राप्ती उपक्षेत्रीय अस्पतालमा सुविधा थपिदै

  
  प्रकाशित मितिः सोमवार, पुस १७, २०७४       | 246 Views   ||

दाङ । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले सर्वसाधारणका लागि सेवा सुविधा बढाउने भएको छ । अस्पतालमा उपचार गर्न आउने सर्वसाधारणका लागि सेवा बढाउँदै जान लागेको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका मे.सु डा. जनार्दन पन्थीले जानकारी दिनुभयो ।

अस्पतालमा आउने बिरामीका लागि लिफ्ट, अक्सिजन प्लान्ट, अपाङ्गतामैत्री उपचार कक्ष र शौचालय, आधुनिक सेवासहितको अप्रेशन थियटर, आइसीयू/एनआइसियू र वातावरणमैत्री उपचार कक्षसहितको सेवा सुविधा सर्वसाधारणलाई प्रदान गर्न लागेको जानकारी दिनुभयो । त्यसका लागि आवश्यक दक्ष जनशक्ति तयार भइसकेको बताउनुभयो । त्यसैका लागि आवश्यक पर्ने भवन निर्माणका लागि अस्पताल लागेको मेसु पन्थीले जानकारी दिनुभयो ।

१६ करोड ४१ लाख ९४ हजार ८ सय ४२ रुपैयाँको लागतमा निर्माण हुन लागिरहेको उक्त भवन आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य आफुहरुले राखेको बताउनु भयो ।अबको दुई वर्षमा दाङबाटै आधुनिक संरचना सहितको उपचार सेवा सुरु गरिने बताउँदै भवन निर्माणलाई तीव्र रुपमा अगाडि बढाएको उल्लेख गर्नुभयो । भवन अभावका कारण समस्या झेलेको अस्पतालले अबको दुई वर्षमा त्यो समस्याबाट छुटकारा पाउने उहाँले बताउनुभयो ।

भवन अभावकै कारण अस्पतालले अत्यावश्यक सेवा समेत सञ्चालन गर्न नसकेको बताउँदै अबको दुई वर्षमा भवन निर्माणले पूर्णता पाउने र छिट्टै आधुनिक सेवा सुविधासहितको सेवा सञ्चालनमा ल्याउने उल्लेख गर्नुभयो । हाल अस्पतालले तीनवटा भवनबाट आफ्नो सेवा सञ्चालन गर्दै आएको छ ।

अस्पतालमा नवनिर्मित ठूलो भवनको माथिल्लो तला खासै प्रयोगमा आउन सकेको छैन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोषणा भएसँगै निर्माण थालनी गरेको उक्त भवन प्रतिष्ठान सञ्चालनका लागि पनि सहयोग पुग्ने डा.पन्थीले बताउनुभयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा समेत निर्माणाधीन भवनबाट सञ्चालन गर्न सक्ने बताउनु भयो । प्रतिष्ठानको आधुनिक अस्पताल भवनका रुपमा पनि यसै भवनलाई प्रयोग गर्ने सक्ने छौं । प्रतिष्ठान तोकिए सँगै तत्कालका लागि अध्ययन अध्यापनका लागि भवन आवश्यक पर्ने गरेमा निर्माणाधीन भवनलाई तत्कालका लागि प्रतिष्ठान सेवाका रुपमा विकास गर्न सकिने बताउनुभयो ।

निर्माणाधीन भवनको ३० प्रतिशत काम सम्पन्न भइरहेको भवन डिभिजन कार्यालय दाङले जनाएको छ । २०७४ असार १ गतेबाट निर्माण सुरु गरिएको थियो । २०७६ असार १५ गतेसम्म निर्माण सम्पन्न हुने गरी एमक दिवाजेभी निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको छ ।

त्यस्तै भवन डिभिजन कार्यालयका प्रमुख राजेन्द्र पाण्डेले राप्ती अञ्चलकै स्वास्थ्य क्षेत्रको ठूलो र सुविधासम्पन्न भवन रहेको बताउनुभयो । ५० सैया वेडको निर्माण हुन लागिरहेको उक्त भवन ५ नं. प्रदेशका सर्वसाधारणको उपचारका लागि सहजता पु¥याउने बताउनु भयो । प्राविधिक रुपमा निकै मजबुत तरिकाले निर्माण गरिन लागेको उक्त भवन सम्भवतः पश्चिम नेपालकै स्वास्थ्य सेवा क्षेत्रको उत्कृष्ट भवन रहेको दावी पनि गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *