प्रचण्डले भने- ‘हामी भारत–चीन परस्त होइनौं, नेपाल परस्त हौं’

  
  प्रकाशित मितिः शुक्रबार, पुस २१, २०७४       | 175 Views   ||

चितवन । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू र बाम गठबन्धन भारत र चीन परस्त नभई नेपाल परस्त भएको बताउनुभएको छ ।

शुक्रबार भरतपुर महानगरपालिकाको पहिलो नगर सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो ।

२ सय ४० वर्षसम्म शक्तिको स्रोत राजा महाराजालाई भनिएको र जनतालाई त्यही सिकाएको चर्चा गर्दै प्रचण्डले विगतमा उनीहरु कहिले चीनतिर ढल्किएको त कहिले भारततिर फर्किएको बताउनुभयो ।

‘अहिले हामी त्यो जमानामा छैनौं, गणतन्त्रको युगमा छौं, हामी कसैको अधिनस्थ छैनौं, सार्वभौम अधिकार जनतामा सुरक्षित छ’ उहाँले भन्नुभयो, ‘हामी बामपन्थीहरुको स्वतन्त्र विदेश नीति छ, त्यसैका आधारमा बामपन्थी सरकार अघि बढ्छ । हामी भारतपरस्त पनि होइनौं, चीनपरस्त पनि होइनौं, नेपाल परस्त मात्र हौं।’

कांग्रेस नेताले आफूलाई भावी प्रधानमन्त्री भनेर सम्बोधन गरेकोप्रति टिप्पणी गर्दै प्रचण्डले अरुलाई फुटाउनेतिर लाग्नुभन्दा आफूहरु जुट्नेतिर जोड गर्न कांग्रेस नेताहरुलाई आग्रह गर्नुभयो । ‘अघि कांग्रेसका नेताहरुले मलाई भावी प्रधानमन्त्री भन्नुभयो । तर, म गठबन्धनलाई बलियो बनाएर अघि बढ्ने पक्षमा छु । तपाईं मिल्नेलाई मिल्न दिनुस्, फुटाउनेतिर नलाग्नुस् ।’

पार्टीहरु पटक–पटक विभाजित हुँदा देशको दुर्गति भएको भन्दै प्रचण्डले अब देश बनाउने बेला आएको र कम्युनिष्टहरु मिल्दा कांग्रेसलगायत अरु शक्तिहरु पनि खुसी भएर मिल्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

‘कम्युनिष्टहरु मिल्दा तपाईहरु पनि खुसी हुनुस् । बरु तपाईं कांग्रेसहरु पनि मिल्नुस्, मिल्दा मात्र देशको हित हुन्छ, विकास र समृद्धिको चाहना पूरा हुन्छ, उहाँले भन्नुभयो, ‘हामी सबै मिल्नेतिर लागौं, अब कसैलाई फुटाएर राजनीति गर्नेतिर नसोचौं।’

राजनीतिक क्रान्ति नयाँ चरणमा पु¥याएको भन्दै प्रचण्डले अबको कार्यभार आर्थिक समृद्धि र विकास भएको बताउनुभयो । ‘६० वर्ष पहिले हाम्रै हाराहारीमा रहेका मुलुकहरु धेरै अगाडि बढे’ प्रचण्डले भन्नुभयो, ‘हामीले अब गम्भीर रुपमा सोच्नुपर्छ, जनताले पटक–पटक अवसर दिदैनन्, अहिले पनि जनताले दिएको अभिमतको सम्मान गर्न सकेनौं भने देश अप्ठ्यारोमा पर्न सक्छ ।’

राष्ट्रसेवक कर्मचारीहरुले आफूलाई जनताको शासक होइन, सेवक सम्झेर काम गर्न प्रचण्डले आग्रह गर्नुभयो ।

नगर सभामा मेयर रेनु दाहालले आर्थिक वर्ष २०७४/०७५ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो । प्रस्तावित नीति, कार्यक्रममाथि शनिबारदेखि छलफल गर्ने कार्यतालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *