राजनीतिक गतिरोध केही दिनमै अन्त्य हुन्छ- महरा

  
  प्रकाशित मितिः बिहिबार, पुस ६, २०७४       | 144 Views   ||

शरद रेग्मी

दाङ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले राष्ट्रिय सभा गठन विधेयक राजनीतिक सहमतिबाट टुङ्गो लाग्ने बताउनुभएको छ । राष्ट्रपतिसमक्ष सरकारले पेश गरेको विधेयक केही दिनमा नै टुङ्गो लाग्ने र राजनीतिले नयाँ मोड लिने उहाँको विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अबको केही दिनभित्रमा नयाँ सरकार गठनको प्रकृयादेखि विभिन्न राजनीतिक मुद्दाहरुको छिनोफानो हुनेसमेत बताउनुभयो । बुधबार तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको काम पनि सँग सँगै अगाडि बढेको बताउनुभयो । ‘अब निर्वाचन पनि सकिएको छ, समानुपातिकको पनि अन्तिम मतपरिणाम आइसकेको छ, अब राजनीतिले नयाँ मोड लिनेछ,’ महराले भन्नुभयो, ‘सहमतिको विकल्प छैन, हामी सबै मिलेर देशको विकास गर्ने हो ।

उपप्रधानमन्त्रीसमेत रहनुभएका महराले राजनीतिक दलहरुबीच एकता र सहकार्यले मात्र देशमा आर्थिक समृद्धि र विकासले गति लिने बताउनुभयो । नेपाली जनताको चाहना देशमा समृद्धि र विकास रहेको भन्दै उहाँले अब विकासमा स्थायित्व आवश्यक रहेको बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य महराले प्रदेश नं. ५ को राजधानी दाङ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘प्रदेश नम्बर ५ को राजधानी दाङ हुन्छ यदि त्यो भएन भने अर्को प्रदेश थपेर भए पनि राजधानी बन्छ–बन्छ तपाईहरु ढुक्क हुनुहोस् ।’ उहाँले दाङको भालुबाङ्ग होस् वा हापुरे जहाँ भए पनि राजधानी दाङमा हुने बताउनुभयो ।

उहाँले तुलसीपुरमा रहेको एयरपोर्टको समेत निरीक्षण गर्नुभएको थियो । एयरपोर्टको निरीक्षणपछि पत्रकारहरुसँग कुरा गर्दै महराले अहिलेकै संरचनामा हप्तामा दुइवटा उडान जसरी भए पनि सञ्चालन गर्न आफूले पहल थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो– तपाईहरु ढुक्क हुनुहोस् यो विमानस्थलमा अब केही दिनमा जहाज आउँछ, त्यसको पहलमा लागेका छौं ।’ त्यसैगरी उहाँले दाङको समग्र विकासका लागि आफुले विगतमा जस्तै पहल गरिराखेको समेत बताउनुभयो ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रमका निर्वतमान अध्यक्ष विमल रिजालले दाङ प्रादेशिक राजधानी, एयरपोर्ट सञ्चालन र इन्धन डिपो स्थापनाका लागि यस क्षेत्रका जनताले उपप्रधानमन्त्री महरासँग धेरै अपेक्षा र आशा राखेको भन्दै तत्काल पहलका लागि निरन्त्रता दिन आग्रह गर्नुभयो ।

कार्यक्रमको सहजीकरण उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार एवं रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *