अब नयाँ सरकार कहिले बन्छ ?

  
  प्रकाशित मितिः शुक्रबार, पुस १४, २०७४       | 336 Views   ||

राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि एउटा राजनीतिक गतिरोध हल भएको छ । योसँगै अब नयाँ सरकार गठन कहिले हुन्छ भन्ने चासो शुरु भएको छ ।

अध्यादेश प्रमाणीकरण गर्ने वा फिर्ता पठाउने भन्ने विषयमा सत्तारुढ काँग्रेस र एमालेबीच विवाद थियो । अन्तिम समयमा आएर एमाले आफ्नो अडानबाट पछाडि हटेपछि राष्ट्रपतिले लामो समयदेखि रोकेर राखेको अध्यादेश शुक्रबार मात्रै प्रमाणीकरण गरेकी हुन् ।

अध्यादेश प्रमाणीकरणसँगै राष्ट्रिय सभाको चुनाव र सरकार गठनको बाटो खुलेको छ । तर, सरकार गठनका लागि निर्वाचन आयोगले पहिला समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक गर्नुपर्ने हुन्छ ।

संवैधानिक व्यवस्था के छ ?

– संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने उल्लेख छ ।

– तर, निर्वाचन आयोगले अझै समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक गरेको छैन । यसकारण अध्यादेश प्रमाणीकरण भएपनि सरकार गठनको ३५ दिन शुरु हुन आयोगले समानुपातिक तर्फको नजिता घोषणा गर्नुपर्छ ।

– आयोग प्रदेश सभाको समानुपातिक तर्फको नतिजा भने गतसाता नै सार्वजनिक गरेको थियो । प्रदेश सभा सरकार गठनको व्यवस्था पनि प्रतिनिधिसभाको जस्तै गरिएको छ ।

प्रधानमन्त्री कसरी चुन्ने ?

– संविधानमा प्रतिनिधिसभामा कुनै एक दलले बहुमत प्राप्त गरे सो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुन्छन् । त्यस्तै, कुनै पनि दलको बहुमत नआएको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने नेता प्रधानमन्त्री बन्ने व्यवस्था संविधानमा छ ।

– संविधानको धारा ७६ को उपधारा ९९०मा ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्का सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्नेछ’ भन्ने उल्लेख छ ।

– संविधानमा राष्ट्रिय सभाका सदस्यलाई पनि मन्त्री बनाउन सकिने व्यवस्था छ । तर, १५ माघभित्र राष्ट्रिय सभा गठन हुने सम्भावना छैन ।

प्रदेश सरकार गठन कहिले ?

– संविधानको धारा १६८ मा प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आएको मितिले ३५ दिनभित्र प्रदेशको मुख्यमन्त्री निर्वाचित गरिसक्नुपर्ने व्यवस्था गरेको छ । प्रदेश सभामा पनि केन्द्रमा जस्तै कुनै एक दलले बहुमत ल्याएमा सोही दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्नेछन् ।

– कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको बहुमत प्राप्त गर्ने प्रदेश सभाको सदस्य मुख्यमन्त्री बन्ने उल्लेख छ ।

– प्रदेश सरकारको मन्त्रिपरिषद् प्रदेश सभाका कुल सदस्य संख्याको २० प्रतिशत नबढ्ने गरी गठन गर्नुपर्ने व्यवस्था संविधानमा छ । सातवटै प्रदेशमा गरी जम्मा ५५० जना प्रदेश सभा सदस्य हुनेछन् । २० प्रतिशत सदस्य मन्त्री हुन पाएमा सात प्रदेशमा ११० जना मन्त्री हुनेछन् । तर, प्रदेशअनुसार सांसदको संख्या तलमाथि हुने भएकोले मन्त्रीको संख्या पनि थोरै वा धेरै हुनेछ ।

गैरसांसद पनि ६ महिना मन्त्री !

– संविधानले ६ महिनासम्मका लागि गैरसांसद पनि मन्त्री बन्न सक्ने व्यवस्था गरेको छ । संविधानको धारा ७८ को उपधारा (१) मा ‘राष्ट्रपतिले प्रधानमन्त्रीको संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ’ भन्ने उल्लेख छ । तर, मन्त्रीमा शपथ लिएको व्यक्तिले ६ महिनाभित्र संघीय संसद्को सदस्य बन्नुपर्ने उल्लेख छ ।

– ६ महिनाभित्र ऊ सांसद बन्न नसके त्यो प्रतिनिधिसभाको कार्यकालभर मन्त्री बन्न नपाउने व्यवस्था संविधानमा छ । तर, प्रतिनिधिसभामा उम्मेदवार बनेर पराजित भएका व्यक्ति भने गैरसांसद व्यक्तिका रूपमा मन्त्री हुन नसक्ने व्यवस्था संविधानले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *