मेरो सफलता दाङको समृद्धिका लागि हो– महरा

  
  प्रकाशित मितिः आइतवार, मंसिर २४, २०७४       | 371 Views   ||

महराले दिए मतदातालाई धन्यवाद

घोराही, मंसिर २४ । दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कृष्णबहादुर महराले आफ्नो सफलता दाङको समृद्धिका लागि भएको बताएका छन् ।

आइतबार मतदाताहरुलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै महराले आफ्नो सफलता दाङको समृद्धिका लागि भएको आफूले गम्भीरतापूर्वक बुझेको बताएका हुन् ।

‘मेरो सफलता दाङको समृद्धिको लागि हो भन्ने मैले गम्भीरतापूर्वक बुझेको छु,’ धन्यवाद ज्ञापनमा उनले भनेका छन्, ‘अब म जनप्रतिनिधि हुँ, व्यक्ति र पार्टीभन्दा माथि उठेर देश र जनताको सेवामा समर्पित हुनेछु ।’

५ वर्षे कार्यकालमा आफ्नो अधिकांश समय दाङको समृद्धि र विकासमा खर्चिने भन्दै महराले आफ्नो पूरै क्षमता दाङबासी जनताको सेवा र दाङको समृद्धिमा समर्पित गर्ने बताएका छन् ।

आफ्नो प्रमुख कर्तव्य र जिम्मेवारीको पहिलो काम दाङलाई प्रादेशिक राजधानी बनाउने कुरा भएको उल्लेख गर्दै उक्त ज्ञापनमा महराले भनेका छन्, ‘मैले प्रमुख कर्तव्य र जिम्मेवारीका रुपमा पहिलो काम दाङ जिल्लालाई प्रादेशिक राजधानी बनाउने कुरालाई लिएको छु । यसका लागि प्रक्रिया अगाडि बढाइसकेको कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छु । त्यसैगरी दाङलाई पश्चिम नेपालकै केन्द्र बनाउने कुरा यहाँहरुसमक्ष मैले प्रतिबद्धता जाहेर गरिसकेको छु । यसका लागि स्तरीय यातायात सेवाको तीव्र विकास र कनेक्टीभिटीलाई प्राथमिकताका साथ अगाडि बढाउने छु ।’

उनले सुशासन समृद्धिको अर्को महत्वपूर्ण आधार भएको भन्दै कर्मचारी प्रशासनलाई पारदर्शी, प्रभावकारी र जनमैत्री बनाउनेदेखि कला, साहित्य र संस्कृतिको संरक्षण र प्रवद्र्धनलगायतका प्रतिबद्धता पत्रमा उल्लेख गरिएका कुराहरु व्यवहारबाटै पूरा गरेर देखाउने बताएका छन् ।

हेर्नुस्– कृतज्ञता तथा धन्यवाद ज्ञापनको पूर्ण पाठ

आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइमा नमस्कार !

यही २०७४ साल मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई उत्सव बनाउँदै उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी हुनुभएकोमा सम्पूर्ण मतदाताज्यूहरुमा आभार प्रकट गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु ।

यस निर्वाचनमा मलाई विजयी गराउन उल्लेखनीय भूमिका निर्वाह गर्ने मेरो पार्टी नेकपा माओवादी केन्द्र, नेकपा एमालेसहितको वाम गठबन्धन एवं नेपाली कांग्रेसलगायत सम्पूर्ण कार्यकर्ता, शुभचिन्तक, व्यवसायी, बुद्धिजीवी, पत्रकार, सञ्चारमाध्यम, नागरिक समाज सबैमा आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु । यस निर्वाचनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न अहम् भूमिका निर्वाह गर्ने नेपाल सरकार, निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मीलगायत सम्पूर्ण तह र तप्कालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

मलाई मतदान गरी विजयी गराउन सहयोग गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई विशेष धन्यवाद दिनुका साथै विभिन्न कारणले मतदान गर्न असमर्थ मतदाताहरुलाई पनि धन्यवाद दिन चाहन्छु । यस निर्वाचनमा मेरो प्रतिस्पर्धामा रहनुभएका नेपाली कांग्रेसलगायत सबै पार्टीका उम्मेदवारहरुलाई स्वस्थ र लोकतान्त्रिक प्रतिस्पर्धाको लागि मद्दत गर्नुभएकोमा हार्दिक धन्यवाद र उहाँहरुलाई मतदान गर्ने मतदाताहरुप्रतिसमेत आभार व्यक्त गर्न चाहन्छु ।

म आम दङाली जनता र मतदाताहरुमा विश्वास दिलाउन चाहन्छु कि अबको ५ वर्षको कार्यकालमा मैले अधिकांश समय दाङ जिल्लाको विकास र समृद्धिमा खर्चने छु । म दाङबासी जनसमुदायलाई मेरो विचार, राजनीति, संगठन, आर्थिक विकास र विकास निर्माणको स्रोत मान्नेछु । दाङबासी जनसमुदायसँग हरेक विषयमा एकाकार भई काम गर्नेछु । आफ्नो पूरै क्षमता दाङबासी जनताको सेवा र दाङको समृद्धिमा समर्पित गर्नेछु । मेरो सफलता दाङको समृद्धिको लागि हो भन्ने मैले गम्भीरतापूर्वक बुझेको छु । अब म जनप्रतिनिधि हुँ, व्यक्ति र पार्टीभन्दा माथि उठेर देश र जनताको सेवामा समर्पित हुनेछु ।

आम नेपाली जनताको प्रधान शत्रुको रुपमा विद्यमान गरिबी, बेरोजगारी र असमानता, हाम्रा मुख्य चुनौती हुन् भने देशमा विद्यमान सक्रिय जनशक्ति र स्रोत साधनहरु हाम्रा सम्भावनाहरु हुन् । यी उपलब्ध सम्भावनाहरुको अधिकतम प्रयोग गर्दै देशको समृद्धितिर लाग्नु नै हाम्रो प्रमुख दायित्व र कर्तव्य हो । यी उद्देश्य प्राप्तिका लागि राजनीतिक स्थायित्व अनिवार्य शर्त हो । निर्वाचनको प्रारम्भिक परिणामसँगै हामीले राजनैतिक स्थिरता प्राप्त गरिसकेका छौं । अब हामी समृद्धिको दिशातर्फ अगाडि बढ्ने हो । लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको पूर्ण कार्यान्वयन गर्दै आगामी ५ वर्षभित्रमा हामीले विकासका केही मुख्य कार्यहरु अनिवार्यरुपले गर्नुपर्नेछ । समयसापेक्ष प्रतिस्पर्धी मानव संशाधनको विकास र राष्ट्रिय पुँजीको विकासका माध्यमबाट हामी समाजवादको आधार तयार गर्नेछौं । हामीले अल्पकालीन र दीर्घकालीन योजना निर्माण र त्यसको कार्यान्वयनबाट दिगो विकासको लक्ष्य प्राप्त गर्नेछौं । त्यसतर्फ मैले विशेष पहल गर्नेछु ।

मैले प्रमुख कर्तव्य र जिम्मेवारीका रुपमा पहिलो काम दाङ जिल्लालाई प्रादेशिक राजधानी बनाउने कुरालाई लिएको छु । यसका लागि प्रक्रिया अगाडि बढाइसकेको कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छु । त्यसैगरी दाङलाई पश्चिम नेपालकै केन्द्र बनाउने कुरा यहाँहरुसमक्ष मैले प्रतिबद्धता जाहेर गरिसकेको छु । यसका लागि स्तरीय यातायात सेवाको तीव्र विकास र कनेक्टीभिटीलाई प्राथमिकताका साथ अगाडि बढाउने छु ।

सुशासन समृद्धिको अर्को महत्वपूर्ण आधार हो त्यसैले सुशासनका लागि कर्मचारी प्रशासनलाई पारदर्शी, प्रभावकारी र जनमैत्री बनाउने कुरा मेरो अर्को महत्वपूर्ण कार्यभार हो । कला, साहित्य र संस्कृतिको संरक्षण र प्रवद्र्धनको माध्यमबाट आत्मगत अवस्थालाई मजबुत बनाउँदै परिवर्तन र समृद्धिको उद्देश्य पूरा गर्न योगदान पु¥याउने गरी ठोस नीति र कार्यक्रम मेरो अर्को मुख्य कार्यभार हुनेछ ।

यसरी दाङ जिल्लाको समग्र विकास र समृद्धिलाई हासिल गर्न स्थानीय तह, प्रदेश र केन्द्रको भूमिकालाई प्रभावकारी रुपमा अगाडि बढाउनुका साथै वैदेशिक सहयोग र लगानीलाई समेत भित्र्याउन विशेष भूमिका निर्वाह गर्नेछु ।

मेरो वैचारिक लक्ष्य समाजवाद हो । राजनैतिक रुपमा वर्तमान संविधानका उपलब्धिहरुको रक्षा, त्यसको सही व्यवस्थापन र त्यसलाई जनभावना अनुकूल विकास गर्ने हुनेछ । सांगठनिक रुपमा सबै कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने र सबै कम्युनिष्ट वामपन्थी शक्तिहरु र परिवर्तनकारी शक्तिहरुबीचको बलियो संयुक्त मोर्चा बनाउने हुनेछ ।

हामीले संविधान निर्माण गरिसकेको अवस्थामा अब धेरै समय मैले केन्द्रमा दिनुपर्ने छैन । यद्यपि संविधानको पूर्ण कार्यान्वयनका लागि थुप्रै कानुनहरु प्रतिनिधि सभाबाट बनाउनुपर्नेछ र यी बन्ने कानुनहरुको दूरगामी महत्व हुने भएकाले त्यहाँ मेरो उपस्थिति अनिवार्य हुनुपर्ने छ । अबको छोटो समयमै हामीले यी सम्पूर्ण कानुनहरु निर्माण गरी विकास केन्द्रित हुनेछौं । त्यसैले अबको मेरो अधिकांश समय दङाली जनताका साथ तपाईहरुको घर आँगन र क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।

अन्त्यमा यस निर्वाचनमा म लगायत वाम गठबन्धनका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी बनाउन संस्थागत तथा व्यक्तिगत रुपमा अहम् भूमिका निर्वाह गर्ने सम्पूर्ण संघ संस्थालगायत व्यक्तिहरुप्रति आभार व्यक्त गर्दै हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु । साथै यस निर्वाचनमा पूर्ण लोकतान्त्रिक आचरण प्रस्तुत गर्नुहुने मेरा सम्पूर्ण प्रतिस्पर्धीहरुमा समेत आभार व्यक्त गर्दै देशको अखण्डता, सार्वभौमिकता, राष्ट्रियता, मौलिकता र समृद्धिको लागि पूर्ण सहयोग र सहकार्यको अपेक्षा गर्दछु ।
धन्यवाद !

२०७४ मंसिर २४, दाङ

कृष्णबहादुर महरा
प्रतिनिधि सभा सदस्य
दाङ, निर्वाचन क्षेत्र नं. २

Leave a Reply

Your email address will not be published. Required fields are marked *