जलाधार संरक्षण र स्वास्थ्य केन्द्र स्थापना गर्ने घोराही उपमहानगरको निर्णय

  
  प्रकाशित मितिः शुक्रबार, पुस २१, २०७४       | 343 Views   ||

घोराही अम्बापुरस्थित कृत्रिम ताल

दाङ । घोराही उपमहानगरपालिकाले ६ वटा स्थानमा जलाधार संरक्षणका लागि ड्याम निर्माण गर्ने भएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले नगरसभाबाट पारित जलाधार संरक्षण अन्तर्गत ६ स्थानमा ड्याम निर्माण गर्ने निर्णय गरेको हो ।

विभिन्न ६ स्थानमा ड्याम निर्माणका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको चौधरीले बताउनुभयो ।

उहाँका अनुसार वडा नम्बर ५ को तुईखोलामा १५ लाख, वडा नम्बर १२ को सिस्नेरीमा २५ लाख, वडा नम्बर १३ को ज्यामिरेमा ५५ लाख, वडा नम्बर १७ गुलरियामा ४० लाख, ढिकपुरमा ४५ लाख र वडा नम्बर १८ को गिठेपानीमा २० लाख गरि २ करोड रुपैयाँ खर्च गरेर जलाशय निर्माण गर्ने निर्णय गरिएको छ ।

घोराही बाहुनडाँडास्थित कृत्रिम ताल

नगर कार्यपालिकाको बैठकले अन्य ४ वटा जलाधार क्षेत्रको मर्मतका लागि ५० लाख रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ ।

वडा नम्बर १६ को गंगटे ड्याम मर्मत तथा निर्माणका लागि ३५ लाख, १७ को आरोग्य ड्याम मर्मतका लागि ५ लाख, वडा नम्बर १८ का डवरी र अम्बापुरको लागि पाँच/पाँच लाख गरी ५० लाख रुपैयाँ खर्च गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

यसैबीच नगरस्तरीय तथा वडास्तरीय आयोजनाहरुको अनुगमन गरी प्रभावकारी आयोजना कार्यान्वयनमा सघाउ पु¥याउन उपप्रमुख सीता न्यौपानेको संयोजकत्वमा ६ सदस्यीय योजना अनुगमन तथा जाँचपास समिति गठन गरेको छ ।

समितिका सदस्यहरुमा लछिनप्रसाद बुढा, पशुपति चौधरी, सम्बन्धित वडाका वडाध्यक्ष र सदस्य, एक जना प्राविधिक र शहरी पूर्वाधार विकास महाशाखा प्रमुख सदस्य सचिव रहने गरि समिति बनाइएको छ ।

यसैगरी पूँजीगत निर्माणतर्फ जग्गा खरिद आयोजनामा विनियोजन भएको एक करोड पचास लाख रुपैयाँको कार्यान्वयनका लागि प्रशासनिक तथा व्यवस्थापकीय प्रक्रिया अगाडि बढाई सिफारिस गर्न आर्थिक विकास समितिका संयोजक राममणि पाण्डेयको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ ।

समितिको सदस्यमा कार्यपालिकाका सदस्य बिमला गन्धर्व, सम्बन्धित वडाको वडाध्यक्ष र सदस्य, आर्थिक प्रशासन महाशाखा प्रमुख र सार्वजनिक खरिद शाखा प्रमुख सदस्य सचिबलाई तोकिएको छ ।

नगर स्वास्थ्य केन्द्रका लागि ६० लाख

उपमहानगरले ६ स्थानमा नगर स्वास्थ्य केन्द्र स्थापना गर्न ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

वडा नम्बर १८ मा हात्तीखर्क नगर स्वास्थ्य केन्द्र, वडा नम्बर १७ मा हरिद्वार नगर स्वास्थ्य केन्द्र, वडा नम्बर ६ मा फचकपुर नगर स्वास्थ्य केन्द्र, वडा नम्बर ९ को आन्द्राभरैया नगर स्वास्थ्य केन्द्र, वडा नम्बर ११ मा शिवपुर नगर स्वास्थ्य केन्द्र र वडा नम्बर १८ को घोरदौरामा नगर स्वास्थ्य केन्द्र स्थापना गर्ने निर्णय भएको हो ।

साथै सौडियार, धर्ना, नारायणपुर, रामपुर र हापुर स्वास्थ्य चौकीको मर्मतका लागि ८० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

त्यस्तै खोप केन्द्र स्थापनाका लागि ९ लाख रुपैयाँको व्यवस्था गरिएको छ । हर्नोक, पाँच पोखरी र दक्षिण तेघरा बाह्य खोप केन्द्र निर्माण गरिने भएको हो ।

नगर कार्यपालिकाको बैठकले घोराहीमा योग हल निर्माण कार्यका लागि ४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने, नारायणपुरमा नारायणपुर उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको महोत्सवलाई अनुमति दिने निर्णय गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *