काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आव्हान गर्नुभएको सर्वदलीय बैठक भर्खरै बालुवाटारमा सुरु भएको छ ।
बैठकमा प्रदेश प्रमुख नियुक्तिमा राजनीतिक सहमति जुटाउनेबारे छलफल हुँदैछ ।
प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय पार्टीको आकार लिएका ५ पार्टीहरु एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलका प्रमुख तथा प्रतिनिधिहरु बैठकमा सहभागी भएका छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, सशाङ्क कोइराला, कृष्ण सिटौला, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महतो लगायतका नेताहरु सहभागी भएका छन् ।
सरकारले प्रदेश राजधानीको अस्थायी राजधानी प्रस्ताव गरेर मन्त्रिपरिषद्मा बुझाएको छ । यसलाई मन्त्रिपरिषद् बैठकले पारित गर्नुपर्ने हुन्छ । यही विषयमा सुझाव माग्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रियसभा निर्वाचन र नयाँ सरकार गठनका विषयमा समेत छलफल हुने बताइएको छ ।