सचेत मतदाता, उत्तरदायी उम्मेदवार

  
  प्रकाशित मितिः सोमवार, पुस १७, २०७४       | 202 Views   ||

पाण्डव शर्मा

घोराही । निर्वाचन सम्पन्न हुनुभन्दा पहिले मत माग्न घरदैलोमा नारायणपुरमा पुगेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्णबहादुर महरालाई एक जना चौधरी महिलाले माला लगाइदिन खोजिन् । महराले तत्काल भने, ‘अहिले नलगाउनुस् पछि चुनाव जितेपछि लगाई दिनुहोला ।’

महराले कुरा नसक्दै ती महिलाको जवाफ आयो, ‘चुनाव जितेपछि तपाईहरु कहिल्यै गाउँ फर्कनु हुन्न त्यसैले अहिले नै माला लगाइदिन्छु ।’

ती महिलाको जवाफले महरालाई निकै भावुक बनायो । उनले हरेक चुनावी कार्यक्रममा ती महिलाले भनेको अभिव्यक्ति स्मरण गरे । चुनाव जितेलगत्तै राष्ट्रिय राजनीतिको विषयमा छलफल गर्न पुगेका उप–प्रधानमन्त्री समेत रहेका महरा केही दिनपछि दाङ फर्के । दाङ फर्केलगत्तै महरा गाउँ गाउँमा मतदातालाई धन्यवाद ज्ञापन गर्न पुगे । उनी आफूलाई विजयी भए पछि फर्कनुहुन्न भन्ने ती महिलाई भेट्न घरमै पुगे अनि आफ्नो गलाको माला झिकेर लगाइदिए । ती महिलाले पनि महरालाई अर्को माला लगाइदिइन् ।

यी महिला एक जना प्रतिनिधि पात्र मात्र हुन् । यस पटकको निर्वाचन विगतमा भन्दा केही फरक अवश्य थियो । गाउँ–गाउँमा जनताले विकासे योजनाहरुको माग गरेका थिए । उम्मेदवारहरुले पनि जनताका सुझावहरुलाई संकलन गरेर लिपिवद्ध गरेका छन् ।

मतदातालाई धन्यवाद दिन मानपुर पुगेका महरालाई स्थानीय शरण चौधरीले चुनाव जितेर नेताहरुले जनतालाई बिर्सन नहुने बताए । उनले जनताको घर नआउने उम्मेदवारलाई अर्को पटकको निर्वाचनमा बहिस्कार समेत गर्ने धारणा व्यक्त गरे ।

हापुरका रमेश नेपालीले सबै उम्मेदवारहरु जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । निर्वाचनमा विजय हासिल गरे लगत्तै दाङमा प्रतिनिधि सभाका तीन र प्रदेश सभाका ६ जना उम्मेदवारहरु घर दैलोमा पुगे । केहीले घरदैलो सकिसकेका छन् भने केही उम्मेदवार अझै सबै गाउँ पुग्न पाएका छैनन् ।

मतदाताहरुमा सचेतना आउनुमा आफूहरुको ठूलो भूमिका भएको माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा बताउँछन् । ‘दश वर्षे जनयुद्धले जनतामा ठूलो चेतना पैदा गरेको छ, जनता आफ्ना कुरा निर्धक्क साथ राख्न सक्ने भएका छन्,’ महराले भने, ‘गणतन्त्र स्थापना हुनुभन्दा पहिलेका निर्वाचनमा उम्मेदवारहरुले मात्रै आफ्नो योजना प्रस्तुत गर्दथे, अहिले मतदाताहरु आफ्ना माग र धारणा निर्धक्कका साथ राख्न सक्ने भएका छन् ।’ जनभावना अनुसार नेताहरु चल्न सक्नुपर्ने उनको भनाई छ । विगतमा चुनाव जितेर नेताहरु खासै गाउँ जाँदैन थिए । जिल्लामा कुनै ठूलो सभा गरेर मतदातालाई एकमुष्ट धन्यवाद दिने विजयी उम्मेदवारहरु यसपटक भने घरघर पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *