दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो स्थापनाकालको २५ औं वर्ष प्रवेशका अवसरमा विशेष समारोहका बीच रजत महोत्सव मनाएको छ । मंगलबार घोराहीमा आयोजित रजत महोत्सवमा पत्रकारिता क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्व र प्रतिभाहरुलाई सम्मान एवं पुरस्कृत गरिएको छ । पुस १ गतेदेखि विभिन्न कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाउँदै आएको महासंघले पुस ४ गते औपचारिक कार्यक्रमका २५औं स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।
स्थापना दिवसका अवसरमा बोल्दै पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष एवं प्रेस काउन्सिलका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले पत्रकारिताको निरन्तर विकासका लागि आजको पत्रकारिताको आत्म समीक्षा गर्दै अघि बढ्नुपर्ने बेला आएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि शर्माले पत्रकार संख्यात्मक हिसाबले बढ्दै गए पनि अब गुणात्मक विकासको खाँचो रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले अब पत्रकारको कलम आर्थिक समृद्धिका लागि चल्नुपर्ने बताउनुभयो । ग्रामीण पत्रकारिता अबको आवश्यकता रहेको भन्दै विशिष्ट अतिथि डाँगीले त्यसतर्फ ध्यान केन्द्रित गर्न सम्पूर्ण पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै, विशिष्ट अतिथि पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले प्रेसलाई अंकुश लगाउने काम कुनै पक्षबाट हुन नदिन सबैले खबरदारी गर्नुपर्ने धारणा राख्नु भएको थियो । अबको पत्रकारिता आर्थिक समृद्धिमा केन्द्रित रहनुपर्ने भन्दै महासंघका सचिव जीएमले न्युनतम पारिश्रमिक कार्यान्वयन गर्नका लागि पत्रकार महासंघ अगाडि बढेको कुरा बताउनु भयो ।
पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, सल्लाहकार दुर्गालाल केसी, नागरिक समाजका संयोजक टीकाराम रेग्मी, पुरस्कृत व्यक्तित्व सुर्दशन रिजाल, लक्ष्मी आचार्य, माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य नारायणी शर्मा, एमालेका शुरामणि बेल्वासे, काँग्रेसका सचिव शंकर डाँगी, प्रेस चौतारीका अध्यक्ष टीका बस्नेत, प्रेस सेन्टरका उपाध्यक्ष प्रकाश चौधरी, प्रेस युनियनका अध्यक्ष सुशील बस्नेत, प्रगतिशील पत्रकार संघका महेश रिजाल, संकल्प महिला सञ्चार संघका उपाध्यक्ष बसुन्धरा गौतम, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोतम खनाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
महासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सहसचिव गोकर्ण पौडेल र शर्मिला डिसीले गर्नुभएको थियो ।
१८ जना पुरस्कृत
महासंघले रजत महोत्सवको अवसरमा १८ जना पत्रकारलाई पुरस्कृत गरेको छ । त्यस्तै, जिल्लाका ३ वटा रेडियो र एउटा पत्रिकालाई सम्मान गरिएको छ ।
जसअनुसार यस बर्षको पत्रकारिता प्रतिभा पुरस्कार महासंघका सल्लाहकार एवं निवर्तमान अध्यक्ष सुदीप गौतम र केन्द्रीय सभासद् लक्ष्मी आचार्यलाई प्रदान गरिएको छ । त्यस्तै बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार नयाँ युगबोधका जे.एन. सागरलाई, सिर्जनशील महिला पत्रकारिता पुरस्कार पार्वती बस्नेत तथा पत्रकारिता प्रोत्साहन पुरस्कार अञ्जना चौधरी र गिरिराज नेपालीलाई प्रदान गरिएको छ ।
त्यसैगरी कवि–गोकुल पत्रकारिता प्रतिभा पुरस्कार टीका बस्नेतलाई, खगराज लोहनी पत्रकारिता पुरस्कार दिवाकर पोख्रेललाई, टीका–देवी विकास पत्रकारिता पुरस्कार रोशनमान श्रेष्ठलाई, नारायणप्रसाद शर्मा पत्रकारिता पुरस्कार सन्तोष दहितलाई र रोशन स्मृति पत्रकारिता पुरस्कार सुशीला वलीलाई प्रदान गरिएको छ ।
त्यस्तै, पं. लीलाकान्त मरहठ्ठा पत्रकारिता पुरस्कार टीकाराम उदासीलाई, विष्णु–भुपेन्द्रश्वर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार उदय बिसीलाई, उमा–चन्द्र–गीता रजौरे स्मृति पत्रकारिता पुरस्कार रञ्जिता शर्मालाई, यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार सुदर्शन रिजाललाई प्रदान गरिएको छ ।
त्यस्तै ओमप्रकाश शर्मा स्मृति पत्रकारिता पुरस्कार किरण विक्रम शाहलाई, जितेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कार बालाराम खड्कालाई र दुर्गा–टीका स्मृति पत्रकारिता पुरस्कार प्रकाश चौधरीलाई प्रदान गरिएको छ ।
पुरस्कृत सञ्चारकर्मीहरुलाई प्रमुख अतिथि नारायणप्रसाद शर्मा, विशिष्ट अतिथि उदय जीएम र अध्यक्ष सविन प्रियासनले प्रदान गर्नुभएको थियो । साथै सो अवसरमा दुर्गा–टीका स्मृति पत्रकारिता पुरस्कारका संस्थापक शीतलराज रावतलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।