समृद्ध दाङका लागि लाग्ने छु

  
  प्रकाशित मितिः बुधबार, पुस १९, २०७४       | 195 Views   ||

रेवतीरमण शर्मा
प्रदेश सभा सदस्य, क्षेत्र नं. १ प्रदेश सभा २, दाङ

निर्वाचनमा विजयी हुनुभयो कस्तो लागेको छ ?

निर्वाचनमा विजयी हुँदा अवश्य पनि खुशी लाग्नु स्वभाविक हो । तर, यसका साथ साथै चुनौति पनि थपिएको छ । जनताका चाहनाहरुलाई कसरी पूरा गर्न सकिन्छ भनेर थप सचेत बनाएको छ ।

निर्वाचनमा मतदाताले तपाईलाई किन जिताए ?

जनताले हाम्रो एजेण्डालाई जिताएका हुन् । विकास र समृद्धिका लागि जनताले विजयी गराएका हुन् ।

अरु उम्मेदवारलाई नजिताएर रेवतीरमण शर्मालाई नै किन जिताए ?

तपाईले गम्भीर कुरा उठाउनुभयो । जनताले मेरो कामको मूल्यांकन गरेरै होला । अर्को कुरा जनताले वामपन्थीको नेतृत्वमा स्थिर सरकार चाहेर मलाई मतदान गरेका हुन जस्तो लाग्छ ।

दुई पटक निर्वाचन हानुभएको थियो । अहिले जित्नुभयो । निकै खुशी लागेको होला हैन ?

यहाँ व्यक्तिगत रुपमा खुशी हुने र दुखी हुने विषय नै होइन । यो त जनताको चाहना थियो । म निर्वाचनमा विजयी हुन नसके पनि निरन्तर जनताको सेवा थिएँ । अहिले पनि निरन्तर जनताको सेवामा रहन्छु । भूमिका केही बदलिएको मात्र हो ।

तपाईसँग यस क्षेत्रको विकासका लागि के एजेण्डा छ ?

दाङलाई ५ नं. प्रदेशको राजधानी बनाउने प्रमुख एजेण्डा हो । अर्को कुरा दाङ ५ नं. प्रदेशको राजधानी भएर मात्र पुग्दैन । यहाँको समृद्धिका लागि हामीले धेरै योजना ल्याउनुपर्नेछ । जनताका धेरै चाहना छन् । जनताको जीवनस्तर उठाउनको लागि हामीले विभिन्न कार्यक्रम ल्याउनुपर्ने छ । यहाँ रोजगारीको विकराल समस्या छ ।

जमिनका खण्डिकरण भइरहेको छ । कृषियोग्य जमिनको नाश भइरहेको छ । हामीले वैज्ञानिक कृषि प्रणाली लागु गर्नुपर्ने छ । विकासमा सबै जनताको सहभागीता अनिर्वाय छ । जनतालाई विकास निर्माणमा अपनत्वको भावना पैदा गर्नुपर्ने छ ।

अन्त्यमा केही भन्नु छ कि ?

म आम मतदातालाई वाम गठबन्धनलाई मतदात गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु । र म जनताको चाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *