बंगलाचुली गाउँपालिकाको यस्तो अभियान

  
  प्रकाशित मितिः शुक्रबार, पुस २१, २०७४       | 123 Views   ||

घोराही । दाङको बंगलाचुली गाउँपालिकाले जनताकै घरमा सेवा पु¥याउने हेतुले घुम्ती शिविर सुरु गरेको छ ।

विकट तथा ग्रामीण भेगका जनतालाई उनीहरुको घरदैलोमै विभिन्न सेवा प्रदान गर्ने उद्देश्य अनुरुप शिविर सुरु गरेको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताउनु भयो ।

अभियान अन्तर्गत पहिलो चरणमा गाउँपालिकाको वडा नम्बर ३ को मुलावारीमा स्वास्थ्य, कृषि, पशु शिविर सम्पन्न गरिएको छ । गाउँपालिकाको महिला विकास शाखाले महिलाहरुका लागि बिभिन्न खालका सचेतना अभियानसमेत चलाएको छ । साथै सो अवसरमा महिलाहरुलाई व्यावसायिक सीप सिकाउन तालिम प्रदान गरिएको अध्यक्ष वलीले बताउनु भयो ।

शिविरमा मुलाबारीका १ सय ७० भन्दा धेरै स्थानीयले स्वास्थ्य सेवा लिएका छन् भने अन्य स्थानीयहरुले आवश्यकताअनुसार कृषि शाखाबाट प्रदान गरिने उन्नत जातका तरकारी तथा फलफूलका विउ विजन लिएको वलीले जानकारी दिनुभयो ।

शिविरमा ५ जना पाठेघरको समस्या भएका महिलाहरुको समेत पहिचान भएको छ । उनीहरुलाई अहिले स्कीमिङ अनुसार औषधी प्रदान गरिएको छ भने अवस्था अध्ययन गरेर थप उपचार गरिने गाउँपालिकाका स्वाथ्य शाखा प्रमुख चेतप्रसाद लम्सालले बताउनुभयो ।

गाउँपालिकाको अन्य वडाहरुमा पनि आवश्यकता अनुसार यस्ता शिविर सञ्चालन गरिने अध्यक्ष वलीले बताउनु भयो । ‘यो कार्यक्रम परीक्षणका रुपमा लिएका छौं,’ उहाँले भन्नुभयो, ‘यसको रिजल्ट अनुसार थप वडाहरुमा पनि यस्तै खालका शिविर सञ्चालन गर्ने हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *