रोल्पामा माओवादीको ‘क्लिनस्वीप’

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०७४       | 216 Views   ||

नवीन लोचनमगर

रोल्पा । रोल्पामा वाम गठबन्धनअन्तर्गत माओवादीले प्रतिनिधि सभा र प्रदेशसभामा ‘क्लिनसीप’ गरेको छ । आइतबार बिहान मुख्य निर्वाचन अधिकृत बासुदेवलाल श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभामा माओवादीले जित हासिल गरेको घोषणा गरे । प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का वर्षमान पुनमगर ‘अनन्त’ले जम्मा खसेको ६८ हजार ६ सय ५९ मतमध्ये ४० हजार ६ सय ४७ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमरसिंह पुनमगरले १९ हजार ९ सय ६ मत प्राप्त गरेका छन् । वर्षमानले २० हजार ७ सय ४१ को फराकिलो मतान्तरले विजयी हासिल गरेका हुन् ।

विजयी घोषणापछि प्रतिक्रिया दिँदै वर्षमानले आफू रोल्पा र रोल्पालीका लागि लागिपर्ने बताए । ‘रोल्पाली मतदाताले दिएको मतको उच्च मूल्यांकन गर्दै रोल्पालीको सेवा गर्ने प्रतिज्ञा गर्छु’ अनन्तले भने ‘पाँच वर्षसम्म रोल्पाको विकास र समृद्धि नै मेरो अभियान हुनेछ ।’ उनले वाम एकताका लागि अहिलेको निर्वाचनले बलियो म्यान्डेट दिएको समेत बताए ।

प्रदेश सभातर्फ सोनाम र सिजल विजयी

रोल्पाको प्रदेशसभा सदस्य अन्तर्गत दुवै क्षेत्रमा माओवादी विजयी भएको छ । वाम गठबन्धनका तर्फबाट प्रदेश सभा १ मा माओवादी नेता कुलप्रसाद केसी ‘सोनाम’ भारी मतले विजयी भएका छन् । उनले १८ हजार ५ सय १२ मत लिएर विजयी भए भने प्रतिद्वन्द्वी कांग्रेसका शेरबहादुर महरा १० हजार ४ सय १ मत लिए ।

सोनाम र शेरबहादुर बीच ८ हजार १ सय ११ मतान्तर रहेको छ । ३३ हजार ८ सय ३३ मत खसेको रोल्पा ‘क’ मा नेपाली कांग्रेसले पनि झिनो आश गरेको थियो ।

प्रदेशसभा २ बाट नेकपा (माओवादी केन्द्र)का नेता दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ भारी मत लिएर विजयी भएका छन् । २४ हजार ४ सय ९० मत लिई दिपेन्द्रले निकटम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र हमाललाई पराजित गरेका हुन् । खगेन्द्रले ९ हजार ९ सय ६९ मत प्राप्त गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्यसमेत रहेका दिपेन्द्रले १४ हजार ५ सय २१ मतको भारी मतान्तरका बीच जीत हासिल गरेका हुन् । जिल्ला निर्वाचन अधिकारी लिलु गिरीका अनुसार रोल्पा प्रदेश सभा २ मा ३७ हजार २ सय ६९ मत खसेको थियो ।

बदर भएको मतसंख्या नै तेस्रो

रोल्पामा गनिएको प्रत्यक्षतर्फको मतसंख्यालाई हेर्दा विजयी र निकटतम प्रतिद्वन्द्वीपछि तेस्रो मतसंख्याको रुपमा मत बदर भएको पाइएको छ ।

प्रतिनिधि सभाको मत परिणाममा ५ हजार २ सय ७६ मत बदर भएको छ । जब कि मतसंख्या हेर्दा तेस्रोमा रहेको एकीकृत राप्रपाका रामबहादुर वलीले १ हजार १ सय ६५ मत मात्र प्राप्त गरेका छन् ।

प्रतिनिधि सभामा विजयी र निकटतम प्रतिद्वन्द्वीबाहेक अन्य ६ वटा पार्टीको मत संख्यालाई जोड्दा २ हजार ८ सय ३० मत मात्र हुन्छ ।

रोल्पा प्रदेश सभा १ को मत अनुपातलाई हेर्दा पनि बदर मत नै तेस्रो देखिन्छ । यहाँ खसेको ३३ हजार ८ सय ३३ मतमध्ये २ हजार ७ सय ८५ मत त बदर नै भएको छ ।

प्रदेश सभा २ मा पनि विजेता र उपविजेता बाहेक भाग लिएका ६ दलको मतसंख्या जोड्दा १ हजार ९ सय ९३ मात्र हुन्छ । प्रदेश सभा २ मा खसेको ३७ हजार २ सय ६९ मतमध्ये १ हजार ८ सय ९२ मत बदर भएको छ ।

जब कि रोल्पा प्रदेश सभा २ मा भाग लिएका विजेता उपविजेता बाहेकका अन्य तीनदलको मत परिणामलाई जोड्दा ९ सय ८ मात्र पुग्छ ।

कम्युनिष्ट शाख कायमै

कम्युनिष्ट गढको रुपमा चिनिदै आएको रोल्पा जिल्ला वामशक्तिले भाग लिएको हरेक निर्वाचनमा सफल रहँदै आयो । वामशक्तिले रोल्पामा कहिल्यै पछि फर्केर हेर्नुपरेन ।

२०४८ सालमा रोल्पा–१ बाट बर्मान बुढा र रोल्पा–२ बाट कृष्णबहादुर महरा जनमोर्चाबाट निर्वाचित भएसँगै रोल्पामा वाम नेतृत्व सुरु भएको हो । त्यसो त माओवादी अध्यक्ष प्रचण्डसमेत जीवनमै पहिलो पटक रोल्पाबाटै २०६४ को पहिलो संविधानसभामा जनताबाट जनप्रतिनिधिका रुपमा अनुमोदित भए ।

स्थानीय तहको निर्वाचनमा सात माओवादी र दुई एमालेले जितेको रोल्पामा माओवादी–एमाले गठबन्धनपछि नेपाली कांग्रेस नेतृत्वको प्रजातान्त्रिक शक्तिको कम आश रह्यो । भोटर बढाउने अभियानमै कांग्रेस देखियो । १० मंसिरमा गरिएको प्रतिनिधिसभा र प्रदेशसभाको मत परिणामले पनि वामशक्तिलाई नै विजयी देखायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *