गाउँ–गाउँमा महरा : विकास, रोजगारी र राजधानीको माग

  
  प्रकाशित मितिः आइतवार, पुस ९, २०७४       | 264 Views   ||

गणेश ओली

दाङ । दाङ क्षेत्र नम्बर २ बाट बिजयी उपप्रधानमन्त्री कृष्णबहादुर महराले चुनावपछि मतदातालाई धन्यवाद दिन विभिन्न गाउँमा पुगेर घरदैलो तथा जनभेटघाट अभियान जारी राखेका छन् ।

घरदैलोमा जनताले महरालाई चुनावका बेला प्रतिबद्धता जनाएको दाङलाई प्रदेशको राजधानी बनाउन र विकासका लागि गरेका वाचा पूरा गर्न माग गरेका छन् । सो अवसरमा महराले पनि जनताको माग सम्बोधन गर्ने बताइरहन्छन् । दैनिक यस्तो हुने गरेको छ महरा र जनताको संवाद :

गाउँको माग विकास र रोजगारी

गाउँ–गाउँमा पुगेका महरालाई सर्वसाधारण जनताले आफ्नो गाउँ ठाउँको विकास र रोजगारीको सृजना गरि बेरोजगारीको अन्त्य गर्न माग गरेका छन् ।

गाउँघरमा नभएका बाटो, कुलो, तारजाली, धारापानीजस्ता विकास गरिदिन र भएका ठाउँमा स्तरोन्नति गरिदिन माग गर्ने गरेको महरासँगै रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल महरा łएटम’ले बताए ।

यसैगरी गाउँमा रोजगारी सृजना हुने खालका कार्यक्रम माग गर्नुका साथै सन्तानको लागि रोजगारी दिलाइदिने जस्ता माग अत्यधिक राख्ने गरेको उनले बताए । गाउँमा विकास निर्माण, समृद्धिजस्ता कुरा जनताको प्राथमिकतामा छन्, त्यही अत्यधिक माग रहेको छ,’ उनले भने, गाउँमा रोजगार सृजना गर्ने खालका कार्यक्रम ल्याउन र रोजगारीमा लगाइदिनुपर्ने माग पनि उत्तिकै छ ।’

जनताको प्रश्नको उत्तर दिदै महराले पनि आफू पहिलेदेखि नै दाङको विकास र समृद्धिका लागि काम गरिरहेको र सधैंभरि गरिरहने प्रतिबद्धता जनाउँदै आएका छन् । यसैगरी उनले गाउँमा हुने विकास र समृद्धिले रोजगारीको सृजना गर्ने भन्दै रोजगारमुलक कार्यक्रममार्फत् युवाहरुलाई स्वरोजगार बनाउने आफ्नो कर्तव्य भएको जनतालाई जवाफ दिन्छन् ।

राजधानीको माग पनि उस्तै

पाँच नम्बर प्रदेशको राजधानी दाङ बनाउन अत्यधिक माग रहेको महराको चुनावी क्षेत्रका संयोजक माओवादी केन्द्र दाङका सहइन्चार्ज हेमराज शर्मा ‘डायमण्ड’ले बताए । गाउँमा होस् वा सहरमा जहाँ गए पनि प्रमुख माग राजधानी रहेको उनको भनाई छ ।

अस्थायी मुकाम तत्कालका लागि दाङ तोक्न सरकारमा रहेर पहल गर्न र विकास र समृद्धिसँगै प्रदेशको केन्द्र सधैंका लागि बनाउन भूमिका खेलिदिन पनि मतदाताहरुको आग्रह छ, डायमण्डले भने, łनिर्वाचनका बेला राजधानी प्रमुख एजेन्डाका रुपमा उठाएकाले पनि जनताको तर्फबाट ठूलो प्रेसर छ ।’

नेपाल सरकारका उपप्रधानमन्त्रीसमेत रहेका महराले यसका लागि आफूले पूरै पहल गर्ने हरेक कार्यक्रममा बताउँदै आएका छन् । यहाँको भूगोल, वातावरण, भौतिक पूर्वाधार, सुरक्षा सबै हिसाबले दाङ उपयुक्त भएकोले यहाँ नै राजधानी हुने उनको तर्क छ । यसैगरी मुख्यमन्त्री पनि दाङले नै पाउने महराको दावी छ ।

वामपन्थी र प्रगतिशील शक्तिबीच एकता

यसैगरी गाउँमा पुगेका महरालाई एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ताको अर्को प्रश्न हुने गरेको छ, łवाम एकता कहिलेसम्म हुन्छ र कसरी हुन्छ ?’

गाउँ गाउँमा पुग्दा एमाले र माओवादीका कार्यकर्ता मात्र हैन जनताको पनि वाम एकता हुन्छ कि हुँदैन भन्ने जिज्ञासा देखिन्छ । łवाम एकता छिटो होस् र कहिले र कसरी हुन्छ भन्ने जनताको चासो र चिन्ता देखिन्छ, एटमले माओवादी वरिष्ठ नेता महरासँग जनताको अर्को मुख्य प्रश्नबारे भने, łचुनावी तालमेल मात्र हैन, छिटो वाम एकता होस् र वामपन्थीकै बहुमतको सरकार बनेर दिगो र स्थायी सरकार बनोस् भन्ने जनताको चिन्ता छ ।’

सो सवालमा महराले एमाले र माओवादी केन्द्रको एकताको लागि शीर्ष नेताहरु बीचमा कुरा भइरहेको र एकता संयोजन समिति पनि बनिसकेकाले छिट्टै एकता हुने जवाफ दिने गरेका छन् । उनले वामपन्थी मात्र हैन वामपन्थी, प्रगतिशील शक्तिबीच एकता हुने र यसमा आफू पूरै लाग्ने जवाफ दिइरहेका छन् । स्थायी सरकार, विकास, समृद्धि, सुशासन र राष्ट्रियताका लागि वामपन्थी र प्रगतिशीलबीचको एकता जरुरी रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *