तुलसीपुर उद्योग वाणिज्य संघ २५औं बर्षमा

  
  प्रकाशित मितिः बिहिबार, पुस ६, २०७४       | 188 Views   ||

दाङ । तुलसीपुर उद्योग वाणिज्य संघ २५ औं बर्षमा प्रवेश गरेको छ । २५ औं बर्ष प्रवेशसँगै संघले भव्यरुपमा रजत महोत्सव समेत मनाएको छ ।

रजत महोत्सवको उद्घाटनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अब मुलुक आर्थिक समृद्धिमा अघि बढ्ने बताएकी थिइन् । मुलुकले करिब ७ दशक राजनीतिक आन्दोलनमा बिताउँदा आर्थिक समृद्धि नभएको भन्दै राणाले अब मुलुकले स्थायी सरकार पाउने अपेक्षा गर्दै आर्थिक समृद्धिले मुलुकको मुहार फेर्ने आशा व्यक्त गरिन् ।

‘पछिल्लो एक दशकको सशत्र द्वन्द र पछिल्लो समयमा देखिएको स्थायी सरकारको अभावका कारण हामी व्यवसायीहरु धेरै मारमा परेका थियौं, तर अब संघीय संविधान कार्यान्वयनको अन्तिम संघारमा छ, अब हामीले मुलुकलाई आर्थिक रुपमा समृद्ध गराउन आवश्यक छ’– राणाले भनिन् ।

अब आम व्यवसायीहरुलाई भयरहित वातावरणमा व्यवसाय गर्ने वातावरणको व्यवस्थापन गर्न पनि उनले आग्रह गरिन् । दलहरुले घोषणापत्रका मुलुकको आर्थिक बिकासका योजनाहरु अघि सारेको भन्दै नयाँ सरकार निर्माणसँगै त्यसलाई कार्यान्वयन गर्ने समयसीमा र स्पष्ट खाका प्रस्तुत गर्न आग्रह गरिन् ।

मुलुकको बिकासका लागि कृषि, पर्यटन र जलविद्युतको विकास गर्नुपर्नेमा जोड दिदै राणाले त्यसका लागि सहकार्य गर्न निजी क्षेत्र तयार रहेको बताइन् । मुलु्कमा ३ तहको निर्वाचन भएकोमा निजी क्षेत्र धेरै आशावादी रहेको भन्दै अध्यक्ष राणाले अब मुलुकमा स्थिर सरकार बन्ने बताइन् । स्थिर सरकारमार्फत् मुलुकमा देखिएको व्यापार घाटाको अन्त्यका लागि स्वदेशी उत्पादनमा जोड दिनुपर्नेमा उनको जोड थियो ।

देश संघीयतामा गएसँगै अब जनतालाई पायक पर्ने ठाउँमा राजधानी तोक्नुपर्नेमा उनको जोड थियो । उनले प्रदेश नम्बर ५ को राजधानी राख्नका लागि सबै हिसाबले उपयुक्त स्थान दाङ रहेको बताइन् ।

सो अवसरमा बोल्दै बिशिष्ट अतिथि दाङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले अब देशमा बिकासका लहरहरु आउने बताए । भर्खरै सम्पन्न भएको निर्वाचनमा जनताले बाम गठबन्धनलाई बिकास र समृद्धिका लागि भोट दिएको भन्दै अब आफूहरुको ध्यान त्यसमै केन्द्रित रहने बताए ।

केसीले दाङ जिल्लाको बिकासका लागि दाङ उपत्यकामा चार लेनको रिङ रोड बनाउने र माडीको पानी ग्वारखोलामा ल्याई ५० मेगावाट विद्युत उत्पादन र दाङको सिचाइ गर्ने मुख्य एजेण्डा रहेको स्पष्ट पारे ।

त्यस्तै अर्का बिशिष्ट अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा राजनीतिक उद्देश्य पूरा भएको भन्दै अबको उद्देश्य आर्थिक समृद्धि रहेको बताए । सो अवसरमा दाङ क्षेत्र नं ३ (२) का प्रदेश सभा सदस्य उत्तरकुमार वलीले अब निजी क्षेत्रको सहकार्यमा मुलुकलाई आर्थिक विकासमा अगाडि बढाउनु पर्ने बताए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावत (विरु)को अध्यक्षता एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरु धु्रवराज श्रेष्ठ (भारी), निरक केसी, कृष्ण शर्मा, कृष्ण श्रेष्ठ, किशोर आचार्यलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, शान्ति समाजका केन्द्रीय सचिव सुशील वस्नेत, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, पूर्वअध्यक्ष गणेश प्रेम श्रेष्ठ, आजीवन सदस्य नरेशराज राजभण्डारी लगायतले बोल्नुभएको थियो ।

तुलसीपुर उद्योग वाणिज्य संघको बृहत्तर विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै गोरक्ष दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल र राप्ती सामाचार दैनिकका सम्पादक बसन्त विवश आचार्यलाई पुरस्कृत एवं सम्मान गरिएको थियो ।

बन्द सत्रले यस क्षेत्रको व्यावसायिक सुरक्षा, व्यवसायीहरुका समस्या र दाङलाई प्रादेशिक राजधानी घोषणा गर्न माग गर्ने निर्णय गरेको संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *