वुटवल । अघिल्लो वर्ष पुस महिनामा रुपन्देहीको देवदहमा दुर्गा तिवारीको गोली प्रहार गरी हत्या भएको थियो । उक्त घटनाको एक वर्ष पुगेलगत्तै अर्का व्यवसायी वसन्त पौडेल गोली प्रहारको निशाना बने ।
२०७३ पुस ४ गते हत्या गरिएका तिवारी इँट्टा व्यवसायी थिए। पौडेलले फर्निचर व्यवसाय गर्दै आएका थिए ।
हत्या गरिएका दुवै व्यक्ति एमालेसँग निकट थिए। तिवारी युवासंघको तत्कालीन जिल्ला अध्यक्ष नै थिए। वसन्त पौडेल एमाले रुपन्देही १ का अध्यक्ष निलकण्ठ पौडेलका छोरा हुन् ।
यी दुवै घट्ना एउटै गिरोहबाट भएको हुन सक्ने अनुमान गरिएको छ। शुक्रबार पौडेलमाथि गोली प्रहार भएलगत्तै रुपन्देहीका सञ्चारकर्मी र विभिन्न व्यक्तिलाई फोन गरी मनोज पुनले हत्याको जिम्मा लिएको बताइएको छ। प्रहरीले यस बारेमा केही भनेको छैन। दुर्गा तिवारी काण्डमा पनि पुनले यसरी नै हत्याको जिम्मेवारी लिएका थिए ।
तिवारी हत्याकाण्डको मुख्य अभियुक्त मनोज पुन भएको प्रहरीको दाबी छ। उनले लेनदेनको विषयमा हत्या गराएको बताइन्छ। गत भदौमा रुपन्देही मणिग्रामका व्यवसायी दुर्गालाल भण्डारीमाथि पनि गोली प्रहार भएको थियो। त्यसको जिम्मा पनि मनोज पुनको समूहले लिएको थियो। भण्डारी बच्न सफल भएका थिए ।
दुर्गा तिवारी हत्याको आरोपमा ८–१० जना जति पक्राउ परेको र उनीहरु कारागारमा रहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवनकुमार भटराईले जानकारी दिए ।
त्यस्तै अरु घटनामा संलग्न पुनले परिचालन गरेका भनिएकाहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न केही पक्राउ परेपनि मुख्य आरोपी पुन भने पक्राउ परेका छैनन् । उनी नेपाल बाहिर रहेकाले पक्राउ गर्न नसकिएको प्रहरीले बताउने गरेको छ ।