जनकलाकारको संस्मरण- सगरमाथाको काखदेखि सप्तकोशीको तिरसम्म

  
  प्रकाशित मितिः मङ्लबार, पुस १८, २०७४       | 567 Views   ||

लेखकसहित सामना परिवारका कलाकारहरु

कार्तिकको चिसो जाडोले हिउँदयामको आभाष दिलाउँथ्यो । औंशीको निस्पष्ट कालो रातपछि विहानीपख सूर्यको किरणले धर्तीलाई ब्युँझाउँदै थियो । बिहानीपखको शितल पवनसँगै नयाँ खबर आयो । हाम्रो सामना परिवार साँस्कृतिक अभियान लिएर पूर्वी नेपालका बस्ती–बस्तीमा जाने भयो ।

मेरो लागि यसपटकको यात्रा जीवनमा नौलो हुने कुरा स्वभाविक थियो किनकि म पूर्वी नेपालको भुगोलमा कहिल्यै पाइला टेकेकै थिइँन । जहाँ पुग्न हिडेर हामीलाई महिनौं लाग्थ्यो । त्यसैले हामी जहाजबाट जाँदै थियौं । जहाज चढ्ने कुरा पनि मेरो लागि जीवनकै पहिलो अनुभूतिको विषय थियो । साँच्ची ! यसपटकको अभियान मेरो लागि एकदमै नौलो र महत्वपूर्ण अवसर नै थियो । सायद यस्ता अवसरहरु जीवनमा विरलै पाइन्छन् ।

चन्द्रा बस्नेत

कस्तो होला यो यात्रा ? मनमा यही प्रश्नले बेला–बेलामा झस्काउने गथ्र्यो । हाम्रो सामना परिवार काठमाण्डौं अन्तर्राष्ट्रिय विमानस्थलतिर लाग्यो ।

बिहान साढे नौ बजे हामी लुक्लाको लागि जहाज चढ्यौं । जहाज आफ्नै गतिमा उडिरहेको थियो । झ्यालबाट तलतिर नियाल्दा हरियाली वनजंगल, कतै अग्ला–अग्ला पहाड त कतै समतल मैदान देखिन्थे । जति–जति जहाज पूर्वतिर बेगिदै थियो, त्यति झन् बढी कौतुहलता बढेर आउँथ्यो । यी पहाड, खोलानाला र गाउँबस्तीहरुको नाम के होला ? कहाँका होलान् यी वनजंगलहरु ?

पुर्वेली बस्तीसँग परिचित दाजु आदर्शले झ्यालबाट नयाँ–नयाँ ठाउँको परिचय गराइदिनुहुन्थ्यो । हामी ओखलढुङ्गाको आकाशमा आइपुगेछौं । झ्यालबाट यसो बाहिरतिर नजर लगाएँ । तल सुनकोशी, तामाकोशी र दुधकोशी अविरल बगिरहेका थिए भने उत्तरी क्षितिजमा दन्तलहरझैं हिमश्रृखंलाहरु टलक्क टल्किरहेका थिए । प्रकृतिको त्यो अपार सौन्दर्यले मनै लोभ्याउँथ्यो ।

हामी सोलुखुम्बुको माथि आइसकेका रहेछौं । आदर्श दाजुले सदरमुकाम सल्लेरी देखाउनुभयो । मलाई झट्ट याद आयो । संकटकाल शुरुवातको मात्र एकदिन अगाडि जनमुक्ति सेनाले उक्त सदरमुकाम सल्लेरीमा धावा बोलेको थियो । जहाँ हाम्रा होनहार योद्धाहरुको उच्च वलिदानी भएको थियो ।

साँच्ची ! क्रान्ति कति निर्मम र कठोर हुँदो रहेछ ? आँखा वरिपरि महान शहीदहरुका तस्वीरहरु नाच्न थाले । म कता–कता कल्पनामा हराउन थालेछु ।

हामी कति छिट्टै सोलुखुम्बु आइपुगेछौं ? जहाज लुक्ला विमानस्थलमा अवतरण भयो ।

सामना परिवारका कलाकारहरु

कार्तिक १४ गतेको बिहान ! अपरिचित भुगोल, हिमालयको काख ! जता हे¥यो हिउँ र तुषारोले सेताम्यै देखिन्थ्यो । हिमालबाट आएको चिसो सिरेटोले मुटुसम्म छोएर फर्किन्थ्यो । त्यही चिसो–चिसो मौसमको बीचमा परिवारका संयोजक माइला लामाले अभियानमा हाम्रो दायित्व चुनौति र सम्भावनाको विषयमा दिशा निर्देश गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘हामी यतिबेला लोकतान्त्रिक गणतन्त्रको लागि शान्तिपुर्ण बिद्रोहको तयारीमा छौं । त्यसैले हामी क्रान्तिकारीहरु धैर्य, निष्ठा र बलिदानी भावकासाथ लाग्नुपर्नेछ अनिमात्र हामीले सगरमाथामा रातो झण्डा फहराउन सक्नेछौं र सर्वहारा वर्गीय साँस्कृतिक आन्दोलनको नेतृत्व गर्न सक्छौं ।’

कमाण्डरको कासनलाई दह्रोसँग पकड्दै क्रान्तिकारी स्प्रीटकासाथ हामीले अभियानको थालनी ग¥यौं । हाम्रो अभियानको उद्घाटन सगरमाथाको आँगन लुक्लाबाटै भयो । कार्यक्रमको शुरुवातमा लुक्लाबासी जनसमुदाय र स्थानीय पार्टीका कमरेडहरुले रातो टिका र मालाले स्वागत गरे । त्यसले झनै हाम्रो आत्मीयता बढाइदियो । संयोजक माइला दाइले कलात्मक र लयात्मक रुपमा यी हरफहरु सहित कार्यक्रमको शुरुवात गर्नुभयोे–
‘हजार तारा झर्दा पनि नअस्ताउने जूनसँग
झुपडीमा आशा छर्दै उदाएको घामसँग
क्रान्तिभित्र क्रान्ति गर्ने नयाँ संगीत सुनाउँदैछौं
तिनमा नयाँ जीवन भर्न क्रान्ति गीत गाउँदैछौं …’

सामना परिवारले पहिलो कोशेलीमार्फत शान्ति, प्रगति र लोकतान्त्रिक गणतन्त्रको सन्देश दिदै कार्यक्रमको ढोका खोल्यो । क्षणभरमै लुक्ला बस्ती क्रान्तिकारी गीतसंगीतले गुञ्जायमान भयो-
दुश्मनहरुका हरचालहरुको गर्दै सामना
जनसंगीत गुञ्जाउँदै हाम्रो सामना
आयौं हामी शान्तिको गीत गुञ्जाउँदै
लोकतान्त्रिक गणतन्त्रको सन्देश सुनाउँदै

सगरमाथाको काखमा कहिले हिमनदीका जंघार तथ्र्यौं त कहिले हिउँसँग चिप्लेटी खेल्थ्यांै, कहिले चौरीखर्कतिर जान्थ्यौं त कहिले नाम्चेतिर उकालो लाग्थ्यौंं । जहाँ अधिकांश सेर्पाली र तामाङ जनसमुदायको बसोबास थियो । हिमालको काख खेतीयोग्य जमिन थिएन । खासै उत्पादन पनि हुदैनथ्यो बरु सधैं हिउँ फुलिरहन्थ्यो हिउँमात्र हैन नवआस्थाका लेकाली फूलहरु पनि ढकमक्क भएर फूलिरहेका थिए ।

प्रकृतिको मनोरम संसारमा म हराउन थाले । साँच्ची ! मैले त्यो प्रकृतिको अपार सौन्दर्यताको बयान त कसरी गर्न सकुँला र ? विश्वकै सर्वोच्च शिखर सगरमाथा अनि सेतै फूलेका लस्करै हिमश्रृखंलाहरु, हिमालको काखबाट अटुट बगिरहेका सुन्दर हिमनदीहरु, चौरीखर्कमा चरिरहेका चौंरीका हुलहरु… ।

यही रमणीय परिवेशमा खेल्दा खेल्दै मन कहाँ हो कहाँ पुग्दोरहेछ । म त विगततिर पो फर्किन थालेछु । कहिले बम बारुद र गोलीको पर्राबीच लुकामारी खेल्दै त कहिले रोल्पा, रुकुम र सल्यानका बस्तीहरुमा जनतासँग रमाउँदै, कहिले राप्ती, भेरी, कर्णाली र गण्डकीको छालसँगै ताल मिलाउँदै पार्टीको सही विचार र राजनीतिलाई सम्प्रेषण गर्दै त कहिले विदेशका गल्ली–गल्ली र शहर बजारमा मजदुरी गरिरहेका नेपाली दाजुभाई दिदीबहीनीहरुसँग वर्गीय माया गाँस्न पुग्दोरहेछ मन ।

हाम्रो अभियान यात्रा सिङ्गै बाँकी थियो । केही दिनपछि हामी सोलुखुम्बुलाई छोड्दै सुनकोशीको छाललाई भेट्न यात्रा थाल्यौं । सेर्पाली बाआमाहरुले फेरि पनि आए है नानी भन्दै गलामा गम्छा लगाइदिए । बाटोमा नास्ता भनेर झोलामा खाजा हालिदिए । साँच्ची जनताको माया भनेको कति गहिरो हुन्छ ?

हामी अभियानको क्रममा दोलखा, ओखलढुंगा हुदै खोटाङका उत्पीडित जनतासँग माया गाँस्न पुग्यौं । कहिले शहर बजार र तराई त कहिले हिमालको काखमा । कहिले सरसामानहरु डोकोमा बोकेर अजंगका पहाड चढ्यौं । पिठ्यूमा डोकोको भारी बोकेर निधारबाट पसीनाका धाराहरु चुहाउँदै भोजपुरको ट्याम्के पहाड चढेको क्षण साँच्चिकै अविस्मरणीय बनेको छ । भोजपुरबाट संखुवासभा हुँदै अरुण तरेर तराईतिर झ¥यौं ।
अरुण तरेर नाना तमोर तरेर
आयौं हामी वीरताको गाथा कोरेर

सामना परिवारका कलाकारहरु

मंसीरको अन्तिम सातातिर धरान धनकुटा हुँदै सप्तकोशीको तिरमा पुग्यौं । गाडीको यात्रा पुर्वपश्चिम छुट्याउन पनि मुश्किल भैसकेको थियो मलाई । सप्तकोशीका छालहरु उर्लिदै कहिले वारी त कहिले पारी ठोकिन्थे । गाडीले लामो पुल त¥यो र सिराहा, सप्तरी हुदै उदयपुरतिर लाग्यो ।

मधेस झरिसकेपछि स्थानीय पार्टी कार्यकर्ता र जनसमुदायको रातो टीका र सयपत्रीका माला सहर्ष स्वीकार गर्दै हामी कार्यक्रम स्थलतिर लाग्यौं । त्यो दिन मौसमले साथ दिएन । भर्खर कार्यक्रमको शुरुवात मात्र के गरेका थियौं, आकाशबाट पानी बर्षिन थाल्यो । तैपनि पानीमै रुझ्दै भिज्दै भए पनि छोटो कार्यक्रम ग¥यौं ।

कहिले हिमालको काखमा रमाउँदै त कहिले तराई मधेशका बस्ती बस्तीहरुमा गाउँदै नाच्दै उत्पीडित जनतामाझ पुग्यौं । सगरमाथाको काखदेखि थालिएको हाम्रो साँस्कृतिक अभियान कयौं उकाली ओराली र भीरपहराहरु छिचाल्दै त कहिले अरुण, तमोर र सप्तकोशीको तिरैतिर हिड्दा हिड्दै समयले डाँडो काटिसकेछ ।

अभियानको समापनसँगै गणतन्त्रको नयाँ बिहानीमा फेरि पनि भेट हुने वाचाकासाथ पुर्वेली बस्ती, उत्पीडित जनता र पुर्वी नेपालका राता योद्धाहरुसँग बिदाइका हातहरु हल्लाउँदै काठमाडौंतिर लाग्यौं ।

[नोट : २०६३ फागुनमा लेखिएको यो संस्मरणमा प्रयोग भएका केही शब्दहरु अहिले असहज लाग्न सक्छन् । तर, पाठकलाई त्यतिबेलाको अवस्था र वस्तुस्थिति बुझ्न सहज होस् भनी केही परिमार्जन नगरी जस्ताको तस्तै प्रकाशन गरिएको छ । – सम्पादक ।]

Leave a Reply

Your email address will not be published. Required fields are marked *