दाङ । नेकपा माओवादी केन्द्रका नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महराले मुलुक समृद्धितर्फ अघि बढ्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ दाङ शाखाले शनिबार दाङको घोराहीमा आयोजना गरेको जनप्रतिनिधिहरुलाई स्वागत सम्मान कार्यक्रममा बोल्दै नेता महराले यस्तो बताउनुभएको हो ।
राष्ट्रिय राजनीतिले बिस्तारै दिशा पकड्न थालेको भन्दै नेता महराले राष्ट्रिय मान्यताप्राप्त पाँच दलको बैठकले यसको संकेत गरेको बताउनुभयो । ‘हिजो पाँच दलको बैठकबाट प्रारम्भिक छलफल शुरु भएको छ,’ उहाँले भन्नुभयो, ‘सरकार बन्ने कुरा र राजनीतिक धु्रवीकरण प्रक्रिया लगायत सबै कुरा सहमतिबाटै अघि बढ्छ ।’
देश संविधानसम्मत ढंगले अघि बढ्ने बताउँदै उहाँले देश अब राजनीतिक संक्रमणबाट समृद्धितर्फ अघि बढ्ने बताउनुभयो । संविधान निर्माण महत्वपूर्ण उपलब्धि भएको बताउँदै उहाँले त्यसको कार्यान्वयन गर्नु राजनीतिक दल, पत्रकार सबैको साझा दायित्व बन्नुपर्ने बताउनुभयो ।
दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महराले राजनीतिक हिसाबले अब दाङ आफ्नो कार्यक्षेत्र भएकाले दाङलाई कसरी समृद्ध बनाउन सकिन्छ ? दाङको भविष्यलाई कसरी उज्ज्वल बनाउने सबैको सल्लाह सुझाव आवश्यक रहेको बताउनुभयो । दाङको समृद्धलाई सम्भव तुल्याउन सबैको सहयोग हुनेमा आफू विश्वस्त रहेको महराले बताउनुभयो ।
सो अवसरमा दाङ क्षेत्र नं. २ प्रदेश सभा १ बाट निर्वाचित प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले पत्रकारहरु पत्रकारहरु राजनीतिक व्यक्तित्वका लागि कम्पास र ऐना भएको बताउनुभयो ।
‘तपाई पत्रकारहरु राजनीतिक व्यक्तित्वहरुको ऐना हो, उहाँले भन्नुभयो, ‘हाम्रो अनुहार कस्तो छ ? कहीँ धब्बा लागेको छ कि ? कहीँ दाग पो छ कि त्यो तपाईहरुले लेख रचना र समाचारमार्फत् देखाइदिनुपर्छ ।’
नेताहरुलाई सही बाटोमा हिडाउन पत्रकारहरुको खबरदारी र सचेतना जरुरी रहने बताउँदै डाँगीले पत्रकारहरुलाई कम्पाससँग पनि तुलना गर्नुभयो ।
गौतम र श्रेष्ठलाई पुरस्कार प्रदान
पत्रकार महासंघ दाङ शाखाको रजत महोत्सवको अवसरमा विविध कारणले अनुपस्थित पत्रकारिता प्रतिभा पुरस्कारबाट पुरस्कृत महासंघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार सुदीप गौतम र टीका–देवी विकास पत्रकारिताबाट पुरस्कृत पत्रकार रोशनमान श्रेष्ठलाई कार्यक्रममा पुरस्कार प्रदान गरिएको थियो । प्रमुख अतिथि महरा, विशिष्ट अतिथि डाँगी र अध्यक्ष सविन प्रियासनले पुरस्कृत गौतम र श्रेष्ठलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
रेडियो प्रकृतिलाई सहयोग रकम हस्तान्तरण
सोही अवसरमा तुलसीपुरबाट सञ्चालन हुँदै आइरहेको रेडियो प्रकृतिलाई एफएमलाई नेपाल पत्रकार महासंघ दाङले सहयोग रकम हस्तान्तरण गरेको छ । गत साउनमा चट्याङबाट क्षतिग्रस्त भएको रेडियोलाई महासंघ दाङले १० हजार रुपैयाँ सहयोग रकम प्रदान गरेको हो ।
महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव गोकर्ण पौडेलले गर्नुभएको थियो भने नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष डिल्ली मल्लले स्वागत गर्नुभएको थियो ।