कालिमाटी गाउँपालिकाको कुनै वडामा छैन बिजुली

  
  प्रकाशित मितिः सोमवार, पुस १७, २०७४       | 262 Views   ||

शंकर केसी

सल्यान । सल्यानको कालिमाटी गाउँपालिकामा कुनै पनि वडामा विद्युतीकरण भएको छैन । विद्युत सेवा नपुगेपछि सिंगो गाउँपालिकाबासी उज्यालोका लागि टुकी बाल्न बाध्य छन् ।

सात वटा वडा रहेको कालिमाटीमा बिजुली बत्तीको पहुँच नपुग्दा स्थानीयबासी धेरै कुरामा पछाडि परेका छन् । विद्युत अभावमा गाउँपालिका कार्यालय सञ्चालन पनि प्रभावित हुने गरेको छ ।

स्थानीय सरकारको रुपमा रहेको गाउँपालिका कार्यालयले नागरिकलाई सेवा प्रवाह गर्दा विद्युत अभावमा प्रभावकारी हुन सकेको छैन भने दैनिक कार्य सम्पादनमा समेत बाधा पुग्ने गरेको छ । कालिमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बिजुली बत्ती नहुँदा उत्पन्न हुने समस्या आफुहरुले झेलिरहेको बताए ।

‘विद्युत नहुँदा कार्यालयमा सञ्चालन हुने हरेक काममा समस्या उत्पन्न हुने गरेको छ, गाउँपालिका अध्यक्ष केसीले भने, ‘विद्युत अभावकै कारण हाम्रो गाउँपालिका टेलिफोन, इन्टरनेट तथा बैंक सेवाबाट वञ्चित हुनुपरेको छ ।’

कतिपयले वैकल्पिक ऊर्जाको रुपमा सोलार जोडेको भए पनि अझै स्थानीय टुकी बालेर अँध्यारो हटाउनुपर्ने बाध्यतामा रहेको गाउँपालिका उपाध्यक्ष शहनसिलता ओलीले बताइन् । ‘गाउँपालिकाबासीलाई कुटान, पिसानदेखि मोबाइल चार्ज गर्नसमेत समस्या छ,’ उनले भनिन्, ‘गाउँपालिकाको कार्यालयमा पनि कर्मचारीहरुले विद्युत अभावमा काम गर्न कठिनाइ हुने गरेको सुनाइरहन्छन् ।’

विद्युत सेवाबाट वञ्चित गाउँपालिकाले पहिलोपटक अन्धकार हटाउने र विद्युत भित्राउने भन्दै आर्थिक वर्ष २०७४÷०७५ का लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

छिमेकी जिल्ला सुर्खेत र दाङबाट विद्युत भित्र्याउने तयारीमा आफुहरु लागेको उपाध्यक्ष ओलीले बताइन् । विद्युतको पोल गाड्ने जिम्मा पाएको ठेकेदारको ढिलासुस्तीले गर्दा विद्युतको पहुँचमा पु¥याउन ढिला भएको गाउँपालिका अध्यक्ष केसीले बताए । गत भदौमा नै ठेकेदारले पोल गाड्ने जिम्मा पाएको हो, अध्यक्ष केसीले भने, ‘तर उसकै ढिलासुस्तीले गर्दा बिजुली बाल्ने गाउँपालिकाबासीको रहर पूरा हुन सकेको छैन ।’

विद्युत सेवा भित्र्याएपछि आफुहरु टेलिफोन, इन्टरनेट जडान र बैंकका शाखा स्थापनाका लागि काम अगाडि बढाउने तयारिमा रहेको अध्यक्ष केसीले बताए । विद्युत अभावकै कारण टेलिफोनको समस्या आइपरेको उनको भनाइ छ । अहिले गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा नमस्ते फोन र वडा नम्बर ४, ५, ६ र ७ मा स्काई तथा एनसेलले आंशिक रुपमा काम गर्ने गरेको अध्यक्ष केसीले बताए ।

विद्युत सेवा नभएकै कारण इन्टरनेट जडान हुन नसकेको तथा बैंक आउन नमानेका कारण विकास निर्माणका काममा प्रत्यक्ष प्रभाव परेको गाउँपालिका अध्यक्ष केसीको भनाई छ । बैंक नहुँदा सानो काम गर्न पनि सदरमुकाम खलंगा जानुपर्ने बाध्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *