दाङका अधिकांश सडक जीर्ण

  
  प्रकाशित मितिः सोमवार, पुस १७, २०७४       | 159 Views   ||

जनक नेपाली

फाइल फोटो

घोराही । दाङका अधिकांश पुराना तथा मुख्य सडकहरु जीर्ण बन्दै गएका छन् । ती सडकको मर्मत कार्य नहुँदा जीर्ण बन्दै गएका हुन् । जिल्लामा सवारी साधनको चाप बढ्नु र सडकको भार क्षमताभन्दा बढी क्षमताका सवारी साधनहरु गुड्दा सडक जीर्ण बन्नुका साथै आयुसमेत घट्दै गएको हो ।

जिल्लाका अधिकांश सडकको क्षमता १० टनको मात्र भए पनि दैनिक २२-३२ टनका मालवाहक सवारीहरु सडकमा गुड्दा सडकको आयु घट्दै गएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्र्तगत पूर्वमा धानखोलादेखि पश्चिममा शिवखोलासम्म पर्ने ७७ किमि र लमही–तुलसीपुर सडकखण्डको ४५ किमि गरी १ सय २२ किमि सडक ‘सर्फेस ड्रेसिङ’ र राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान १ सय ३७ किमि सडक ओटासिल प्रविधिको कालोपत्रे गरिएको छ । सर्फेस र ओटासिल प्रविधिबाट कालोपत्रे गर्नुलाई सामान्य प्रविधि मात्र मानिन्छ ।

लमही–तुलसीपुर सडक पनि धुलो मार्ने प्रविधिको हो । पूर्व पश्चिम राजमार्ग र राप्ती लोकमार्गको अवस्था पनि उस्तै छ । सडकलाई सामान्य मर्मत गरी सञ्चालन गर्नुपर्ने बाध्यता भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्रीप्रसाद शर्माले जानकारी दिनुभयो । हिजोका पुराना सडकले अब दाङको विकास टेवा पु¥याउन सक्ने अवस्था छैन । सडक अवस्था सुधार नहुँदा समस्या भएको शर्माले जानकारी दिनुभयो ।

दाङका सडक खतराको सूचीमा

दाङका अधिकांश सडकहरु खतराको सूचीमा रहेका छन् । पूर्व पश्चिम राजमार्ग, घोराही–लमही, घोराही–तुलसीपुरका सडक र राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्ड खतराको सूचीमा रहेका छन् ।

जिल्लाको २ सय ५९ किमि कालोपत्रे सडक रहे पनि ट्राफिक सुरक्षाको दृष्टिकोणले अति खतराको सूचीमा रहेको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ । साँघुरो सडक, भारवहन क्षमता कमजोर, फुटपाथ, पार्किङ अभाव र सडक नजिक बस्ती रहँदा यी सडकहरु निकै जोखिमपूर्ण रहेको जिल्ला ट्राफिक कार्यालय दाङका ट्राफिक प्रमुख ओमप्रकाश वाग्लेले बताउनुभयो ।

उहाँका अनुसार दाङका सडक सुरक्षाको हिसाबले उच्च जोखिमको सूचीमा रहेको बताउनुभयो । साँघुरो सडकमा ठुला सवारीहरु दौडने, खुल्ला सडकपेटीको अभाव, छाडा पशु चौपाया र पार्किङ नहुँदा जथाभावी रुपमा सवारी दुर्घटना बढेको उहाँले जानकारी दिनुभयो । ट्रक, टिप्पर, भ्यानलगायतका सार्वजनिक यातायातले आफ्नो क्षमताभन्दा बढी लोड ओसारपासार गर्दा दाङका सडकहरु जीर्ण भएर दुर्घटना निम्त्याएको वाग्लेले बताउनुभयो ।

६ वर्षमा ४ सय ३५ को मृत्यु

दाङमा पछिल्लो ६ वर्षमा दाङमा सवारी दुर्घटनाको कारण ४ सय ३५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय दाङका अनुसार आव ०६८/६९ मा ५१ पुरुष, १४ महिला, बालक ६ र बालिका ५ गरी ७६ जना, आ.व. ०६९/७० मा ४१ पुरुष, ६ महिला, बालक ४ र बालिका ३ गरी ५४ जना, आ.व. ०७०/७१ मा ५४ पुरुष, ९ महिला, बालक ५ र बालिका ६ गरी ७४ जना, आ.व. ०७१/७२ मा ३४ पुरुष, ८ महिला, बालक ६ र बालिका ६ गरी ५४ जनाको मृत्यु भएको जनाएको छ ।

त्यस्तै आ.व. ०७२/७३ मा ४९ पुरुष, ११ महिला, बालक १० र बालिका १ गरी ७१ जना , आ.व. ०७३/७४ मा ५८ पुरुष, ११ महिला, बालक ६ र बालिका २ गरी ७७ जना र चालु आव ०७४/७५ कार्तिक मसान्त १६ पुरुष, ६ महिला, बालक ४ र बालिका ३ गरी २९ जना गरी जम्मा ४ सय ३५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *