दुम्ला भिडण्तका प्रत्यक्षदर्शीको बयान- हवाई हमलाका भयानक ६ घण्टा

  
  प्रकाशित मितिः बिहिबार, पुस २०, २०७४       | 2656 Views   ||

जनमुक्ति सेना फाइल तस्बिर स्रोत : गुगल

‘लौ लौ साथी हो छिटो गरौं, फाइट शुरु भइहाल्यो । गाउँतिर भएका सबै साथीहरु छिटो सेफ हुने (सुरक्षित स्थानतिर लाग्ने) भन्नेछ, तपाईहरु सबै आरएचक्यू (क्षेत्रीय हेडक्वार्टर) सँग कोर्डिनेशन गरेर जंगलतिर लाग्नुप¥यो ।’

सम्चारे कम्रेडको कडा कासनसँगै आधा भात थालीमै छोड्दै गुण्टागुण्टी बोकेर जंगलतिर टाप कसियो । पन्ध्र मिनेटजति उकालोमा हस्याङ–फस्याङ गर्दै दौडेपछि जंगलको छेऊमा पुगियो । त्यतिञ्जेल तल त्रिवेणी खोला आसपासमा पड्किएका बमगोलाका धमकाले वारिपारिका पहाडहरु थर्किन थालिसकेका थिए । र, क्षणभरमै शान्त त्रिवेणी खोला, गैरीगाउँ, दुम्ला एवम् आसपासका डाँडापाखाहरु युद्धभूमिमा परिणत भइसकेका थिए ।

डिल्ली मल्ल

हप्ता दिनअघिदेखि नै हाम्रो पिछा गरिरहेका सरकारी सेनाका जासुसी विमान र लडाकु हेलिकोप्टरले त्यसदिन बिहानैदेखि हामीमाथिको आकाशमा कयौं चक्कर मारिसकेका थिए । उता पैदलरुपमा चारैतिरबाट सरकारी सेना ‘पाथिभरा अप्रेसन’ लिएर घेरा कस्दै अघि बढिरहेको खबर आइरहेको थियो । यसले गर्दा पनि सम्भावित भिडण्तलाई झनै नजिक्याइरहेको थियो ।

०६२ पौष ११ को बिहान । हामी थियौं, रोल्पाको पश्चिम–दक्षिण क्षेत्र गैरीगाउँको दुम्लामा । सरकारी सेना पाथिभरा अप्रेशन लिएर ‘माओवादी आधारइलाका’ तहसनहस पार्ने योजनाकासाथ अघि बढिरहेको थियो भने माओवादी एकतर्फी युद्धविरामको घोषणा गरी देशभर राजनैतिक कार्यक्रममा व्यस्त थियो ।

सोही क्रममा आधारइलाकामा कार्यरत माओवादी जनसेना तथा नेता कार्यकर्ताहरु लोकतान्त्रिक जनप्रदर्शन अभियानको क्रममा आधारइलाकाका पाँचओटै जिल्लामा जनसभा र मार्च गर्दै हिडिरहेका थिए । रोल्पाको भावाङ, रुकुमको रुकुमकोट, सल्यानको थारमारे र दाङको बाघमारेमा जनसभाहरु सम्पन्न गरेर उक्त टोली प्यूठानको लागि अघि बढ्दै थियो । साथै जनमुक्ति सेना ‘ढाडमा टेकेर टाउको हान्ने’ गण्डक अभियानमा हिड्दै थियो ।

अभियानकै क्रममा त्यसदिन जनमुक्ति सेना नेपाल पाँचौं डिभिजन र आधारइलाकाका माओवादी नेता कार्यकर्ताहरुको ठूलै समूह थियो– दुम्ला र आसपासका गाउँमा । हिउँदयाम भएपनि त्यति सारो जाडोको महसुस भएको थिएन । बिहानैदेखि सरकारी सेनाको बढ्दो चलखेलले स्थिति फेरिदै थियो । जनमुक्ति सेना सरकारी सेनाको सम्भावित आक्रमणबाट बच्न र पाथिभरा अप्रेशनको लक्ष्य तहसनहस पार्न आ–आफ्नो आर्कमा तयारी अवस्थामा बसिसकेको थियो ।

हामी दुम्ला गाउँको सिरानमा पुगिसकेका थियौं– जंगल छेऊमा । दुई/चार जना भए पो गाउँमै छिप्न सकिन्थ्यो, हामी त थियौं झण्डै चार हजारको संख्यामा । त्यसैले सरकारी सेनाको आँखा छल्न र हवाई हमलाबाट बच्न सबैभन्दा उत्तम उपाय जंगलमा लुक्नु नै हुन्थ्यो ।

हवाइ हमलामा यस्तै मोडेलका हेलिकोप्टर प्रयोग भएका थिए । यो तस्बिर गुगलबाट लिइएको हो ।

दिउँसोको ११ बजिसकेको थियो त्यतिखेर । दुम्लागाउँकै पल्लो डाँडोमा घमासान भिडन्त भइरहेको थियो– जनमुक्ति सेनाको ज्वारस्मृति ब्रिगेड र त्रिवेणी भएर अघि बढेको सरकारी सेनाको बीचमा । करीब पौने घण्टासम्म त लडाई घमासान नै भयो । न त सरकारी सेना अघि बढ्न सक्यो न त जनमुक्ति सेनाले लखेट्न नै सक्यो ।

जनमुक्ति सेनासँग लडाईका लागि आवश्यक पूर्वतयारी नै थिएन । उ त राजनैतिक अभियानमा हिडिरहेको थियो । तर, सरकारी सेना भने माओवादी आधारइलाका ध्वस्त पार्ने पूरापुर तयारीका साथ चारैतिरबाट ठूलो संख्यामा परिचालित थियो । स्थल र हवाई सर्पोट पनि राम्रोसँग मिलाएको थियो उसले । पौने घण्टासम्मको आमनेसामने भिडन्तपछि जब सरकारी सेनाले हवाई हमला गर्न थाल्यो, लडाईको टे«न नै बदलियो । र, उसले एकतर्फी हवाई हमला तेज बनायो ।

त्यसपछि…

ठूल्ठूला सल्लाका फेदहरु हाम्रो सहारा बने– फाइटर हेलिबाट हानेका गोलीबाट बच्नका लागि । झ्याम, बुट्यान र रुखहरु दृष्टिकभर बने– जासुसी विमानको आँखा छल्नका लागि । जासुसी विमानले देख्यो कि हमला गर्न हेलिलाई निर्देशन दिइहाल्थ्यो । त्यसैले दृष्टिकभरमा लुकेर जासुसी विमानबाट ओझेल पर्नुको विकल्प थिएन ।

दुम्लाको आकाशमा विशेष यन्त्रजडित जासुसी विमान र अत्याधुनिक हतियारजडित दुई/दुईवटा लडाकु हेलिले दर्जनौंपटक चक्कर मार्दै एकोहोरो अन्धाधुन्ध गोली र मोर्टारहरु वर्षाइरहे । हवाई हमलाको प्रतिरोध गर्न जनसेनासँग न त पर्याप्त हतियार थियो न त अवस्था नै । त्यसैले जनसेना पनि आ–आफ्नो पोजिसन एक्सपोज नगरी जंगलमै छिप्यो ।

आकाशबाट सरकारी सेनाको जासुसी विमानको निर्देशनमा लडाकु हेलिकोप्टरले यस्तो हमला ग¥यो कि सायद बमगोलीहरु पनि उम्रने भए आजभोलि दुम्ला र आसपासका गाउँहरुमा बमगोलीका रुखहरुले ढपक्कै ढाकिसकेका हुने थिए ।

दिउँसो १२ बजेदेखि शुरु भएको हवाई हमला साँझ अँध्यारो नहुँदासम्म जारी रह्यो । तर, जासुसी विमानको निगरानी र निर्देशनमा दुईवटा लडाकु हेलिकोप्टरको लगातार ६ घण्टाको भीषण हमलामा अर्बौं खर्चेर सर्वसाधारणलाई आतंकित पार्नेबाहेक त्यति ठूलो उपलब्धि हाँसिल गर्न सकेन । हाम्रो लागि भने ६ घण्टाको त्यो छोटो समय निकै लामो, सन्त्रासमय, भयानक हुनुकासाथै युद्धमोर्चाको प्रत्यक्ष अनुभूति गर्ने अवसरको रुपमा पनि बित्यो ।

चिल्लो टेबलअघि बसेर काल्पनिक युद्धका कलात्मक कथा पढेर आफूलाई कथाको हिरोसँग तुलना गर्दै रोमाञ्चित हुनु र टाउकैमाथिबाट बमगोला बर्षिरहेको विभत्स, भयावह र वास्तविक कथाको पात्र बन्नु । अहो ! पूरै आकाश पातालको फरक कुरा रहेछ । युद्धमोर्चा गफाडीले गफ लगाएजस्तो सजिलो कहाँ रहेछ र ? सुइकिदै आउने गोलीले टाउकैमाथिका रुखका पातहरु झार्दा, आफू उभिएको जमीनै थर्काएर मोर्टारहरु विष्फोट हुँदा……….???

साँच्चै, त्यतिबेला हाम्रो हालत हेर्नलायककै थियो ।

खैर हामी थियौं एक भीषण युद्धमोर्चाको बीचमा । हाम्रो मनस्थिति जे जस्तो भए पनि युद्धमोर्चाको आभारभूत नियम हामीले पालना गर्नैपर्दथ्यो । सकेसम्म प्रतिरोध गर्ने र नसके पछि हट्ने त युद्धको सामान्य नियम नै हो । हामी पनि ठीक त्यही हालतमा थियौं । युद्धमोर्चामा आइपर्ने सम्भावित खतराबाट सन्त्रस्त, भयभीत र आक्रोशित हामी जबर्जस्त युद्धमोर्चाको वास्तविकता, विभत्सता र भयावह अवस्था भोगिरहेका थियौं त्यतिखेर । र, क्रमशः पछि हटिरहेका थियौं ।

अघि नै बताइसकें हवाई हमला हुनुपूर्व नै हामी जंगलमा पुगिसकेका थियौं । बाजागाजा, ड्रेस र अन्य सरसामानले भरिएका ठूल्ठूला झोलाहरु, सोलार सेट, कम्बललगायतका सामानले बेस्सरी थिचिएका थियौं हामी । एकातिर सामान सुरक्षित पनि गर्नु थियो, अर्कोतिर युद्धमोर्चामा घाइते भएका योद्धाहरुलाई सुरक्षित गर्नुपर्ने जिम्मा पनि ।

सानातिना भिडन्त, हवाई आक्रमण, सरकारी सेनाको घेराबन्दी र लखेटाईमा परे पनि यति लामो र भीषण आक्रमणमा यसअघि परिएको थिएन । त्यसले गर्दा पनि कता–कता आतंकित र हतोत्साही भइयो शुरुमा ।

हवाई हमला शुरु भएलगत्तै तत्कालिन केन्द्रीय आधारइलाका ईन्चार्ज विप्लव, तत्कालिन जनमुक्ति सेना नेपाल पाँचौं डिभिजन कमिस्नर सुर्दशनलगायतका नेताहरुलाई पनि हामीसँगै देख्दा मन अलि ढुक्क भयो । तर, पछि को कतातिर लागे, थाहा भएन । दिनभरजसो दुम्लागाउँ माथिको जंगलमा कतिबेला दश/पन्ध्रजना, कतिबेला चार÷पाँच जना भएर बिताइयो ।

सरकारी सेनाले दर्जनौंपटक टाउकैमाथिबाट चक्कर मार्दै लडाकु हेलिबाट एचएमजी, एलएमजी, जीपीएमजीबाट खाजा भुटेसरी अन्धाधुन्ध आक्रमण गरिरहे । उनीहरुलाई न त गाउँघर, सर्वसाधारण, गाईभैसी र घरगोठको मतलब थियो न त अरु कुनै । दुम्ला र वरपरको जंगल, डाँडापाखा, भीरपहरा र गाउँबस्ती सबै–सबै ‘आतंककारी’ बनेका थिए उनीहरुका लागि । र, ‘आतंककारी’हरुको अन्त्य गर्न जथाभाबी बमगोली बर्षाउनमै व्यस्त थिए ।

बेला–बेलामा खसाल्ने मोर्टार र बमका धमकाले जमीनै भासिएजस्तै गरी थर्काउँथ्यो भने टाउकैमाथिका रुखका पात झार्दै गोलीहरु चुइकिदा मुटु नै सिरिङ्ग हुन्थ्यो । हेलिबाट आक्रमण भइरहँदा हामी ठूल्ठूला सल्लाका फेदवरिपरि घुम्दै गोली छल्थ्यौं ।

त्यतिखेर लाग्थ्यो, ‘हामी कस्तो अर्कै संसारका जीवहरु रहेछौं र उनीहरु यसरी हामीमाथि खनिरहेका छन् । राष्ट्रको अरबौं ढुकुटी सिध्याएर आफ्नै देशका नागरिकमाथि किन यस्तो आक्रमण ? आखिर हामीले न्याय, समानता र स्वतन्त्रताको माग गरेका न हौं । सबैखाले उत्पीडन, शोषण दमनको अन्त्य गर्न पो भनेका हौं । खैर, हाम्रो यो आवाज उनीहरुका लागि अर्कै लागेछ । केही छैन, जसले पनि सकेजति न गर्ने हो । कहिलेसम्म यस्तै गरी गोली बर्साएर तिमीहरु हामीलाई सिध्याउने रहेछौ ? हामी पनि हेरौंला ।’

अरबौंको खर्च गरेर सरकारी सेनाले दुई/दुईवटा हेलिकोप्टर र जासुसी विमानबाट आक्रमण गरिरहँदा पनि हामी सकुशल थियौं । अर्थात् उनीहरुको लक्ष्य, उद्देश्य एक हात पर पनि सरेको थिएन । त्यसैले हवाई हमला र सम्भावित खतराका बीचमा पनि उनीहरुका लागि हामी ज्यादै मूल्यवान् र दुर्लभ हुन पाएकोमा गौरव गरिरहेका थियौं ।

हमलाको बेला हेलि र विमानबीच उनीहरु सेटमार्फत् नियमित कोर्डिनेशन र निर्देशन गरिरहेका हुन्थे । उनीहरुले सेटमा बोलेको कुरा हामीले एमएफ रेडियोमार्फत् सजिलै सुन्न सक्थ्यौं । उनीहरुबीचको कुराकानीले कतिखेर उनीहरुको आक्रमण र योजनाका बारेमा बुझ्न सहज हुन्थ्यो भने कतिखेर आतंकित तुल्याउँथ्यो ।

खुल्ला डाँडो वा गोठबाहिर निस्कियो कि जासुसी विमानबाट हेलिलाई निर्देशन दिइहाल्थ्यो । सायद उनीहरु मनोवैज्ञानिकरुपमा हामीलाई आतंकित पार्न पनि चाहन्थे । र, अनुमानकै भरमा भनिदिन्थे– ‘लौ, ऊ त्यो डाँडाको रातो घरमै मोर्टार खसाल्, ऊ परको घरको झुप्रोमै हान्दे, सालेहरु त्यहीभित्र बसेका छन्, त्यो घर्तीगाउँ जाने बाटोको जंगलमा लुकेका छन्, त्यतातिर आक्रमण गर्, त्यो बाँसको झ्याङमै हान, बाँस काटिरहेका छन् सालेहरुले, त्यही सिध्याइदे ।’ यस्तै–यस्तै ।

हुन पनि त्यतिबेला साथीहरु स्टे«चर बनाउन बाँसको झ्याङमा गएकै थिए । हामी पनि त घर्तीगाउँ जाने बाटोकै जंगलमा छिपेका थियौं । त्यसैले बेला–बेलामा उनीहरुको सेटमा बोलेका कुराले हामीलाई झस्काउँथ्यो । र, साँच्चिकै देख्यो कि भनेर सल्लाको फेद र बाक्लो झाडीतिर लुक्न बाध्य बनाउँथ्यो ।

हवाई हमलाको करीब दुई घण्टापछि केही साथीहरु घाइते भएको खबर आयो । र, साथीहरुलाई तत्काल अलि सुरक्षित स्थानतिर ल्याउनुपर्ने भयो । आकाशबाट आक्रमण जारी छ, फिल्डमा साथीहरु घाइते भइसक्नुभएको छ । घाइतेहरुलाई उपचार गर्न साथमा न त पर्याप्त औषधी र डाक्टरहरु छन् न त घाइतेलाई बोक्न स्टेचर वा अरु कुनै साधन नै ।

आक्रमणकै बीचमा रुखका बोटको कभर लिदै चार/पाँच जना लागेर खुल्ला ठाउँबाट एकजना घाइते जनसेनालाई बल्लतल्ल जंगलमा ल्याइपु¥यायौं । हृष्टपुष्ट, मोटो र अग्लो शरीर, ठूलो जीऊ भएका उनलाई चारजनाले बल्लतल्ल जंगलसम्म ल्याएका थियौं । उनको दायाँ खुट्टाको फिलामा पछाडिपट्टीबाट गोली लागेको थियो । घाऊबाट रगत बगिरहेको थियो भने गोली पनि शरीरमै थियो ।

हेलिको आक्रमणबाट जोगिदै जंगलसम्म त आइयो तर उनलाई बोक्न हामीसँग स्टे«चर नै थिएन । त्यसैले रुखका हाँगा भाँच्यौं, बोक्रा उतारेर डोरी बनायौं, सलले बेरेर अस्थायी स्ट्रेचर बनायौं र घाइतेलाई बोकेर जंगलको बीचबाट भीरभीरै उकालो लाग्यौं । त्यतिबेला फेरि हाम्रो हालत झनै हेर्नलायक बनेको थियो ।

एकातिर सरकारी सेनाको जासुसी विमानले देख्छ कि भन्ने डर, अर्कोतिर भीरमा खुट्टा फुत्किएला भन्ने डर । काँधमा घाइतेलाई बोकेको अप्ठ्यारो स्टे«चरको गह्रौं भारी । रुनलाई आँखाबाट आँसु र मुखबाट आवाजमात्र निस्किएन त्यतिखेर । हिउँदयामको चिसोमा पसिनाले लछप्पै भिजियो ।

उता घाइते योद्धाको क्रन्दन पनि कम पीडादायक थिएन । उनले भन्दै थिए– ‘कमरेडहरु मलाई एक्लै छोडेर नजानुहोला, ठूलो घाऊ छैन म बाँच्न सक्छु ।’ अप्ठ्यारो प¥यो भने जंगलमै फालेर जान्छन् कि भन्ने उनलाई डर थियो । र, धेरै रगत बग्यो भने घाइते जीन्दगी गुज्रिन पनि के को बेर ?

कतिबेला दृष्टिकभरमा त कतिबेला सल्लाको फेदमा घुस्रिदै, कतिबेला घाइतेलाई स्याउलाले छोपेर त कतिबेला रुखको छायामा लुक्दै एकघण्टाजति लाग्ने उकालोमा चार घण्टा लगाएर साँझ पाँच बजेतिर डाँडोनजिकै पुगियो । त्यतिञ्जेल पनि हवाई आक्रमण रोकिएको थिएन ।

हामी एकजना घाइतेसहित साथमा दश/बाह्रजना मात्रै थियौं । अरु साथीहरु कहाँ गए, कति सहिद भए, कति घाइते भए ? अहँ, कुनै पनि जानकारी थिएन । पूरै अनिश्चित, सन्त्रस्त र भयभीत थियौं हामी । लाग्थ्यो, ६/६ घण्टा लामो र भीषण हमलाले हाम्रा आधाजति साथीहरु त सहिद भइसके होलान् । कयौं घाइते भएर फिल्डमै छट्पटाइरहेका होलान् । र, रगतको खोला नै बगेको होला । हुन सक्छ, अब छिट्टै हाम्रो पनि पालो आउँदैछ । तर, त्यस्तो भएन ।

साँझ पर्न लाग्यो, हवाई हमला पनि बिस्तारै कम हुँदै गयो । अँध्यारो भएपछि हेलि फर्किने भएकोले हामी कतिबेला अँध्यारो होला भनी प्रतिक्षा गरिरहेका थियौं । सरकारी सेनाको चौतर्फी घेराबन्दी र अप्रेशन जारी रहेपनि हेलि र विमान फर्किएपछि सम्भावित मृत्युको मुखबाट बचेर फर्किन पाएकोमा भने मन केही शान्त भएको थियो ।

झमक्क साँझ प¥यो । हामी घर्तीगाउँको लोसीवाङ झर्ने मुल बाटोकै छेऊमा थियौं । दिनभरको हवाई हमलामा दुई/चारजना पनि नदेखिएका सयौं माओवादी नेता कार्यकर्ता र जनसेनाहरु जंगलबाट हुलका हुल निस्किन थाले ।

अँध्यारोमा दुम्लाभन्दा माथिको जंगलबाट लागेको लाइन लोसीवाङ पुग्दा पनि सकिएको थिएन । कोही बिरामी बोकेर, कोही आ–आफ्नो टीम र फर्मेशन खोज्दै यताउति गरिरहेका थिए । दिनभरको भीषण हवाई हमलाले त्रसित, भयभीत र सहयोद्धाहरुको सम्भावित बलिदानीको पीडाले सबै सशंकित थिए । दुश्मन सेनाको आक्रमणमा हाम्रो कति क्षति भयो कसैले पनि भन्न सक्ने अवस्था थिएन ।

अँध्यारो रातले धर्ती सारा निलिसकेको थियो । अन्धकार रातसँगै हामी पनि सहयोद्धाहरुसँगको सम्भावित विछोडको पीडाले पिरोलिएका थियौं । र, एक अर्कामा पूरै बेखबर थियौं ।

तीन दिनपछि मात्र थाहा भयो । ६ घण्टा लामो सरकारी सेनाको भीषण हवाई हमलामा हाम्रो तीन जना होनहार सहयोद्धाहरुको सहादत भएछ भने आधा दर्जनजति घाइते हुनुभएछ । उसले भने सयौं ‘आतंककारी लडाकु’हरु मारिएको हुनसक्ने भन्दै पछिसम्म प्रचारबाजी गरिरह्यो ।

पुस १८, २०६६ दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *