महासंघको नेतृत्वले सबैखाले पत्रकारहरुको मनोविज्ञान समेटेर अघि बढ्नुपर्छ

  
  प्रकाशित मितिः बिहिबार, पुस ६, २०७४       | 157 Views   ||

सविन प्रियासन (अध्यक्ष),
नेपाल पत्रकार महासंघ दाङ शाखा

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन दाङको पत्रकारिता निकै फराकिलो भएकाले यसको बिकासका लागि सबै क्षेत्रबाट उचित पहल हुनुपर्ने बताउनुहुन्छ । पत्रकार महासंघको नेतृत्वले जिल्लामा रहेका सबैखाले पत्रकारहरुको मनोविज्ञानलाई समेटेर अघि बढ्नुपर्ने उहाँको भनाई छ । पत्रकार महासंघको रजत महोत्सव, महासंघका काम, श्रमजीवी पत्रकार ऐनलगायतका विषयमा केन्द्रित भएर नौलो जनउभार साप्ताहिकका सह–सम्पादक पाण्डव शर्माले गरेको कुराकानी । –सम्पादक

नेपाल पत्रकार महासंघ दाङले रजत महोत्सव मनाएको छ । आजको दिनसम्म आउँदा दाङको पत्रकारिता कुन चरणमा प्रवेश गरेको छ ?

हो हामीले पत्रकार महासंघ दाङ शाखाको रजत महोत्सव विभिन्न कार्यक्रम गरेर मनाएका छौं । हामीले महासंघको रजत महोत्सवको अवसरमा पुस १ र २ गते दाङको क्षेत्र नं. १ र ३ मा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित जनप्रतिनिधिहरुसँग देउखुरी र तुलसीपुरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेर जिल्लाको समृद्धि र विकासका सन्दर्भमा गहन अन्तरक्रिया ग¥यौं भने पुस ३ गते रक्तदान तथा ४ गते विशेष समारोहका बीच शुभकामना आदान–प्रदान, पुरस्कार वितरण र सम्मान कार्यक्रम गरेर रजत महोत्सव मनाएका छौं ।

मेरो नेतृत्व भएको बेला रजत महोत्सव मनाउन पाउँदा मलाई निकै खुसी लागेको छ । दाङको पत्रकारिता मोफसलमै उत्कृष्ट भएको कुरा सबै क्षेत्रको निष्कर्ष रहेको छ । अहिले हामी यहाँको पत्रकारितालाई कसरी सुदृढ, व्यवस्थित र मर्यादित बनाउन सकिन्छ भनेर लागेका छौं ।
दाङको पत्रकारिताको विकासलाई हेर्ने हो भने यसले मुलुककै नेतृत्व प्रदान गर्न सक्छ भन्न सक्छौं । अहिले पत्रकार महासंघका केन्द्रिय अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र सचिव दाङकै हुनुहुन्छ । अहिले नेपालको पत्रकारिताको नेतृत्व दाङले नै गरेको छ ।

अर्को कुरा, दाङमा पछिल्लो समय सञ्चार माध्यमको विकास तीब्र गतिमा भइरहेको छ । स्थापनाकालमा झोलामा सञ्चालन भएको पत्रकार महासंघ अहिले भव्य भवनमा छ । यसको जस हाम्रा अग्रजहरुको पहलकदमी नै प्रमुख हो । सूचना प्रविधिको विकाससँगै अबको पत्रकारिता पनि नयाँ ढंगले अगाडि बढ्छ । विगतमा दाङ वा समग्र मुलुकको राजनीतिक एजेण्डा नै सञ्चार माध्यामका मुख्य विषय हुन्थे ।

अब मुलुकको संक्रमणको अन्त्यसँगै समृद्धिको दिशामा अघि बढेको छ । समृद्ध मुलुकको लागि समृद्ध मिडिया आवश्यक छ । सञ्चारमाध्यामको भौतिक संरचनाको विकासले मात्र यहाँको पत्रकारिता ठिक ढंगले अगाडि बढ्न सक्दैन । त्यसका लागि हामीले दक्ष जनशक्ति उत्पादनतर्फ ध्यान दिनुपर्छ । र त्यसका लागि पत्रकार महासंघले उचित पहल गरिरहेको छ ।

पत्रकार महासंघका अबका कार्यक्रम के हुन् ?

हामी भौतिक रुपमा धेरै सम्पन्न भइसकेका छौं । केही भौतिक पूर्वाधार निर्माणमा भने ध्यान दिनैपर्नेछ । हामीले यहाँका सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि काम गर्नुपर्ने छ । त्यसैगरी साना लगानीका मिडियाहरुको प्रवद्र्धनको लागि हामीले राज्यसँग उचित पहल गर्ने छौं । सञ्चारकर्मीहरुलाई खोज पत्रकारितामा प्रेरित गर्नका लागि पत्रकार महासंघ दाङ शाखाले विभिन्न फलोसीपका कार्यक्रमहरु ल्याउने छ ।

अहिले दाङको पत्रकारिता निकै फराकिलो भइसकेको छ । सदरमुकाम घोराही केन्द्रित पत्रकारिता अहिले जिल्लाव्यापी विकेन्द्रित भइरहेको छ । २/४ जना व्यक्तिहरुले शुरु गर्नुभएको पत्रकारिता अहिले विशाल भइसकेको छ । सयौं पत्रकारहरु सदस्य रहेको ठूलो परिवार भइसकेको छ पत्रकार महासंघ दाङ शाखा । अहिले पनि हामीले पत्रकार महासंघलाई २५ बर्ष अगाडिकै आँखाले हेर्नु हुँदैन ।

विशेषतः २०६२/६३ को जनआन्दोलनपछि दाङमा तीब्र रुपमा सञ्चार माध्यम खुलेका छन् । एक दशकभन्दा पहिलेसम्म पनि पत्रकार महासंघको परिवार सानो थियो । त्यतिबेला सबै सञ्चारकर्मीहरु बीच प्रत्यक्ष चिनजान हुन्थ्यो । तर,अहिले सबैले सबैलाई चिन्न सक्ने अवस्था छैन । यो स्वाभाविक पनि हो ।

पत्रकार महासंघमा तपाई दुईपटक सचिव, एकपटक सल्लाहकार हुनुभयो । अहिले अध्यक्ष भएर काम गरिरहनुभएको छ । तपाईलाई यहाँका पत्रकारहरुको समस्या र मनोविज्ञान राम्रोसँग थाहा छ । दाङको पत्रकारितालाई व्यवस्थित गर्नका लागि कुन क्षेत्रबाट के पहल हुन जरुरी छ ?

हो, मैले पत्रकार महासंघको नेतृत्वदायी भूमिकामा रहेर करिब १० वर्ष काम गर्ने मौका पाएँ । पछिल्लो तीन वर्ष सल्लाहकार भए पनि म पत्रकार महासंघको हरेक गतिविधिमा सरिक भएँ । मलाई यहाँको पत्रकारिताको समस्या र पत्रकारहरुको मनोविज्ञानको बारेमा राम्रोसँग थाहा छ । यहाँ विशेषतः तीन÷चार पुस्ताको पत्रकारहरु हुनुहुन्छ ।

एउटा स्थापनाकालका पत्रकारहरु, अर्को २०६२/६३ सालभन्दा अगाडिदेखि पत्रकारिता शुरु गर्नुभएका साथीहरु हुनुहुन्छ । त्यस्तै जनआन्दोलनपछि पत्रकारिता शुरु गरेका पत्रकारहरुको संख्या निकै धेरै छ । अर्को पुस्ता पछिल्लो दुई÷तीन बर्षदेखि पत्रकारितामा आएको छ । क्षमता र बुझाइका हिसाबले सबैका आ–आफ्ना मनोविज्ञानहरु छन् । ती सबैखाले मनोविज्ञानलाई समेटेर पत्रकार महासंघलाई अगाडि बढाउनु नै अहिलेको प्रमुख चुनौती हो ।

अब हामी कसैले पनि पत्रकार महासंघ भनेको हाम्रो बुझाई र हाम्रो पेरिफेरिको जमात मात्रै हो भनेर बुझ्नु हुँदैन । पत्रकार महासंघमा आवद्ध भइसकेपछि सबै एउटै परिवार हो । परिवारमा सबैको हक, अधिकार बराबर भएजस्तै पत्रकार महासंघमा पनि सबै सदस्यहरुको बराबर स्वामित्व हुन्छ । यसलाई हामीले सही ढंगले बुझ्न सकेनौं भने गलत दिशामा जान्छौं । त्यही भएर हामीले अहिले अग्रजदेखि नयाँ पुस्तालाई समेटेर अघि बढिरहेका छौं ।

अहिले पत्रकार महासंघ दाङको नेतृत्व युवा पुस्तामा आएको छ । यो इतिहासको आवश्यकता पनि हो । यसलाई सबै तह र तप्काले स्वीकार गर्नुपर्ने परिस्थिति आएको छ । यसलाई पनि हामीले राम्रै उपलब्धि मानेका छौं । यस क्षेत्रको पत्रकारिताको विकासका लागि राज्य, सञ्चार माध्यम र स्वयम् पत्रकारहरुको भूमिका महत्वपूर्ण हुन्छ ।

केही अग्रज पत्रकारहरु तपाईहरुसँग त्यति धेरै सन्तुष्ट हुनुहुन्न भन्ने सुनिन्छ । तपाई अध्यक्ष भएर सबैलाई समेट्न किन नसक्नुभएको ?

लोकतन्त्रमा विचार राख्ने स्वतन्त्रता सबैलाई हुन्छ । पत्रकार महासंघमा पनि धेरैखाले मनोविज्ञान भएकाले धेरै धारणा आउनु स्वाभाविक हो । नेतृत्वले गर्ने भनेको सबैखाले मनोविज्ञानहरुलाई सही ढंगले समेटेर अघि बढ्ने नै हो । हामी पत्रकार महासंघमा निर्वाचनको माध्यामबाट आएका हौं । निर्वाचनमा हामीलाई दुई तिहाइभन्दा बढी सदस्य पत्रकार साथीहरुले निर्वाचित गर्नुभएको हो । त्यसैले हामी निर्वाचनको म्याण्डेटअनुसार अघि बढिरहेका छौं । हामी सबैखाले पुस्तालाई समेटेर अघि बढिरहेका छौं । अग्रजलाई सम्मान गरेका छौं । नयाँ पुस्तालाई प्रोत्साहन गरेका छौं । यसमा कोहि असन्तुष्ट हुनुपर्ने कारण छ जस्तो मलाई लाग्दैन ।

पत्रकार महासंघ सबैको साझा भएको कुरा अग्रज मित्रहरुले पनि स्वीकार गर्नैपर्छ । लोकतन्त्रमा निर्वाचनको म्याण्डेटलाई स्वीकार गर्नैपर्छ । आम पत्रकारहरुको चाहना विपरित कसैले पत्रकार महासंघलाई आफ्नो ढंगले चलाउन खोज्छ भने त्यो गलत हो । हामीले अग्रजहरुबाट सुझाव, सल्लाह लिन्छौं । उहाँहरुले सल्लाह र सुझाव दिने हो हस्तक्षेप गर्ने होइन ।

अग्रज मित्रहरुले पत्रकारहरुले निर्वाचनमा देखाएको अभिमतलाई स्वीकार गर्ने हो भने कुनै समस्या आउँदैन । यस्ता साझा संस्थाहरुमा सधैं आफूले चाहेजस्तो नहुन सक्छ । दुई कार्यकाल पहिले नै म अध्यक्षको दौडमा थिएँ । अघिल्लो कार्यकालमा अध्यक्षमा उम्मेदवारी दिएर म पराजित भएको थिएँ । तरपत्रकार महासंघको विकासका लागि निरन्तर अविचलित भएर लागिरहें । आफू नेतृत्वमा नगए पनि पत्रकार महासंघ व्यवस्थित हुनुपर्छ भन्ने मेरो धारणा रहिरह्यो । त्यसको फलस्वरुप मलाई सबै सञ्चार संगठनहरुले साझा उम्मेदवारको रुपमा स्वीकार गरे । त्यसैले आफू भए सबै ठिक आफू नभए सबै बेठिक भन्ने धारणा हामी सबैले हटाउनै पर्छ ।

तपाई अध्यक्षको उम्मेदवार बन्दा श्रमजीवी पत्रकारहरुको अधिकारका लागि लड्छु भन्नुभएको थियो । काम त केही गर्न सक्नु भएन नि ?

पत्रकार महासंघमा हामी नेतृत्वमा पुगेको एक बर्ष भयो । यस अवधिमा हामीले यहाँ बाँकी रहेको भौतिक पूर्वाधार निर्माणको काममा ध्यान दियौं । अहिले हामी सबै श्रमजीवी पत्रकार ऐन कसरी लागु गर्न सकिन्छ भनेर आन्तरिक गृहकार्यमा लागेका छौं । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन पत्रकार महासंघको प्रमुख एजेण्डा नै हो । हामी हाम्रो कार्यकालमा यो एजेण्डा कार्यान्वयनका लागि उचित पहल गर्ने छौं । केही समयभित्रै हामीले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि चरणबद्ध कार्यक्रमहरु ल्याउने छौं ।

र, अन्त्यमा केही भन्नु छ कि ?

म पत्रकार महासंघको रजत जयन्तीको अवसरमा सम्पूर्ण सञ्चारकर्मी तथा दङाली सञ्चार माध्यामहरुलाई हार्दिक बधाई अनि शुभकामना व्यक्त गर्न चाहन्छु । अनि यस क्षेत्रको पत्रकारिताको विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्न अपील पनि गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *