पार्टी एकताको काम द्रुत गतिमा बढाउने माओवादी केन्द्रको निर्णय

  
  प्रकाशित मितिः मङ्लबार, पुस १८, २०७४       | 160 Views   ||

ललितपुर । नेकपा माओवादी केन्द्रले पार्टी एकतालाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको छ । मंगलबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको केन्द्रीय कार्यालयको बैठकले जनताले अनुमोदन गरिसकेको वाम एकतालाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल भएको थियो । बैठकले आमजनताले अनुमोदन गरिसकेकाले पार्टी एकतालाई द्रुतगतिमा अगाडि बढाउने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले बताउनुभयो ।

प्रवक्ता भुसालले भन्नुभयो, ‘नेकपा एमाले अध्यक्ष केपी ओली कमरेडको स्वास्थ्यमा आएको समस्याले छलफल अलि लम्बिएको हो । पार्टी एकता प्रक्रिया अगाडि जान्छ । पार्टी एकता र सरकार गठनबारे कुनै समस्या छैन । तपाईहरुले एकताको आश्चर्यजनक नतिजा पाउनु हुनेछ ।’

बैठकले विभिन्न माओवादी धाराबाट आएका नेता–कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा एक कार्यदल गठन गरेको छ ।

कार्यदलमा नेताहरु टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, साबित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल, सुनिल मानन्धर रहनुभएको छ ।

बैठकले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको छ । समितिमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहनुभएको छ ।

बैठकले राजनीतिक गतिरोध अन्त्य र नयाँ सरकार गठनका लागि पार्टीको तर्फबाट आवश्यक पहल लिने निर्णय पनि गरेको प्रवक्ता भुसालले बताउनुभयो ।

बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता र सरकार गठनका विषयमा भइरहेको छलफल र गृहकार्यबारे बैठकलाई जानकारी गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *