छाडा गाईगोरुको जिम्मा स्वस्तिक सहकारीलाई

  
  प्रकाशित मितिः सोमवार, पुस १७, २०७४       | 191 Views   ||

दाङ । घोराही उपमहानगरपालिकाको विभिन्न बजार क्षेत्रमा रहेका छाडा गाई गोरुको व्यवस्थापनको प्रकृया सुरु भएको छ । घोराही उपमहानगरपालिका १२ हापुर बिजौरीमा रहेको स्वस्तिक कृषि सहकारी संस्थाले छाडा गाईगोरुहरुको जिम्मा लिने गरि प्रकृया सुरु भएको हो ।

मंगलबार उपमहानगरपालिकामा दुबै पक्षबीच भएको पहिलो चरणको छलफलबाट अबको १० दिनभित्र सहकारी संस्थाले छाडा गाई गोरु पालन सम्बन्धी विस्तृत योजनासहितको प्रस्ताव ल्याउने सहमति भएको छ ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको छलफलमा सहकारीका अध्यक्ष विमलकुमार न्यौपानेले छाडा गाई गोरु आफुहरुले पालन गर्ने र उपमहानगरले व्यवस्थापनका लागि प्राबिधिक सहयोग गर्नुपर्ने बताउनुभयो । घोराही र नारायणपुर बजार क्षेत्रमा ४० बढी गाई गोरु छाडारुपमा रहेको अनुमान गरिएको छ । अब सहकारी संस्थाले ल्याउने प्रस्तावसहितको योजना अनुसार माघको पहिलो सातामै सबै गाई गोरुहरुको उचित व्यवस्थापन गर्ने नगर प्रमुख चौधरीले बताउनुभयो ।

छाडारुपमा रहेका पशुहरुले दुर्घटना गराएको, आवतजावतमा समस्या पारेको, तरकारी तथा फलफूल खाइदिनेसँगै नगरको सुन्दरतामा ह्रास ल्याएको भन्दै नगर प्रमुख चौधरीले माघ पहिलो साता नियन्त्रण एवं व्यवस्थापनको काम सक्ने बताउनुभयो ।

उक्त सहकारी संस्थाले बैठकमार्फत् छाडा गाई गोरुहरुको व्यवस्थापन गर्ने र दिर्घकालीन फाइदाको सोच बनाएर अघि बढेको जनाएको छ । छलफल कार्यक्रममा नगरका उपप्रमुख सीता न्यौपाने, वातावरण तथा बिपद् व्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेशकुमार पाण्डे, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, शाखा अधिकृत सुबोध रेग्मी र सहकारीका प्रतिनिधिहरुबीच छलफलले छाडा गाई गोरु नियन्त्रण र व्यवस्थापनको काम गर्ने निर्णय गरेको मेयरका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *