रोल्पाबाट उदाए अनन्त (संक्षिप्त जीवनीसहित)

  
  प्रकाशित मितिः सोमवार, मंसिर २५, २०७४       | 206 Views   ||

जितपछि बधाई दिदै पुनपत्नी पूर्वसभामुख ओनसरी घर्ती

रोल्पा । पुन दाइभाइका बीचमा भएको प्रतिष्पर्धामा बाम गठबन्धनका तर्फबाट माओबादी केन्द्रका नेता बर्षमान पुन ‘अनन्त’ भारी मतका साथ रोल्पाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

रोल्पामा आइतबार बिहान मुख्य निर्वाचन अधिकृत बासुदेवलाल श्रेष्ठले घोषणा गरेको अन्तिम नतिजाअनुसार प्रतिनिधि सभा सदस्यका उम्मेदवार बर्षमान पुन ‘अनन्त’ले ४० हजार ६ सय ४७ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमरसिंह पुनमगरले १९ हजार ९ सय ६ मत प्राप्त गरेका थिए । कुल खसेको ६८ हजार ६ सय ५९ मतमा अनन्तले २० हजार ७ सय ४१ को भारी मतान्तरमा अमरसिंहलाई हराएका हुन् ।

विजयपछि आयोजित ¥यालीलाई सम्बोधन गर्दै नेता अनन्तले ५ बर्षसम्म रोल्पाको विकास र समृद्धि आफ्नो अभियान हुने बताए । रोल्पालाई कस्तो बनाउने भन्ने कुरा आफूले चुनावी घोषणा–पत्रमा उल्लेख गरेको भन्दै उनले घोषणापत्रमा लेखिएका योजनाहरुलाई तदारुकताका साथ पूरा गर्ने प्रतिबद्धता जनाए ।

को हुन् अनन्त ?

बुवा इर्खराम पुन र आमा तिर्थमाली पुनको माहिलो छोरोका रुपमा २०२८ जेठ १८ गते जंकोट गाविस वडा नं. १ माडिचौरमा जन्मेका बर्षमान पुन ‘अनन्त’ २०४२ मै अखिल छैठौँमा आबद्ध भएर राजनीतिमा सक्रिय भएको बताउँछन् ।

जनयुद्धकै क्रममा ओनसरी घर्तीसँग जनवादी विवाह गरेका उनका हाल एक छोरी र एक छोरा छन् ।

२०४८ मा कानून विषय सकाएका अनन्तले २०४८ मा आइएल पास गर्दा राजनीतिमा पूर्ण रुपमा लागिसकेका थिए । उनी भन्छन्, ‘२०४७ मा मैले पार्टी सदस्यता लिइसकेको थिएँ । २०४८ सालमै तत्कालीन ९ नं. क्षेत्रको संस्थापक एरिया सेक्रेटरी भएँ । पहिलो सम्मेलन, त्यो पहिलो सम्मेलनले म सेक्रेटरीमा निर्वाचित भएँ ।’

उनले आफ्नो राजनीतिक यात्रा निरन्तररुपमा यसरी शुरु भएको वर्णन गर्छन्– ‘२०५१ मा दोस्रो जिल्ला सम्मेलन भयो । त्यसमा म तीन जनाको कार्यालय सदस्य भएँ । त्यसमा जोखबहादुर महरा, सन्तोष बुढा र म कार्यालय सदस्य थियौँ । २०५३ मा जनयुद्धको थालनीलगतै म जिल्ला सेक्रेटरी भएँ । पछि रोल्पा र प्यूठान मिलाएर जिल्ला बन्यो, त्यसको पनि म सेक्रेटरी भएँ । २०५५ मा केन्द्रीय समितिमा आएपछि सहिद कमरेड किमबहादुर थापालाई सेक्रेटरीको हस्तान्तरण गरेर मैले ईन्चार्जसिप गरेँ ।’

२०४८ सालमा तत्कालीन एकता केन्द्र जनमोर्चा भएपछि ठुलो आन्दोलन भएको उनी स्मरण गर्छन् । उनी त्यतिबेलादेखि नेता कृष्णबहादुर महरासँगको सहकार्य स्मरण गर्छन्– ‘रोल्पामा महरा सर संयोजक म सह–संयोजक भएर ठूलो आन्दोलन भयो । काठमाडौंमा मात्रै २२ जना जनता मारिने अवस्था बन्यो । कांग्रेस सरकारको विरुद्ध आन्दोलनमा ।’

तत्कालीन गिरिजाप्रसाद नेतृत्वको सरकारले रोल्पामा दमन गरेपछि संसदीय व्यवस्थाको भण्डाफोर गर्न र यसबाट जनताको अधिकार सुनिश्चित गर्ने क्रममा युवा संगठन, वाइसिएलको रुपमा, गाउँमा जाली फटाहाविरोधी संघर्षहरु, तमसुक च्यात्ने काम अगाडि बढाएको वर्षमान बताउँछन् ।

२०४९ सालमा एकपटक कांग्रेस कार्यकर्ताले दुई सार्वजनिक मुद्दा लगाएपछि २४ दिन हिरासत, दुई मुद्दा भोगेका पुनले २०४९ को अन्तिममा कांग्रेसका स्थानीय कार्यकर्ताले आफुलगायत केही साथीलाई डाँका केश लगाएर २४ दिन हिरासतसमेत बसालेको उनको भोगाई छ ।

त्यसपछि पनि झुट्टा मुद्धा थुप्रै लाएको उनी स्मरण गर्छन् । त्यसको जगमा रोल्पा, सिन्धुली, गोरखा, रुकुमलगायतका ठाउँहरुमा प्रतिवादका काम अगाडि बढाएको उनको भनाई छ । उनी भन्छन्– ‘तत्कालीन राज्यसत्ताविरुद्ध हामीले संघर्ष जारी राख्यौँ । त्यसलाई संश्लेषण गर्दै जनयुद्धको जग बन्यो । पछि सचेत प्रयत्नबाट जनयुद्ध सुरुवात गर्ने एउटा आधार बन्यो ।’

बिएलएसम्मको अध्ययन गरेका पुनले २०५९ मा पुर्णरुपमा पोलिटब्युरो सदस्य भएको बताउँछन् । त्यसपछि २०५५ देखि ५९ जेठसम्म पश्चिम कमाण्डको सैन्य हेडक्वार्टरको जिम्मा लिएका अनन्तले जनयुद्धको पहिलो आक्रमण होलेरीको कमाण्डिङ हुँदै घर्तीगाउँ कारबाही, दाङको घोराही व्यारेक आक्रमण, डोल्पाको दुनै, अछामको मंगलसेन, जाजरकोटको लह, रुकुमको महतलगायतका ठूला कारबाहीमा कमाण्डरको भूमिका निर्वाह गरेको बताउँछन् ।

पुन भन्छन्– ‘अध्यक्ष प्रचण्डले दिनुभएको केन्द्रीय तालिममा पनि म नै सहभागी थिएँ । जिल्लाभर पनि मैले तालिम दिएँ । स्वभाविक रुपले म कमाण्डर थिएँ, मैले त्यहाँ पनि कमाण्डरको भूमिका पाएँ । हाम्रो उपराष्ट्रपतिजी सहायक कमाण्डरको रुपमा हामी काम ग¥यौँ । महरा सर कमिसार हुनुभयो । पश्चिम कमाण्डभरिको कारबाहीको नेतृत्व बादलजीले राजनीतिक कमाण्ड गर्नुभएको थियो ।’

जनयुद्धका क्रममा सैन्य संगठनको नेतृत्व, राजनीतिक नेतृत्व अवस्थाले सिकाए अनुसार सबै भूमिका निर्वाहपश्चात २०६३ को शान्ति प्रक्रियामा गठित १३ सदस्यीय सचिवालय सदस्यमा सचिव रहेर उनले काम गरेका हुन् ।

२०६४ को संविधानसभामा ललितपुर १ बाट विजयी भएपछि २०६७ तिर छोटो अवधि शान्ति तथा पुननिर्माण मन्त्री भएको उनी बताउँछन् ।

बाबुराम नेतृत्वको सरकारमा २०६८/६९ मा १८ महिना अर्थमन्त्रीको रुपमा काम गर्ने अवसर प्राप्त गरेका उनले आफ्नो कार्यकालमा २२ प्रतिशतभन्दा बढी राजश्व वृद्धि भएको अनुभव सुनाउँछन् ।

प्रस्तुति : देवी गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *