जाडोमा रुघाखोकी लागे के गर्ने ?

  
  प्रकाशित मितिः बुधबार, पुस १९, २०७४       | 458 Views   ||

जब चिसो सुरु हुन्छ, रुघाखोकीले सताउँछ । बाह्य चिसोलाई शरीरले थेग्न नसकेपछि हामीलाई रुघा लाग्छ । रुघा आफैमा जटिल समस्या होइन । मौसमी संक्रमण हो । यद्यपी रुघा लागेपछि नाकबाट निरन्तर पातलो सिंगान झर्छ । यसले गर्दा हाम्रो दैनिक कार्यसंचालनमा वाधा पुग्छ । रुघाको कारण ज्वरो पनि आउँछ । यसले निमोनियाको खतरा पनि बढाउँछ ।

किन यस्तो हुन्छ ?

चिसोमा यदाकदा रुघा लाग्नु सामान्य हो । यद्यपी बारम्बार दोहोरिरहन्छ भने त्यसले जटिलता ल्याउँछ । चिसो मात्र होइन, धुलो र धूँवाको कारण पनि रुघा लाग्छ । यसलाई एलर्जिक रायनाइटिस भनिन्छ । यो एक प्रकारको एलर्जी हो ।

यसले नाकमा असर पार्ने गर्छ । पटक पटक हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, नाक बन्द हुने, नाक चिलाउने, टाउको दुख्ने, आँखाको मुनि कालो बस्ने जस्ता समस्या हुन्छ ।

किन हुन्छ ?

एलर्जिक रायनाइटिस विभिन्न कारणले हुने गर्छ । जुन यस प्रकार छ :
– घरमा जमेको धुलो
– घासको परागको कण
– जनावरको रौं
– धुलो, धुवाँ, प्रदुषण
– अण्डा, दूध, दाललगायतको खाद्य पदार्थ
– सामान्य रुघाखोकीभन्दा जटिल

सामान्यतयाः धेरैलाई हुने रुघाखोकीको समस्या भाइरसका कारण हुने गर्छ, जब कि एलर्जिक रायनाइटिस एलर्जन्सका कारण हुने गर्दछ ।

यद्यपी, एलर्जिक रायनाइटिसमा ज्वरो आउने वा जीउ दुख्ने लगायतको समस्या देखिदैन । नाकबाट निरन्तर बग्ने सिँगान पनि पहेलो नभई सेतो पानी–पानी जस्तो हुन्छ । हाँच्छिउ पनि निरन्तर आउँछ । नाक, कान तथा घाँटीमा चिलाएजस्तो महसुस हुने तथा आँखाबाट पानी बग्ने गर्छ ।

यस्ता समस्या साधारण रुघाखोकीको तुलनामा लामो समयसम्म रहने गर्दछ । र, समयमै यस समस्याको समाधान नगरेको अवस्थामा यसले अन्य समस्याहरु समेत निम्त्याउन सक्छ ।

नाकभित्र गाँठो

नाक भित्रको छाला सुन्निएर त्यहाँ गाँठो परेमा त्यसलाई नोजल पोलिप्स भन्ने गरिन्छ । यस्तो पोलिप्स यति धेरै ठूलो हुनसक्छ कि यसले नाकको प्वाल टालेर सास फेर्नमा कठिनाई उत्पन्न हुनसक्छ ।

सायनुसाइटिस

नाकभित्र रहेको हड्डी वरिपरि खाली ठाउँ रहेको हुन्छ जसलाई सायनस भन्ने गरिन्छ । नाकबाट धेरै सिगान बग्नाले सायनसमा नाकको फोहर जम्ने गर्दछ जसले गर्दा रोगको किटाणु उत्पन्न हुन सक्छ ।

दम/आज्मा

नाक सुनिनु, नाकबाट पानी बग्नु, नाक तथा घाटी चिलाउन जस्ता लक्षण लामो समयसम्म रहिरहे दम वा आज्मा हुनसक्दछ ।

कन्जिक्टिभाइटिस

आँखाका सेतो भागको माथिल्लो तहलाई कञ्जक्टिभा भन्ने गरिन्छ । एलर्जिक रायनाइटिसको असर कन्जिक्टिभाइटिसमा पनि हुनसक्छ । जसका कारण आँखा सुनिने, आँखा रातो हुने, आखा चिलाउने तथा आँखाबाटपानी बग्ने गर्छ ।

यस्तो समस्या भएमा कयौं मानिसहरु चिकित्सकको सल्लाह बिना नै औषधीको सेवन गर्दछन् । जब कि एलर्जिक रायनाइटिस भएमा चिकित्सकको सल्लाहपछि मात्र औषधी खानुपर्छ ।

बच्ने उपाय

एलर्जिक रायनाइटिसका समस्या भएमा एलर्जी गराउने तत्वबाट सकेसम्म टाढा बस्नु उपर्युक्त हुन्छ । यसको लागि यी उपाय गर्न सकिन्छ ।

– रौं भएका जनावरबाट टाढा रहने । यस्ता जनावरलाई सुत्ने कोठाबाट टाढै राख्ने ।

– घरमा राखिएका पर्दा, तन्ना, ओढ्ने लगायतलाई धोएर सफा राख्ने ।

– सकेसम्म तकिया तथा गद्दालाई प्लाष्टिकले बधर राख्ने । पाँच वर्षभन्दा पुराना गद्दालाई बदल्ने । किनकि त्यस्ता गद्दामा धेरैभन्दा धेरै धुलो जमेर बसेको हुन्छ ।

– घरको सरसफाइ गर्दा भ्याकुम क्लिनरको प्रयोग धेरैभन्दा धेरै गर्ने । घरका फर्निचर तथा भुई सफा गर्दा भिजेको कपडाले सफा गर्ने । किनकि भिजेको कपडाले भुई सफा गर्दा धूलो कम उड्नुका साथै जमेर बसेको धुलो राम्ररी सफा हुने गर्दछ ।

– त्यसबाहेक, घरका भित्तामा ढुसी लागेको छ भने त्यसलाई साबुन, पानी तथा ब्लीचले राम्ररी सफा गरेको खण्डमा पनि यस्ता समस्याबाट बच्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *