सामाजिक रुपान्तरणमा स्तम्भकारहरुको भूमिका

  
  प्रकाशित मितिः शनिबार, पुस १५, २०७४       | 359 Views   ||

१. विषय आरम्भ

समाजविज्ञानका अनेक विषयक्षेत्रहरु छन् । तीमध्ये एउटा विषयक्षेत्र हो पत्रकारिता । पत्रकारिताका पनि विविध आयामहरु छन् । यसलाई मूलतः छापा र विद्युतीय गरी दुई भागमा विभाजन गर्न सकिन्छ । विद्युतीयभित्र पनि रेडियो, टेलिभिजन र अनलाइनजस्ता भेदहरु रहेका छन् भने छापा माध्यमका पनि विविध रुपहरु छन् । छापालाई समयावधिका हिसाबले दैनिक, अर्धसाप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, त्रैमासिक आदि अनेक रुपमा वर्गीकरण गर्न सकिन्छ ।

टीकाराम उदासी

त्यसो त सङ्कुचित अर्थमा आज पनि पत्रकारिता भन्नाले समाचारमूलक क्रियाकलापमा संलग्न रहनुुको अर्थमा मात्र बुझ्ने गरिएको पाइन्छ, तर विस्तृत अर्थमा पत्रकारिताको वहुआयामिक भूमिका र अर्थको विस्तृति निकै टाढाटाढासम्म पनि फैलिन पुगेको सन्दर्भ यहाँ उल्लेख गरिरहनु नपर्ला ।

यस परिप्रेक्ष्यमा स्तम्भ लेखक वा स्तम्भकारहरु पनि पत्रकारिता जगत्कै बौद्धिक जनशक्तिहरु हुन् र उनीहरुले गरिरहेको कर्म पनि पत्रकारिताकै एउटा महत्वपूर्ण भाग हो । आज पत्रकारिताका विभिन्न आयाम र त्यसमा संलग्न जनशक्तिहरुको सामाजिक रुपान्तरणमा के कस्तो प्रकृतिको भूमिका रहन्छ भन्ने बारेमा सार्थक विमर्शको आवश्यकता खट्किरहेको छ । यस सन्दर्भमा यहाँ स्तम्भकारहरुले समाज रुपान्तरणका क्षेत्रमा खेलिरहेका वा खेल्नसक्ने वहुविध भूमिकाहरुका बारेमा चर्चा गर्नु एउटा सान्दर्भिक प्रयास हो ।

२. के हो स्तम्भ लेखन र को हुन् स्तम्भकारहरु ?

प्रेस काउन्सिल, नेपालले पत्रकारलाई ‘छापा, विद्युतीय तथा अनलाइनजस्ता कुनै पनि प्रकृतिका सञ्चार माध्यय वा समाचारमूलक कार्यक्रम उत्पादन, वितरण गर्ने एजेन्सी वा संस्थामा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन र सम्पे्रषणजस्ता कार्यमा आबद्ध प्रधान सम्पादक, सम्पादक, सम्पादक मण्डलका सदस्य, संवाददाता, स्तम्भ लेखक, स्वतन्त्र पत्रकार, फोटो पत्रकार, प्रेस क्यामरापर्सन, व्यङ्गय चित्रकार, कार्यक्रम निर्माता तथा सञ्चालक, साजसज्जा दृश्य तथा भाषा सम्पादकजस्ता पत्रकारितामूलक कार्यसँग सम्बन्धित सञ्चारकर्मीलाई जनाउँछ’ भनेर परिभाषा गरेको छ । यसरी प्रेस काउन्सिल नेपालको पत्रकारसम्बन्धी अवधारणालाई प्रमाण मान्दा स्तम्भकार भनेको पनि पत्रकारिता कर्ममै संलग्न पत्रकार नै हो भन्ने स्पष्ट बुझिन्छ ।

हाल नेपाल पत्रकार महासङ्घभित्र नेपालमा कार्यरत १० हजार ७७ श्रमजीवी पत्रकार रहेका छन् भने करिब १ हजारको हाराहारीमा अरु पत्रकारहरु महासंङ्घ बाहिरै रहेर क्रियाशील छन् । त्यसैगरी २०७२ चैत्र मसान्तसम्ममा सूचना विभागको आंँकडा हेर्दा ३ सय ४७ दैनिक पत्रिकाहरु देशभर सञ्चालनमा रहेका देखिन्छन् । त्यस्तै १ हजार २ सय ४१ साप्ताहिक र ८० वटा पाक्षिक पत्रिका दर्ता भएका छन् । यस्तै ३ सय ७३ वटा मासिक पत्रिका छन् भने द्वैमासिक ५४ र त्रैमासिक ७३ वटा दर्ता भई सञ्चालनमा रहेका देखिन्छन् । नेपालमा हाल ३१ वटा टेलिभिजन, ३८० वटा एफएम रेडियो र २ सय ९२ वटा अनलाइन पत्रिका दर्ता भएर सञ्चालनमा रहेका छन् । यसले पनि नेपाली पत्रकारिताको वहुआयामिक स्वरुपलाई स्पष्ट पार्दछ ।

सन्दर्भित विषयको चर्चा गर्नुअघि स्तम्भ लेखन भनेको के हो र स्तम्भकारहरु को हुन् भन्ने मुख्य दुई प्रश्नहरुको जबाफ खोज्नु सान्दर्भिक देखिन्छ किनभने यी दुई शब्दको अर्थबोध नगरीकन चर्चाका लागि उठान गरिएको विषयमाथिको विमर्शले सही गोरेटो फेला पार्न सक्तैन । सर्वप्रथम स्तम्भ लेखनका बारेमा केही चर्चा गरौँ ।

स्तम्भ लेखन भनेको कुनै निश्चित दिनको कुनै पत्रिकाको निश्चित पृष्ठमा अथवा कुनै पत्रिकाको हरेक अङ्कको निश्चित पृष्ठमा समाजका अनेक विधामध्ये कुनै निश्चित विधालाई मुख्य आधार बनाई लेखिने लेख-आलेख वा टिप्पणी हो । विषय र प्रस्तुतिका आधारमा यसका पनि अनेक प्रकारहरु हुनसक्छन्, जस्तोः विचारप्रधान वा अनुभूतिप्रधान, जस्तो : वैचारिक, साहित्यिक, साँस्कृतिक, खेलकुद्, पर्यटन, विकास आदिआदि । कुनै पत्रिकामा कहिलेकाही मात्र आफ्ना लेखरचनाहरु प्रकाशित गर्नेहरुलाई स्तम्भकार भन्न सकिदैन । तर कुनै पत्रिकाले नै कुनै विधा वा क्षेत्रविशेषको स्तम्भ राख्ने अनि त्यसमा केही विज्ञहरुलाई आलोपालो लेख्न लगाउने काम गर्छ भने तिनीहरुलाई चाँहि स्तम्भकार मान्न सकिन्छ ।

माथि नै उल्लेख गरियो कि स्तम्भ लेखन एउटा अत्यन्त जिम्मेवारपूर्ण र विषयगत लेखन हो । स्तम्भ लेखनका लागि कुनै निश्चित विषय वा विधामा विशेषज्ञताको आवश्यकता पर्दछ । कसैलाई खेलकुद्सम्बन्धी स्तम्भ लेख्नुछ भने उसले खेलकुदसम्बन्धी विशेष चासो र ज्ञान दुबै राख्नु आवश्यक छ । कसैलाई राजनीतिक घटनाक्रम वा सामयिक राजनीतिको आरोहअवरोहमाथि स्तम्भ लेख्नुछ भने उसमा पनि राजनीतिशास्त्र र समकालीन राजनीतिक स्थितिका बारेमा विशेष ज्ञान चाहिन्छ नै ।

यस्तै, कसैले पर्यटनका बारेमा स्तम्भ लेख्नु छ भने अवश्य उसलाई पर्यटन विधा र त्यसका आयामहरुबारे विशेष जानकारी आववश्यक हुन्छ । कसैले संस्कृतिबारे स्तम्भ लेख्नुछ भने उसलाई संस्कृतिका बारेमा थोरवहुत ज्ञान अनिवार्य हुन्छ । कसैले विकास र निर्माणबारे स्तम्भ लेख्छ भने उसलाई विकासको अवधारणा, विकासका सिद्धान्त, प्रक्रिया र लक्ष्यबारेमा पनि केही न केही ज्ञान हुनु आवश्यक नै छ ।

यसैगरी कसैले कलासाहित्यबारे स्तम्भ लेख्ला, कसैले चलचित्रबारे स्तम्भ लेख्ला, कसैले धर्मका बारेमा स्तम्भ लेख्ला, कसैले स्वास्थ्य क्षेत्रका बारेमा स्तम्भ लेख्दा, कसैले जनजाति, दलित वा महिलाहरुबारे स्तम्भ लेख्ला, कसैले यीबाहेक समाजका अन्य विषयक्षेत्रका बारेमा पनि स्तम्भ लेख्ला, उसलाई अवश्य नै आफ्नो विषयक्षेत्रका बारेमा आम मानिसहरुको भन्दा अलि बढी जानकारी वा विशेष ज्ञानको जरुरत पर्दछ । यसकारण स्तम्भ लेखन भनेको जे मन लाग्यो त्यही कुरा लेख्नु अवश्य होइन । समाज र जीवनका विशेष चर्चायोग्य सन्दर्भहरुमाथि आफ्नो विषयगत ज्ञान, सन्दर्भित विचार वा सार्थक अनुभूति प्रस्तुत गर्नु हो, जसले जोकोही पाठकहरुमा विचार निर्माण गर्न र ज्ञानको विस्तारमा समेत विशेष सहयोग पु¥याउन सकोस् ।

३. दाङको स्तम्भ लेखनबारे केही चियोचर्चा

नेपाली पत्रकारिताको इतिहासले झण्डै सवा एक सय वर्षको यात्रा पूरा गरेको छ । पहिले नै साहित्यिक पत्रिकाहरु गोरखा भारत जीवन र सुधासागरको प्रकाशनबाट नेपाली पत्रिका प्रकाशनको यात्रा प्रारम्भ भइसकेको पृष्ठभूमिमा गोर्खापत्रको प्रकाशन (१९५८) बाट नेपालमा अखबारी पत्रकारिताको शुरु भएको हो । त्यसपछि नेपालभित्र र बाहिरबाट पनि अनेक नामका साहित्यिक पत्रिका र समाचारमूलक पत्रिकाहरु प्रकाशित हुँदै आइरहेका देखिन्छन् ।

यस परिप्रेक्ष्यमा स्तम्भ लेखनको आरम्भ कुन मितिमा कुन पत्रिकामार्पmत प्रारम्भ भएको थियो भन्ने कुरा आधिकारिक रुपमा अहिलेसम्म कतैबाट सार्वजनिक भएको पाइँदैन, तापनि नेपालका पुराना लेखक, बौद्धिक समुदाय र पाठकहरु भने इतिहासका विभिन्न कालखण्डमा केही पत्रिकाका स्तम्भहरुले पारेको प्रभावका बारेमा अनभिज्ञ अवश्य छैनन् । बीस तीस वर्षयताकै कुरा गर्ने हो भने पनि नेपाली समाजमा डा.बाबुराम भट्राईको बेलाबखतका कुरा, खगेन्द्र सङ्ग्रौलाको बेलाको बोली, कान्तिपुर साप्ताहिकमा किशोर नेपालले लेख्ने कान्तिपुरगाथा, मधुपर्क मासिकमा बादेपाले लेख्ने नमेटिने डोबहरु, हिमाल पाक्षिकमा डा.तीर्थबहादुर श्रेष्ठले लेख्ने पर्यटन सम्बन्धी स्तम्भ, भैरव रिसालले श्रमिक साप्ताहिकमा लेख्ने स्तम्भ आदि केही गतिला उदाहरणहरु हुन् ।

दाङमा नयाँ युगबोध दैनिक, गणतन्त्र दैनिक, राप्ती पोष्ट दैनिक, गोरक्ष दैनिक, राप्ती समाचार दैनिक, नौलो जनउभार साप्ताहिक, लौव अग्रासन साप्ताहिक, साक्षी खबर पत्रिका साप्ताहिक प्रकाशित भइरहेका छन् । अन्तध्र्वनि त्रैमासिक, लावा डगर त्रैमासिकजस्ता साहित्यिक पत्रिकाहरु पनि यस क्षेत्रबाट प्रकाशित भइरहेका छन् । यी पत्रिकाहरुमा धेरैले स्तम्भहरु लेखिरहेका छन् यद्यपि ती स्तम्भहरुमध्ये थोरै मात्र नियमित रहेका देखिन्छन् ।

दाङमै पत्रकारिताको इतिहासको यात्रामा स्तम्भ लेखनको पनि एउटा लामो परम्परा रहँदै आइरहेको देखिन्छ । सम्भवतः पत्रकार सुशील गौतम नै दाङका जेठा स्तम्भकार हुन् । उनले २०३३ सालदेखि प्रकाशित भएको नयाँ युगबोधको पहिलो अङ्कबाटै हाम्रो विश्व भन्ने स्तम्भ लेखेका हुन् । पछि उनले लामो समयसम्म नयाँ युगबोधमा नै बेलाको बोली स्तम्भ पनि लेखेको देखिन्छ । उनले नै केही समय अन्तर्मनको यात्रा नामक स्तम्भ पनि लेखेका हुन् ।

कुनै समय नयाँ युगबोधमै नारायणप्रसाद शर्माको फर्केर हेर्दा स्तम्भको आफ्नै पहिचान स्थापित भएको थियो । यस्तै नयाँ युगबोधमा अमर गिरीको अनुभव र अनुभूति, उनकै राजनीतिक स्तम्भ, उत्तमकृष्ण मजगैयाँको दृष्टिकोण साप्ताहिकमा बसिवियाँलो नामक व्यङ्ग्यपरक स्तम्भ, नयाँ युगबोधमा डिल्लीराज आचार्यको बटौलीको डोको, उदय जीएमको अचेल, टीकाराम उदासीको अक्षरयात्रा, डिल्लीबहादुर रावतको जीवन र जगत, धनीराम शर्माको पर्यटनसम्बनी स्तम्भ, के.बि.मसालको पर्यटनसम्बन्धी, जितबहादुर शाहको परिवर्तनका लागि भन्ने शिक्षासम्बन्धी, डा. प्रकाश बुढाथोकीको स्वास्थ्यसम्बन्धी, शरद ऋतुको गाँउघर साप्ताहिकमा व्यङग्यपरक स्तम्भ ट्वाक्क र युगवोधमा विकाससम्बन्धी सेरोफेरो अनि राप्ती पोस्ट दैनिकमा भाइबहिनीरुसँग स्तम्भ, पद्मप्रसाद शर्माको पहिले गणतन्त्रमा पछि राप्ती पोष्ट दैनिकमा घामछाँया स्तम्भ यस क्षेत्रका केही प्रतिनिधि स्तम्भ लेखनका नमुनाहरु हुन् ।

यसैगरी विविध समयमा नयाँ युगबोध दैनिकमा सर्जन गौतम, निर्मल गौतम, माधवप्रसाद दाहाल, सुमन घिमिरे, विष्णुप्रभात दाहाल, वसन्त विवश आचार्य, मधुसूदन सुबेदी, देवराज बि.क., नीमबहादुर थापा, महेश चौधरी, भरत दाहाल, मुकुन्द बी.सी., युवराज शर्मा, छबिलाल कोपिला, नरेन्द्र के.सी., के.एल.पीडित, नारायणप्रसाद भण्डारी, गोविन्द खड्का लालमणि पौडेल, हरिप्रसाद पाण्डेय आदि धेरैले नियमित वा अनियमित स्तम्भहरु लेखिरहृेका छन् ।

यस्तै गणतन्त्र दैनिकमा नारायणप्रसाद श्रेष्ठ, चन्द्रराज पन्त, डिल्ली बस्नेत सङ्गीत, भूपेन्द्र सुबेदी, अम्बिकाप्रसाद डाँगी आदिले स्तम्भहरु लेखेका छन् । गोरक्ष दैनिकमा गुरुप्रसाद रेग्मी रतन, विनोद पोख्रेल, विपुल पोखरेल, यादव गिरी, सुभाष न्यौपाने, कृष्णप्रसाद सुबेदी आदिले पनि स्तम्भहरु लेखिरहेका छन् । यसैगरी राप्ती पोष्ट दैनिकमा शरद देवकोटाले पनि नियमित स्तम्भ लेखिरहेका छन् ।

यस्तै जनउभार साप्ताहिकमा हिरामणि दुःखी, अजयदीप शर्मा, गणेश ओली, हुकुम बुढाथोकी, सविन पोखरेल, सुबास पुन आदिले पनि विभिन्न स्तम्भहरु लेखेको देखिन्छ भने राप्ती सन्देशमा आदिम के.सी.ले पनि केही समय साहित्यिक स्तम्भ लेखेका थिए ।

पत्रकारिता भनेको दैनन्दिनका समाचारहरुको संयोजन र सम्प्रेषण गर्ने काम मात्रै नभएर सकारात्मक र नकारात्मक दुबै प्रकृतिका समाचार सामग्रीहरुको विश्लेषण गर्ने साथै समाजलाई सही दिशाबोध गर्नका लागि समाचारका वहुविध प्रभावहरुबारे आम मानिसहरुलाई सचेत बनाउने काम पनि हो । यस्तै समाजका विभिन्न क्षेत्रहरुबारे सही जानकारी गराउँदै पाठकहरुको वैचारिक र आत्मिक उन्नतिमा टेवा पु¥याउनु पनि पत्रकारिताको कार्यभार हो । यस सन्दर्भमा निश्चय नै स्तम्भकारहरुको भूमिका बलशाली हुन्छ ।

४. सामाजिक रुपान्तरणमा स्तम्भकारहरुको भूमिका

सामाजिक रुपान्तरण एउटा वहुआयामिक सन्दर्भ हो । कुनै पनि समाजमा रुपान्तरण समयसापेक्ष रुपमा निरन्तर चलिरहने प्रक्रिया हो । स्तम्भ लेखन एउटा बौद्धिक र सामाजिक कर्म भएकाले समाजमा अन्य लेखकसाहित्यकारहरुले खेल्ने भूमिका र उनीहरुको भूमिका उस्तै उस्तै नै हो । फरक के मात्रै हो भने अन्य लेखक साहित्यकारहरुका सिर्जनाहरु प्रकाशित भएर पाठकसमक्ष पुग्न अलि बढी समय लाग्ने पनि हुनसक्न्छ भने स्तम्भ लेखकहरु सामयिक प्रकाशनको पहुँचमा हुने भएकाले सापेक्षिक रुपमा उनीहरु आफ्ना विचारहरुमार्फत् पाठकहरुमाझ चाँडो पुग्ने गर्दछन् । साथै समसामयिक विषयवस्तु र सन्दर्भहरुमाथि नै उनीहरुको बढी ध्यान जाने भएका कारण समाजलाई उनीहरुले समयमै सचेत बनाउन सहयो गरिरहेका हुुन्छन् ।

स्तम्भ लेखकहरुले आफ्ना विचारमार्फत समाजलाई सही दिशाबोध गराउनुका साथै समाजको भविष्यका बारेमा पनि आफ्ना विचारहरु प्रस्तुत गरिहेका हुन्छन् । उनीहरुको विचार र विश्लेषणबाट समाज कतातिर गइरहेको छ वा जानसक्छ भन्ने कुराको जानकारी पनि पाठकहरुले प्राप्त गर्नसक्छन् ।

निश्चय नै स्तम्भकारहरुको भूमिका वहुआयामिक छ । यसका बारेमा विभिन्न व्यक्तिहरुका आआफ्ना धारणाहरु हुनसक्छन् । तीमध्ये अधिकांशका धारणाहरुलाई समेटेर समाजमा स्तम्भकारहरुले खेल्ने भूमिकाहरुलाई निम्न बुँदाहरुमा सङ्क्षेपमा चर्चा गर्न सकिन्छ :

४.१. समाजको वास्तविक अवस्थाको चित्रण गर्ने :

रुचि, विधा र विज्ञताका दृष्टिले स्तम्भकारहरुले उठान गर्ने विषयहरुमा भिन्नता हुनसक्छ तर ती सबै लेखनले समाजकै विभिन्न आयामहरुलाई प्रस्तुत गरिरहेका हुन्छन् । कलासाहित्य, राजनीति, संस्कृति, खेलकुद्, समसामियक घटनाक्रम, अन्तर्राष्ट्रिय परिवेश आदि जुन विषयमा कलम चलाएको भए पनि उनीहरुको विचारले आफ्नो समय र समाजको वास्तविक स्थितिकै बारेमा प्रकाश पार्ने काम गरिरहेका हुन्छन् । यसैले समाजको वास्तविक अवस्थाको चित्रण गरी पाठकहरुमा समाजप्रतिको दृष्टिकोण निर्माण गर्नमा स्तम्भकारहरुले प्रत्यक्ष सहयोग गरिरहेका हुन्छन् ।

४.२. समाज रुपान्तरणको लागि जनमत सिर्जना गर्ने :

स्तम्भकारहरुले आफ्ना लेखन वा विश्लेषणहरुका माध्यमबाट पाठकसमाजमा समाज रुपान्तरणको आवश्यकता बोध गराउनुका साथै त्यसका लागि आवश्यक पर्ने जनमत सिर्जना गर्ने काममा पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन् । समाज रुपान्तरण भनेको समाजलाई अज्ञानताको अँध्यारो गुफाबाट उज्यालो क्षितिजतर्फ, अन्धविश्वास र परम्परागत चिन्तनको साँघुरो गल्लीबाट वस्तुवादी चेतना र विज्ञानको फराकिलो दुनियाँतर्फ अभिमुखीकरण गर्ने काम हो । साथै हरेक क्षेत्रमा विद्यमान विकृति, अव्यवस्था र विसङ्गतिहरुलाई निराकरण गरी समाजलाई समुन्नत र सभ्य बनाउने प्रयत्न पनि हो । यसका लागि निश्चय नै सशक्त र हस्तक्षेपकारी जनमतको आवश्यकता पर्दछ । त्यसको निर्माणमा स्तम्भकारहरुले विभिन्न प्रकारले भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

४.३. समाज रुपान्तरणका लागि विभिन्न विमर्शहरु चलाउने :

समाज रुपान्तरण हुनुपर्छ भन्ने आवश्यकताको बोध हुँदाहुँदै पनि के कसरी गर्न सकिन्छ भन्ने बारेमा आम मानिसहरुलाई थाहा नहुन पनि सक्छ । साथै रुपान्तरका विधि र प्रक्रियाका बारेमा समाजका सबै मानिस जानकार नहुन पनि सक्छन् । यसैगरी समाजका कुन कुन विधा र क्षेत्रमा यसको आवश्यकता छ भन्ने बारेमा पनि सबैलाई जानकारी नहुन सकछ । यस स्थितिमा स्तम्भकारहरुले आफ्ना लेखनीमार्फत समाजका विभिन्न जल्दाबल्दा समस्या र स्थितिका बारेमा वहस वा विमर्शहरु अगाडि सार्ने गर्दछन् । त्यसले समाजका बौद्धिक र सामान्य पाठकहरुलाई समेत स्थितिबोध गराउँछ । यो पनि स्तम्भकारको महत्वपूर्ण भूमिकाभित्र पर्दछ ।

४.४. राज्यका विभिन्न अंगहरुले गर्ने कामकारबाहीबारे वाचडगको भूमिका निर्वाह गर्ने :

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जस्ता राज्यका प्रमुख तीन अङ्गहरुले गर्ने कामकारवाही देशको मूल कानुनका रुपमा रहेको संविधान र त्यसैअनुसार बनेका विभिन्न ऐन, निमम, विनियमहरुले नै निर्धारण गरेको आधारमा हुनुपर्दछ । संविधानवादको मूल सिद्धान्त नै यही हो । राज्यले त्यसअनुसार काम गरेको छ कि छैन ? राज्यप्रति जनताको धारणा के कस्तो प्रकृतिको छ ? राज्यका कामकारवाहीबारे जनताको अभिमत वा गुनासाहरु के कस्ता रहेका छन् ? राज्य जनताप्रति कत्तिको जिम्मेवार छ वा छैन ? जस्ता प्रश्नहरुको उत्तर खोज्ने काम पनि स्तम्भकारहरुले गरिरहेका हुन्छन् । यसले राज्यलाई आफ्ना गल्तीहरु समयमै सच्याउन र अझै जनताप्रति उत्तरदायी बन्नका लागि सहयोग पुराइरहेको हुन्छ । यसैले राज्यका गतिविधिबारे वाचडगको भूमिका खेल्नु पनि स्तम्भकारहरुको भूमिका हो ।

४.५. आवाजहीनहरुको आवाज बुलन्द गराउने :

समाजमा सबै मानिसहरु उत्तिकै सक्षम र जानकार हुन्छन् भन्ने छैन, समाजको मूल प्रवाहमा पुग्ने क्षमता र पहुँच सबैसँग हुँदैन । साथै राज्यले संविधानमा अधिकारहरुको व्यवस्था गरेको भए पनि व्यवहारमा सबै जनताले संविधानप्रदत्त अधिकारहरु प्राप्त गरेका छन् भन्ने पनि हुँदैन । समाजमा बलिया र टाठाबाठा केही मानिसहरुले राज्यबाट पाउनु पर्ने सेवा, सहयोग र सुविधाहरु प्राप्त गरिरहेका तर आम गरिब र विपन्न वर्गहरु त्यसबाट बञ्चित पनि भइरहेका देखिन्छन् । साथै निमुखा जनतामाथि अनेकौ अन्याय, विभेद र उत्पीडनहरु पनि भइरहेका हुनसक्छन् । यस सन्दर्भमा स्तम्भकारहरुले त्यस्ता विषयहरु उठान गरिदिएर राज्य र समाजका सबै वर्गलाई जबाफदेही बनाउन र आवाजहीनहरुका आवाजहरुलाई मुखरित गर्नमा पनि सहयोग पुर्याउन सक्छन् । यसैले यो पनि स्तम्भकारहरुले खेल्ने निकै महत्पूर्ण भूमिकाका रुपमा रहन्छ ।

४.६. विश्वको इतिहास र वर्तमानमा भएका गतिविधिबारे जानकारी गराउने :

आजको विश्वज्ञान र प्रविधिको क्षेत्र झन्झन् फराकिलो बन्दै गइरहेको छ । यस अवस्थामा कुनै पनि समाज वा देश समग्र विश्वका घटनाक्रम र ज्ञानको विस्तारबाट पृथक रहन सक्तैन । आज विश्वको कुनै एक ठाँउमा भएको घटना र गतिविधिको प्रभाव तत्कालै अर्को ठाँउमा परी नै हाल्छ । यस अवस्थामा विश्वका विभिन्न देशहरुको इतिहास र तिनका गतिविधिहरुबारे हामीले समयमै जानकारी प्राप्त गर्नु जरुरी भइसकेको छ । समाजका आम मानिसहरु त्यस्ता ज्ञान र सूचनाको पहँुचमा हुन्छन् भन्ने छैन । साथै श्रम, क्षमता र समयका दृष्टिले पनि एउटै मानिस सबै ज्ञानको विज्ञ हुन पनि असम्भव छ । स्तम्भकारहरुले बौद्धिक समाजका सदस्य भएका कारण आफ्ना लेखनीहरुका माध्यमबाट आम पाठकहरुलाई विश्वका इतिहास र वर्तमानमा भइरहेका गतिविधिहरुबारे जानकारी दिने गरिरहेका हुन्छन् । यो पनि उनीहरुको महत्वपूर्ण भूमिकाभित्र पर्दछ ।

४.७. आलोचनात्मक चेतनाको विस्तार गरेर :

कुनै पनि गतिशील समाजमा राम्रा नराम्रा सबै प्रकृतिका घटनाक्रम वा गतिविधिहरु भइरहेका हुन्छन् । तथ्य, प्रमाण र सापेक्षताका आधारमा समाजमा हुने सबै गतिविधिहरुबारे विश्लेषण तथा टीकाटिप्पणी गर्नु स्तम्भकारहरुको दायित्व हो । यसले समाजलाई सही बाटोतर्फ दिशावोध गराउँछ । अर्काका सबै नराम्रा र आफ्नाका सबै राम्रा भन्ने बौद्धिक तर्क वा मनोविज्ञानबाट मुक्त नभएर समाजको सही प्रतिनिधित्व कुनै पनि लेखकले गर्न सक्तैन । यसमा लेखकको विश्लेषण क्षमता र आलोचनात्मक चेत दुबैको जरुरत पर्दछ । समाजमा आलोचनात्मक चेतनाको विस्तार नगरी कुनै समाजलाई हामीले सही गन्तव्यतर्फ डोर्याउन पनि सक्तैनौँ । इमान्दार र बौद्धिक स्तम्भकारहरुले यो भूमिका निर्वाह गर्न सक्छन् । यो पनि समाजमा स्तम्भकारहरुले खेल्ने महत्पूर्ण भूमिकाभित्र पर्दछ ।

५. निष्कर्ष :

अहिलेसम्म नेपाली स्तम्भकारहरुको इतिहास र भूमिकाबारे आधिकारिक खोजी, गतिलो अध्ययन र गहन चर्चा भएको देखिदैन, यद्यपि समग्र नेपाली पत्रकारिता जगत्मा कतिपय स्तम्भकारहरुको भने आफ्नै मौलिक पहिचान स्थापित छ । यस सन्दर्भमा दाङमा पनि विगत लामै समयदेखि नै स्तम्भ लेखनको यात्रा प्रारम्भ भएको देखिन्छ तर कुनै पनि स्तम्भ लेखनले लामो समयसम्म निरन्तरता पाउन नसकेको हाम्रो कटु अनुभव छ ।

सामाजिक रुपान्तरणमा स्तम्भकारहरुले खेल्ने भूमिकाहरु विभिन्न हुनसक्छन् । तीमध्ये समाजको वास्तविक अवस्थाको चित्रण गर्ने, समाज रुपान्तरणका लागि जनमत सिर्जना गर्ने, समाज रुपान्तरणका लागि विभिन्न विमर्श चलाउने, राज्यका सबै अङ्गहरुलाई जनताप्रति जवाफदेही बनाउनेजस्ता भूमिकाहरु प्रमुख रहेका छन् ।

यस्तै आवाजहीनहरुको आवाज बुलन्द गर्ने, विश्वको इतिहास र वर्तमान गतिविधिबारे जानकारी गराउने तथा समाजमा आलोचनात्मक चेतनाको विस्ता गर्ने जस्ता भूमिकाहरु पनि स्तम्भकारहरुले खेलिरहेका हुन्छन् । यसरी कुनै पत्रिकाको अभिन्न बौद्धिक अङ्गका रुपमा देखापर्ने स्तम्भकारहरुले पत्रकारिताका माध्यमबाट सामाजिक रुपान्तरणमा खेल्ने भूमिका निश्चय नै महत्वपूर्ण रहेको देखिन्छ ।

(नेपाल स्तम्भकार समाज दाङले २०७४ पौष १५ गते शनिवार घोराहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको आधार पत्र )

Leave a Reply

Your email address will not be published. Required fields are marked *