भित्र्याएकी छोरी

  
  प्रकाशित मितिः बुधबार, पुस १९, २०७४       | 318 Views   ||

कुन्ता बिरामी भएर ओछ्यानमा परेको पनि धेरै दिन भइसक्यो । औषधीले पनि कहिले छोएजस्तो गर्छ, कहिले कामै गर्दैन । डाक्टरहरुले चिन्ता नलिनुस् आमा, आत्मबल बढाउनुहोस्, दुःख सबैलाई पर्छ, बाँच्नेले त्यस्ता कुरामा अल्झिरहनु हुन्न, हरेक मान्छेले जन्मसँगै मृत्यु लिएर आएको हुन्छ, ढिलो–चाँडोको कुरा मात्र हो । बरु छोरा बुहारीहरुलाई छिटो बोलाउनुस् नाति नातिनी खेलाएर दुःख बिर्सिन सजिलो हुन्छ भनी निर्देशन दिएर जान्छन् ।

पुरुषोत्तम खनाल

उता छोरा–बुहारीहरुलाई बोलाउँदा अहिले फूर्सद छैन, हामी पछि आउँछौं, आमाको उपचारमा जति पैसा लाग्छ, हामी पु¥याउला भनी उल्टै निर्देशन दिने पो गर्छन् । उनीहरुका स्वास्नी सुत्केरी हुँदा स्याहार सुसार गर्न आमा चाहियो, अहिले आमा बिरामी हुँदा उनीहरुलाई फूर्सद छैन रे– क्या गजबको जमाना ।

म अफिस जाँदा कुन्ता घरमा एक्लै हुन्छिन् । आफूले पनि कति दिन बिदा लिनु ? देशमा निर्वाचनको घोषणा भएकोले कुनै पनि कर्मचारीलाई बिदा बस्न नदिनू भनी निर्देशन आएको छ । आर्थिक वर्षको अन्त्य हुन लागेकाले कामको चापले टाउको उठाउनेसम्म फूर्सद हुँदैन । वर्षको अरु ७–८ महिना भने फूर्सदै फूर्सद । गफ गरेर, अर्काको कुरा काटेर सरकार– राजनीतिक दलको कुरा काट्दैमा समय बितेको पत्तै हुँदैन ।

हजुर, भोक लाग्यो, केही खानेकुरा पाइन्छ कि ? एउटी अधबैंसे नारीको स्वर ।

झ्यालबाट यसो हेरेको, गएको वर्ष स्वर्गीय भएकी छोरी समुन्नतिजस्ती । अनायास आँखाबाट आँसु झरे । कुन्तालाई हेरें, उनी निदाइरहेकी रहिछन् । सरासर तल झरें । गेट खोलें । नानीलाई तलदेखि माथिसम्म हेरें– नाक उस्तै । उचाइ उस्तै । गोरोपन उस्तै । आँखा उस्तै । भित्रतिर बोलाएँ, हिडाइको चाल उस्तै । सबै कुरा उस्तै–उस्तै समुन्नति जस्तै । हराएको वस्तु धेरै दिनपछि भेटिएजस्तै । विपना पनि सपना जस्तै ।

उभिएकी ती नानीलाई कुर्सीमा बस्न भनी म भान्सा कोठामा गएँ । थालभरि भात–दाल, तरकारी, अचार ल्याएर उनको अगाडि राखिदिएँ । उनी धेरै दिनको भोको रहिछन् क्यार, खान शुरु गर्न लागिहालिन् । मैले उनलाई नल्कामा हात धोएर आऊ र खान बस नानी भनेपछि थोरै लजाउँदै उनी नल्कामा गएर हात धोएर आइन् र खान थालिन् । उनको खवाइ पनि समुन्नतिको जस्तै । कस्तो अनौठो । भ्रम हो कि यथार्थ छुट्टयाउनै गाह्रो ।

समुन्नतिको मृत्युपछि नै कुन्ता बिरामी पर्न थालेकी हुन् । उनी जीवितै भएको भए मलाई यस्तो अप्ठेरो पर्ने नै थिएन । छोरी असाध्यै सुशील स्वभावकी थिइन् । हामी दुवैको खुबै ख्याल राख्थिन् ।

ती नानीले भात खाएको थाल नल्कामा गएर मिसेर ल्याई बरण्डामा घोप्टो पारेर (घोप्ट्याएर) राखिन् । दुपट्टाले हात पुछिन् र बुवा धन्यवाद, म अब जान्छु भनी हिड्न लागिन् । मैले उनलाई के हतार छ र नानी ? चर्को घाम छ, एकछिन आराम गरेर जाउली भनेपछि कुर्सीमा आएर बसिन् । म भित्र गएर समुन्नतिको कोठाको दराज खोली एक जोर लुगा ल्याएर उनको हातमा राखिदिएँ । उनले धेरै बेरसम्म ती लुगाहरुलाई ओल्टाइ पल्टाइ हेरिरहिन् । पछि मलाई खुबैसँग हेरिरहिन् । मैले पनि उनलाई हेरिरहें समुन्नतिको रुपमा ।

अँ नानीको घर कहाँ हो ? किन यसरी भौतारिदै हिडेकी भनी सोधेको मात्र के थिएँ– उनका आँखाबाट बलिन्द्र धारा आँसु बग्न थाले ।

धेरै समयपछि सुक्क–सुक्क गर्दै अड्केकै गलाबाट भन्न थालिन्– ‘बुवा, यतिका वर्षपछि मलाई नानी भनेर सम्बोधन गर्ने मान्छे तपाईं हुनुहुन्छ । यो समाजमा जहाँ–जहाँ म माग्न जान्थें, टाढै बसाल्थे र केही खानेकुरा दिदा पनि कुकुरलाई कलो फालेजस्तै हुत्याएर दिने गर्थे र तुरुन्त यहाँबाट गैहाल भनी आदेश दिन्थे । तर आज तपाईं मात्र यस्तो व्यक्ति देखें, जसले माग्नेलाई कुर्सीमा बस भन्नुभयो । थालमा भात, दाल, तरकारी अचारसमेत ल्याएर दिनुभयो साथै नल्कामा गएर हात गोडा धोएर आऊ र खान बस भन्नुभयो । त्यसमाथि पनि चर्को घाम छ, एकछिन आराम गर भन्नुका साथै एक जोर नयाँ लुगा ल्याएर हातमा थमाइदिनुभयो । मैले त आज मेरो पुख्र्यौली घर, आमाबुवा, दाजुबाट मप्रति गरिने माया सम्झन पुगें । भाग्यले भनौं या केले भनौं अहिले मलाई यो अवस्थामा ल्याइपु¥याएको छ । यो सबै मेरै कारणले हो यसमा अरु कसैलाई पनि दोष दिन चाहन्न भन्दै आफ्नो कहानी सुनाउन लागिन् ।

‘मेरो नाम सुश्मा शाही हो । मेरो पुख्र्यौली घर भनौं या बुवाआमाको घर भनौं– जाजरकोटको विकट गाउँमा पर्छ । ठकुरी वंशको भएका कारणले गाउँघरमा हाम्रो परिवारलाई सबैले सम्मान गर्थे । त्यहीँ ठाउँमा माध्यमिक विद्यालय खुलेको थियो । विद्यालयको सञ्चालक समितिको अध्यक्षमा हाम्रो बुवा नै होइबक्सिन्थ्यो । मेरो र दाइको माध्यमिक तहसम्मको पढाइ त्यसै विद्यालयमा भएको थियो । दाजु उच्च शिक्षा पढ्न काठमाडौं जानुभएको थियो । एसएलसी पास गरेपछि मलाई आउ–जाउ गर्न सजिलो र नजिक पनि पर्ने भएकाले नेपालगञ्ज क्याम्पसमा भर्ना गरिएको थियो । पढाइमा म राम्रै थिएँ ।

नेपालगञ्ज क्याम्पसमा पढ्न लागेको यसै ३–४ महिना जति भएको हुँदो हो, उमेश नाम गरेको सुर्खेतको ठिटो मसँग नजिकिन थाल्यो । केटो पनि राम्रै थियो । तर पनि गाउँबाट यता आउँदा गाउँलेहरुले हेर है नानी, चनाखो हुनु, प्रेमको जालमा पारेर विदेश लगेर बेच्छन् अरे त्यहाँका मान्छेले । पोहर–परार दैलेखकी केटीलाई त्यस्तै गरेर लगे । अहिलेसम्म अत्तोपत्तो छैन उसको । तँलाई थाहा भएकै हो हाम्री भतिजीलाई पोहर साल प्रेममा फसाएर बेच्न लाँदै गर्दा माइती नेपालले भेटाएर पो सुन्तलीलाई बचाएको हाम्री गाउँकी फूपू नाता पर्नेले भनेकी थिइन । हो न हो उमेशले मलाई त्यसै गर्न आँटेको छ भन्ने लागेपछि उसप्रति मेरो घृणा बढ्दै जान थाल्यो । उमेशलाई गुण्डा लगाएर थिलथिलो पार्ने विचार मेरो मनमा आयो । हरेक दिन क्याम्पस आउँदा जाँदा अनेक योजना बुनेर आउने गर्न थालें । मेरो मन पढाइमा भन्दा उमेशलाई कसरी सिध्याउने भन्नेमा केन्द्रीत हुन थाल्यो । उमेशको सच्चा प्रेमलाई विषालु नजरले हेर्न थालें । गाउँकी सोझी ठिटी म भित्रभित्रै उग्रचण्डीको रुपमा आफूलाई उभ्याउँदै लग्न थालें । उमेश कस्तो परिवारको हो ? स्वभाव कस्तो छ ? आनीबानी, रुचि कस्तो छ भन्ने सम्बन्धमा सोच्नै सकिनँ । खाली उमेश लफङ्गो हो यसले मलाई राम्री देखेर प्रेमको जालमा पारेर विदेशमा बेच्न लग्न खोज्दैछ भन्नेमा मात्र मेरो ध्याउन्न हुन पुग्यो ।

केही समयपछि मेरो जम्काभेट दैलेख घर बताउने दिलबहादुर (दिलु)को ग्रुपसँग हुन पुग्यो । उनीहरुलाई मैले सबै कुरा भनेँ र यसको उपचार गरेमा तिमीहरुले मागेअनुसारको रकम दिनेछु भनी कलेजतर्फ लागेँ । उनीहरुसँग मेरो नियमित भेट हुन थाल्यो । उनीहरुलाई चिया नास्ता खुवाउने काम पनि मैले गर्न थालेँ ।

एकदिन क्याम्पसको क्यान्टिनमा उमेशले आउँदो शनिबार बहराइच घुम्न जाने निम्तो दियो । यससँग बदला लिने अवसर यो भन्दा उपयुक्त दिन मिल्दैन भन्ने लागेर हुन्छ भनी म डेरातिर लागेँ । दिलुहरुलाई तयार रहन आदेश दिएँ । हाम्रो टाँगा जसै भन्सार क्रस गरेर अगाडि बढेको थियो, जमुना थानादेखि माथि नै दिलुहरुले टाँगा रोकी उमेशलाई टाँगाबाट झारेर मरणासन्न हुने गरी पिटेर खेतमा फालिदिए र मलाई उनीहरुकै मोटरसाइकलमा नेपालगञ्ज फर्काएर लगे । एउटा होटेलमा मैले उनीहरुलाई मन खुस हुने गरी रक्सी–मासु, खाना खुवाएर डेरातिर लागेँ ।

अर्को दिन क्याम्पस जाँदा उमेशलाई गुण्डाहरुले कुटेर खेतमा फालेको र पछि प्रहरीले उपचारका लागि अस्पताल भर्ना गरेको, अपराधीको खोजीमा प्रहरी लागेको खबर सुनेँ । कक्षाकोठामा जानुभन्दा भाग्नु उपयुक्त ठानेर म डेरातिर लागेँ । चिट–चिट पसिना आउन लाग्यो जाडोको महिनामा पनि । के गरुँ, कसो गरुँ भयो र लुगा फेरेर दिलुहरुको खोजीमा निस्के । त्रिभुवन चोकको एउटा होटेलमा तिनीहरुलाई भेटेँ र केही दिनको लागि तिमीहरु यहाँबाट भाग भनी ५ हजार जति रुपैयाँ दिएर डेरातर्फ फर्किएँ ।

उमेशको होस खुलेछ । प्रहरीले उमेशसँग लिएको बयानअनुसार सुश्मा को हो भनी सोध्दै क्याम्पसको कक्षाकोठामा पुग्यो । विद्यार्थीहरुले प्रहरी कक्षाकोठामा आएकोमा विरोध गरेपछि प्रहरी हट्यो । क्याम्पस कक्षा समय समाप्त भएपछि बाहिर निस्कन लाग्दा गेटमा उभिएकी सिभिल ड्रेसकी महिला प्रहरीले मेरो पाखुरामा च्याप्प समाएर अलि पर रहेको प्रहरी भ्यानमा लगेर हुलिन् । प्रहरी अनुसन्धानका अगाडि मेरो के लाग्थ्यो र ? सबै कुरा खुलस्त भनिदिएँ । दिलु र उसका साथीहरुलाई पनि कोहलपुरबाट प्रहरीले ल्याइपु¥यायो । योजनाकार म भएकाले अदालतले मलाई एक वर्षको कैद र ५ हजार रुपैयाँ जरिवाना, दिलु र उसका साथीहरुलाई ६ महिना कैद र एक÷एक सय जरिवाना फैसलामा सुनायो ।

म जेलमा परेको थाहा पाएपछि बुवा–आमा मलाई भेट्न जेलमा आउनुभयो । उमेशको परिवारलाई उहाँले राम्रोसँग चिन्नुहुदोरहेछ । उमेशजस्तो खानदानी केटोप्रति मैले गरेको उत्ताउलो व्यवहारप्रति अत्यन्त दुखित हुँदै पढ्न पठाएकी, पढेर नाम राख्ली भनेकी छोरीले हाम्रो कुलको बदनाम गरी भनी अत्यन्त दुःख मानेर मप्रति अत्यन्त घृणा व्यक्त गर्दै थुक्क थुकेर आँखाबाट आँसु झार्दै त्यहाँबाट बिदा हुनुभयो ।

वर्षदिन बित्न कतिबेर । जेलबाट छुटेपछि मलाई स्वागत गर्न आउनेमा दिलु र उसकै साथी थिए । उनीहरुले मलाई आफ्नै ग्रुपको सदस्य बनाए । ममा घर फर्कने र क्याम्पस जाने हिम्मतै भएन । म दिलुहरुको ग्रुपको साझा द्रौपदी बनेँ । दुई–तीन वर्षपछि मेरो पेटमा एउटा बच्चा हुर्कन थाल्यो । कसैले मेरो भन्ने आँटै गर्न सकेनन् । १० महिनापछि एउटा बच्चा जन्मियो तर बचाउन सकिनँ । म बिरामी पर्दै गएँ, सबैले मेरो साथ छोडे । टोलकै एकजना भलाद्मीले मलाई उपचार गर्न अस्पताल पु¥याए । जाँच गराउँदा एचआइभी/एड्स भएको रिपोर्ट आयो । म छाँगाबाट खसेझैं भएँ । अब म कहीँकी रहेन, कसैकी रहेन । मेरो जीवन संसार अँध्यारै अँध्यारोले छोप्यो । जीवन शून्य–शून्य बन्यो । यो पापी पेटले यसरी माग्दै–माग्दै, मृत्यु पर्खदै हिड्ने गराएको छ । बुवा– म यहीँ धर्तीकी अभागिनी सन्तान हुँ ।’

सुश्मा नानी, मैले एउटा प्रस्ताव राख्छु, मान्छ्यौ ?

कस्तो प्रस्ताव बुवा ?

तिमीले बुवा भनिहाल्यौ, हो त्यहीँ– मैले छोरी भन्ने प्रस्ताव । तिमी हाम्री छोरी भएर यस घरमा जति समयसम्म बस्न मन लाग्छ बस । जुन दिन तिमीलाई यहाँबाट जान मन लाग्ला खुशीसाथ जान सक्ने छ्यौ, मञ्जुर छ ?

बुवा, तपाईं मेरो लागि ईश्वरसमान हुनुहुन्छ । एउटी असहाय नारीले सहारा पाउनु मेरो लागि अहोभाग्य हो तर के गर्नु बुवा म त एड्स रोग लागेकी मान्छे, कसैले छि छि र दूर दूर ग¥यो भने आजको दिनको पीडाभन्दा त्यसबेलाको पीडा बेशी हुनेछ । त्यसैले मलाई स्वतन्त्र छोडि दिनुहोस् ।

हेर छोरी एड्स एउटा सरुवा रोग हो पनि, हैन पनि । सचेत किसिमले व्यवहार गरियो भने यो रोग कसैलाई पनि सर्दैन । यो रोग लागेपछि म चाँडै मर्छु भन्ने सोँच लिनु पनि गलत हो । आत्मविश्वास बढायो भने हामी धेरै वर्षसम्म बाँच्न सक्छौं । सरसफाइमा विशेष ध्यान पु¥यायो भने यो आफै टाढा भाग्छ । कसरी यो रोग एक जनाबाट अर्को मानिसमा सर्छ भन्ने कुरा बुझेर सोहीअनुसार सतर्क भएर व्यवहार गरेमा यो कसैमा पनि सर्दैन । यो आफै सर्ने रोगै होइन । तिमी सचेत पढेलेखेकी महिला हौ । तिमीमा भित्रैदेखि हिजो जे भयो भयो, अबदेखि यसो हुने छैन भन्ने सोँचको विकास भयो भने तिमीबाट रोग आफै टाढा भागेर जानेछ । बाँकी जीवन सुन्दर जीउनका लागि यो महत्वपूर्ण पक्ष पनि हो । म तिमीलाई हरेक कुराबाट मद्दत गर्न चाहन्छु, स्वीकार्य छ ?

एउटा कुरा भनिहालौं, हाम्री छोरी समुन्नति एक वर्षअघि सदा–सदाका लागि हामीलाई छोडेर ईश्वरकी प्यारी हुन पुगेकी छिन् । उनको मृत्युपश्चात उनकी आमा बिरामी भएर बिछ्यौनामा सुतिरहेकी छिन् । हाम्रा छोरा–बुहारी कोही अमेरिका, कोही अष्टे«लियामा बसोबास गर्दै आएका छन् । हाम्रो सहारा एउटी छोरी पनि हामीबाट टाढा भइसकेकी छिन् । अहिले हाम्रो सहारा कोही पनि छैनन् । माटोको भर ढुङ्गा, ढुङ्गाको भर माटो भनेझैं तिमीलाई पनि भरविश्वास चाहिएको छ, हामीलाई पनि । त्यसैले छोरी सुश्मा यहाँबाट जाने कुरा नगर है । आमाको भरोसा तिमीप्रति भयो भने उनलाई सञ्चो लाग्छ कि ?

अबदेखि तिमीले कसैसँग पनि मलाई यस्तो रोग लागेको छ भन्ने नगर है । मैले पनि तिम्री आमालाई तिम्रो रोगबारे कहिल्यै भन्ने छैन । हिड भित्र जाउँ । यो आजदेखि तिम्रो कोठा हो, यसमा जे–जे छ प्रयोग गर । चाहिएको पछि व्यवस्था गरौंला, हुन्न ?

हुन्छ बुवा, आजदेखि म तपाईंहरुकी छोरी भएर भित्रिदैछु । मैले जे सक्छु आमाकै निम्ति गर्नेछु । तपाईंले दिएको सल्लाह सुझावलाई निरन्तर पालना पनि गर्नेछु । तपाईंहरु जस्तो आमा–बुवा पाउनु मेरो लागि अहोभाग्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *