मावि रझेनामा अध्यक्षकै छोरी भर्ना गरेर मन्टेश्वरी चलाउने तयारी

  
  प्रकाशित मितिः सोमवार, पुस १७, २०७४       | 161 Views   ||

‘कुनै बेला यो विद्यालयमा जिल्लामा आउने सबै कार्यालय प्रमुखका छोराछोरी पढ्न आउँथे, उतिबेला ठूलाबडाहरु आफ्ना छोराछोरी विद्यार्थी भर्ना गर्न आउँथे, अहिले पनि ठूलाबडाहरु यो विद्यालयमा भर्ना गर्न त आउँछन् तर पढ्ने विद्यार्थी होइन, काम गर्ने शिक्षक कर्मचारी ।’

मावि रझेनाको ६० औं बार्षिकोत्सवमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवन गौतम यसरी बोलिरहँदा कार्यक्रमका अतिथिहरु निशब्द देखिन्थे । आफूले अध्ययन गरेको यो विद्यालयमा छिमेकमै घर भएका गौतम विगत एक बर्षदेखि यो विद्यालयको अध्यक्ष हुनुहुन्छ ।

सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी भए पनि गुणस्तर सुध्रन सकेको छैन, यो विद्यालय पनि यस्तै अवस्थाबाट गुज्रेको छ ।

विद्यालयसँग ४१ कोठा भएको पक्की भवन छ, शिक्षक कर्मचारी पनि पर्याप्त छन् तर यहाँ पढ्न आउने विद्यार्थी भने कोही पनि हुनेखानेका छोराछोरी छैनन् । त्यसो त मध्यमवर्गले समेत सरकारी विद्यालयमा छोराछोरी भर्ना गर्दैनन् । गरीब किसान मजदूरका छोराछोरीले मात्र धानिएका छन् सामुदायिक विद्यालय, त्यो पनि गुणस्तरीय जनशक्ति उत्पादन गर्न होइन ।

यही पीडाबाट देशभरिका सामुदायिक विद्यालय गुज्रिरहेको बेला मावि रझेनामा यो बर्षदेखि नयाँ अभियान शुरु हुँदैछ । आगामी माघ ८ गतेदेखि विद्यालयमा आकर्षण बढाउन नयाँ कार्यक्रम शुरु हुँदैछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन गौतमले आगामी माघ ८ गतेदेखि मन्टेश्वरी कक्षा सञ्चालन गर्ने घोषणा जानकारी दिनुभयो ।

उहाँले सरकारी विद्यालयको अवस्था सुधार्न आफैबाट शुरुवात गर्नुपर्ने अवस्था आएको भन्दै आफ्नै छोरी भर्ना गरेर मन्टेश्वरी कक्षा शुरुवात गर्ने घोषणा पनि गर्नुभयो । यही विद्यालयमा पढेकाहरु डाक्टर इञ्जिनियर बनेको उल्लेख गर्दै अहिले गरीबका छोराछोरी मात्र पढ्ने विद्यालयको रुपमा सरकारी विद्यालय स्थापित हुनु दुखद भन्दै उहाँले अब सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन नयाँ कार्यक्रम सञ्चालन गर्न थालिएको बताउनुभयो ।

शैक्षिकसत्र २०२८/२९ मा निमावि स्वीकृत पाएको यो विद्यालय २०४२ सालदेखि निजीस्रोतमा मावि तह सञ्चालन हुन थालेको हो । २०५२/०५३ देखि मावि तहको स्थायी स्वीकृति पाएको यो विद्यालयमा २०६४/०६५ देखि कक्षा ११ र १२ सञ्चालन गर्न थालिएको प्रधानाध्यापक उद्धव न्यौपानेले जानकारी दिनुभयो ।

२०७२ देखि विज्ञान संकाय र २०७३ देखि प्राविधिक धारतर्फ डिप्लोमा इन इञ्जिनियरिङ कक्षा सञ्चालन गरेको यस विद्यालयले चालु शैक्षिकसत्रदेखि गरीब, जेहेन्दार र दलितका लागि छात्रावृत्तिको समेत ब्यवस्था गरेको उहाँले बताउनुभयो ।

४१ कोठाको पक्की भवन रहेको यो विद्यालयमा हाल शिशुदेखि कक्षा १२ सम्म १ हजार १ सय १८ र प्राविधिक धारमा ९० विद्यार्थी अध्ययन गरिरहेका छन् ।

सिस्ने अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *