दाङ क्षेत्र नम्बर १ मा जित निकाल्ने क्रममा मेटमणिले ३७ हजार ९ सय ८ मत प्राप्त गरे । उनको निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सुशीला चौधरीले २४ हजार ७४ मत पाएकी छन् ।

यसैगरी दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा भारी मत अन्तरले विजयी भएका छन् । महराले कांग्रेसका पूर्वसांसद राजु खनाललाई १४ हजार १ सय ४५ मतान्तरले हराए ।

महराले ४० हजार ४२ मत पाए भने खनालले २५ हजार ८ सय ९७ मत पाएका छन् । महरा पहिलो संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।

दाङ क्षेत्र नम्बर ३ मा पनि वाम गठबन्धनका उम्मेदवार हिराचन्द्र केसी निर्वाचित भएका छन् । एमाले दाङ जिल्ला सचिवसमेत रहेका युवा नेता केसीले कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व सिचाइँ मन्त्री दीपक गिरीलाई ६ हजार ५ सय ५७ मतान्तरले पराजित गरे ।

केसीले ४० हजार २ सय ८७ मत ल्याएका छन् भने गिरीले ३३ हजार ७ सय ३० मत प्राप्त गरेका थिए ।

इन्द्रजितले इतिहास दोहोर्‍याए, रेवतीरमणले तेस्रो प्रयासमा बाजी मारे

दाङ क्षेत्र नम्बर १ मा प्रदेश सभातर्फ पनि वाम गठबन्धनका दुबै उम्मेदवार निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ (१) मा पूर्वसभासद एवम् माओवादी केन्द्रका उम्मेदवार इन्द्रजित थारु विजयी भए । उनले कांग्रेसका प्रदीप थापालाई ५ हजार ८ सय ९३ मतान्तरले हराएका छन् ।

इन्द्रजितले १७ हजार २ सय ८५ र प्रदीप थापाले ११ हजार ३ सय ९२ मत पाएका छन् ।

इन्द्रजितले पहिलो संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर १ मा कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कालाई पराजित गरेका थिए ।

क्षेत्रनम्बर १ (२) मा पनि वाम गठबन्धनबाट एमालेका रेवतीरमण शर्मा निर्वाचित भएका छन् । संविधानसभाका दुबै निर्वाचनमा हार व्यहोरेका शर्माले तेस्रो लडाइँ जिते र प्रदेशसभा सदस्य बने ।

उनले कांग्रेसका जानकीलाल बस्नेतलाई ६ हजार ६ सय १ मत अन्तरले हराए । शर्माले १९ हजार ३ सय ५४ र बस्नेतले १२ हजार ७ सय ५३ मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्रीका दावेदार शंकर पोखरेल पनि निर्वाचित

प्रदेशसभा तर्फ क्षेत्र नम्बर २ (१) मा पाँच नम्बर प्रदेशको सम्भावित मुख्य मन्त्री एमाले नेता शंकर पोखरेल विजयी भएका छन् । उनले कांग्रेसका कमलकिशोर घिमिरेलाई ९ हजार ५ सय ५१ मतान्तरले पराजित गरे । पोखरेल २० हजार ७ सय २३ मत पाएर निर्वाचित हुँदा घिमिरेले ११ हजार १ सय ७२ मत मात्रै प्राप्त गरे ।

पोखरेल दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस उम्मेदवार वुद्धिराम भण्डारीसँग पराजित भएका थिए । अहिले पोखरेल निर्वाचित हुँदा भण्डारी प्रदेश सभाको क्षेत्र नम्बर ३ (१) मा पराजित भएका छन् ।

प्रदेशसभा तर्फकै क्षेत्र नम्बर २ (२) मा एमालेका अमरबहादुर डाँगी विजयी भए । घोराही नगरपालिकाको पूर्वमेयर समेत रहेका डाँगी २१ हजार ४ सय ५० मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतबहादुर न्यौपानेले १३ हजार १ सय ९० मत पाएका छन् ।

क्लीन स्वीप हुनबाट जोगाए चौधरीले

प्रदेशसभा तर्फ क्षेत्रनम्बर ३ (१) मा कांग्रेसका डिल्लीबहादुर चौधरीले वाम गठबन्धनको क्लीन स्वीपबाट जोगाएका छन् । दाङमा वाम गठबन्धनले बर्चस्व जमाइरहेका बेला चौधरीले माओवादी उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’लाई २ हजार ३ सय ३६ मत अन्तरले हराउन सफल भए ।

श्रम तथा रोजगार राज्यमन्त्रीसमेत रहेका चौधरी १७ हजार ३६ मतसहित निर्वाचित हुँदा शर्माले १४ हजार ७ सय मतमै चित्त बुझाउनु प¥यो ।

प्रदेशसभा तर्फ क्षेत्रनम्बर ३ (२) मा भने वाम गठबन्धनबाट एमाले उम्मेदवार उत्तरकुमार ओली निर्वाचित भएका छन् । ओलीले कांग्रेसका पूर्वसांसद बुद्धिराम भण्डारीलाई ६ हजार ४ सय ३५ मतान्तरले हराएका छन् ।

ओलीको पक्षमा २३ हजार ९ सय ७० मत परेको छ भने भण्डारीले १७ हजार ५ सय ३५ मत पाएका छन् । दोस्रो संविधानसभा निर्वाचनमा भण्डारीले एमाले नेता शंकर पोखरेललाई हराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *