दाङ । गोरखा एजुकेशनल ग्रुपद्वारा सञ्चालित गोरखा पब्लिक माध्यमिक विद्यालयले स्थापनाको २० औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले सोमबार विशेष समारोहको आयोजना गरी २० औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो ।
विशेष समारोहका बीच प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले पानसमा बत्ती बालेर वार्षिकोत्सवको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले अबका शिक्षण संस्थाहरुले समयको मागअनुसारको गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभयो । बेरोजगार सिर्जना गर्ने नभएर दक्ष जनशक्ति उत्पादन गर्नसक्ने गुणस्तरीय शिक्षा दिनुपर्ने भन्दै श्रेष्ठले दक्ष बनाउने शिक्षाले मात्र देशलाई समृद्धिको बाटोमा डो¥याउने बताउनुभयो ।
अबको शिक्षा डिजिटल र सूचना प्रविधिमा आधारित हुन्छ : सिइओ घर्ती
कार्यक्रममा बोल्दै गोरखा ग्रुपका सिइओ नवलसिंह घर्तीले शिक्षा क्षेत्रलाई समयसापेक्ष परिमार्जन गर्दै लैजान गोरखा पब्लिक माविले अबको शिक्षा डिजिटल प्रविधिमा आधारित भएर दिने बताउनुभयो । अबको शिक्षा आधुनिक हुनुपर्नेमा जोड दिदै घर्तीले अब छिट्टै सूचना प्रविधिमा आधारित शिक्षण शुरु गरिने बताउनुभयो ।
घर्तीले आफ्नो विद्यालयले अब अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्ने दावी गर्नुभयो । विद्यालयले भौतिक निर्माणका सम्पूर्ण काम पूरा गरिसकेको बताउँदै उहाँले गोरखा ग्रुप मातहतका सबै शैक्षिक संस्थाहरुमा अन्तर्राष्ट्रिय मापदण्डमा शिक्षा दिइने बताउनुभयो ।
‘द गोरखा’को विमोचन
यसैबीच विद्यालयको वार्षिक प्रकाशन ‘द गोरखा’ म्यागजिन सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ र गोरखा ग्रुपका अध्यक्ष मानबहादुर बुढाले म्यागजिन सार्वजनिक गर्नुभएको थियो ।
विजेताहरुलाई पुरस्कार वितरण
वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका सप्ताहव्यापी खेलकूद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्राहरु तथा गत वार्षिक परीक्षामा सबैभन्दा धेरै अंक ल्याएर उतीर्ण हुने छात्रछात्राहरुलाई उक्त अवसरमा पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै, यस वर्षको उत्कृष्ट शिक्षकतर्फ चमेली पुन र उत्कृष्ट कर्मचारीतर्फ राजकुमारी चौधरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत र नाटक प्रस्तुत गरेका थिए भने विभिन्न विज्ञान सामग्रीहरु प्रदर्शन गरेका थिए । त्यस्तै, एनसीसी क्याडेट्सका छात्रछात्राहरुले प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई मार्चपाससहित सलामी अर्पण गरेका थिए ।
विद्यालयका संस्थापक अध्यक्ष मानबहादुर बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष यादव गिरी, घोराही उप–महानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, अभिभावक नारायण पुरीलगायतले विद्यालयलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
विद्यालयको नेपाली विभागका प्रमुख भीमप्रसाद बेलबासेले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागी सबैलाई विद्यालयका प्रधानाध्यापक मानसिंह घर्तीले स्वागत गर्नुभएको थियो ।