दाङमा देशभरिकै उत्कृष्ट पूर्वाधार भएको अध्ययन टोलीको निष्कर्ष

  
  प्रकाशित मितिः शनिबार, पुस ८, २०७४       | 510 Views   ||

गणेश ओली

दाङमा आएको राजधानी पूर्वाधार अनुगमन समितिको टोली । फोटो : जेएन सागर

दाङ । प्रदेशको केन्द्र बन्न सक्ने सम्भावित स्थानहरुमा पूर्वाधार अध्ययन गरिरहेको सरकारी टोलीले दाङमा देशभरमै उत्कृष्ट पूर्वाधार भएको जनाएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक एवं राजधानी पूर्वाधार अनुगमन समितिले बुधबार र बिहीबार लमही र घोराहीका विभिन्न स्थानका सरकारी भवन तथा स्थलहरुको अध्ययन गरेको थियो ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक सुरेश प्रधान नेतृत्वको टोलीले जिल्लाको पूर्वाधारको अध्ययन गरेर दाङमा प्रदेश राजधानी राख्नका लागि सबै पूर्वाधारहरु पर्याप्त रहेको निष्कर्षसहित शुक्रबार नै प्रधानमन्त्रीको कार्यालयमा सिफारिस गरेको छ ।

दाङको बेलझुण्डीस्थित संस्कृत विश्वविद्यालयको भवन । तस्बिर : केशरमान बिसी

प्रदेश प्रमुखको कार्यालय घोराही, सबै मन्त्रालय बिजौरी

बेलझुण्डीमा रहेको भवन दाङका लागि सबैभन्दा उपयुक्त पूर्वाधार भएको सो समितिको निष्कर्ष रहेको छ । १ सय ८ कोठा रहेको सो भवनमा प्रदेशका सबै मन्त्रालय, प्रदेश सभाहल, सभामुख, उपसभामुखको कार्यालय राख्नका लागि सरकारलाई सिफारिस गरिएको समितिका सदस्य सचिव राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

यसैगरी घोराहीस्थित जिल्ला प्राविधिकको कार्यालय, सहकारी, पशुसेवा, शिक्षा, वन, हुलाक, कृषि विकास बैंक क्षेत्रीय कार्यालयको गेष्टहाउसलाई मन्त्री, सचिव, सभामुख, उपसभामुखको निवासको रुपमा सिफारिस गरिएको पनि उनले बताए ।

यसैगरी जिल्ला समन्वय समितिको कार्यालयमा प्रदेश प्रमुखको कार्यालय सिफारिस गरिएको छ । सात वटा मन्त्रालय, मुख्यमन्त्री, सभामुख, उपसभामुख, राज्यपालको कार्यालय र प्रदेश सभाका लागि हल र मुख्य सचिव र सचिवहरुको कार्यालय र निवासका लागि सम्भाव्यता अध्ययन गर्ने टोलीलाई जिम्मेवारी दिइएको थियो ।

दाङको घोराहीस्थित कृषि विकास बैंकको भवन । तस्बिर केशरमान बिसी

देशभरकै उत्कृष्ट पूर्वाधार

टोलीले दाङमा देशभरिमै उत्कृष्ट पूर्वाधार रहेको जनाएको छ । संसद तथा मन्त्रालय बस्नका लागि बेलझुण्डीमा रहेको आयुर्वेद भवन सिंहदरबारपछिको नेपालकै उत्कृष्ट भवन भएको पाण्डेको भनाई छ । ५ नं. प्रदेश वा देशका अरु प्रदेशमा पनि यस्तो राम्रो पूर्वाधार नभएको उनले बताए ।

सो भवन मात्र हैन मन्त्री निवासका लागि सिफारिस गरिएका भवनहरु पनि प्रशस्त रहेको टोलीको प्रतिवेदनमा उल्लेख छ । हाल सिफारिस गरिएका बाहेक पनि थप पूर्वाधारहरु जिल्लामा रहेका छन् । पाण्डेले भने, ‘पूर्वाधारका कारणले दाङमा राजधानी हुँदैन कि भन्ने हैन यहाँ प्रशस्त पूर्वाधार छन् ।’

खर्चका हिसाबले पनि कम

प्रदेशको केन्द्र दाङ तोकिएपछि तत्काल कार्यालय सञ्चालन गर्न सजिलो र सस्तो हुने पनि टोलीले जनाएको छ । ‘सबै कार्यालयहरु चालु अवस्थामा छन्, सानोतिनो रंगरोगनबाहेक खासै मर्मत गर्नुपर्ने छैन, भवन डिभिजन कार्यालयका प्रमुखसमेत रहेका पाण्डेले भने, ‘एकदमै कम खर्चमा तत्कालै कार्यालयहरु सञ्चालन गर्न सकिन्छ अनि खर्चका हिसाबले पनि दाङमा सस्तो पर्न आउँछ ।’

यति कम खर्चमा यति राम्रा पूर्वाधार ५ नंं प्रदेशमा कतै पनि पाउन नसकिने टोलीले जनाएको छ ।

सुरक्षाका हिसाबले पनि राम्रो

बाह्य र आन्तरिक सुरक्षाको हिसाबले पनि दाङ राम्रो रहेको टोलीको निष्कर्ष छ । प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखहरु समेत सदस्य रहेको टोलीले यस्तो निष्कर्ष प्रस्तुत गरेको हो ।

यसैगरी दाङमा मन्त्रालय, प्रदेश सभा हल र निवासका लागि सिफारिस गरेका ठाउँ पनि सुरक्षित रहेको प्रतिवेदनमा उल्लेख छ । ‘सबै भवनहरु कम्पाउन्डले घेरिएका छन, सुरक्षाकर्मी राख्न र अन्य सुरक्षाका हिसावले पनि यहाँ अब्बल मानिएको छ, सुरक्षा निकायको सिफारिसबारे उनले भने, ‘धेरै भवनहरु अग्ला कम्पाउन्ड गरिएका छन्, थोरैमा अलिकति कम्पाउन्ड अग्लो बनाउनुपर्ने छ र प्रहरी पोष्ट राख्नका लागि पनि प्रशस्त ठाउँ छ ।’ बिजौरीमा सुरक्षाकर्मी बस्नका लागि केही प्रिफ्याव भवनहरु राखे पुग्ने पनि सिफारिसमा उल्लेख छ ।

दाङको घोराहीस्थित कृषि विकास बैंकको भवन । तस्बिर केशरमान बिसी

स्थायी मुकामका लागि पनि दाङ नै उपयुक्त

अस्थायी मुकामका लागि मात्र हैन स्थायी मुकाम बनाउन पनि दाङ उपयुक्त रहेको टोलीले जनाएको छ । ‘अन्य जिल्लाको तुलनामा दाङमा प्रशस्तै खाली जमिन रहेकाले स्थायी राजधानी बनाउनका लागि दीर्घकालीन संरचना बनाउन दाङमै राम्रो हुन्छ,’ टोलीका एक सदस्यले भने, ‘रुपन्देही वा अन्य ठाउँमा यति धेरै जमिन एकै ठाउँमा पाउन गाह्रो छ । सरकारलाई जमिन किनेर भौतिक पुर्वाधार बनाउनुभन्दा जमिन भएको ठाउँमा नै पूर्वाधार बनाउन आर्थिक हिसाबले पनि सजिलो हुन्छ ।’

लमहीमा भने तत्कालका लागि भौतिक पूर्वाधर नभए पनि दीर्घकालका लागि राम्रो भएको टोलीले जनाएको छ । लमहीको रातोडाँडामा ३ विघा र भूमिगत जल सिचाई कार्यालय रहेको स्थानमा ८ विघा जमिन रहेकाले स्थाायी संरचना बनाउन सो स्थान उपयुक्त हुन सक्ने टोलीको निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *