अब थारु भाषामा सरकारी कामकाज

  
  प्रकाशित मितिः आइतवार, पुस २३, २०७४       | 110 Views   ||

दाङ । घोराही उपमहानगरपालिकाले आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले प्रथम नगरसभाबाट पारित गरेको नीति कार्यक्रमअनुसार थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।

अब घोराही उपमहानगरपालिका र सो अन्तर्गतका सबै वडा कार्यालयहरुमा आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागु गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको हो ।

अब थारु भाषाबाट आएका निबेदनहरु दर्ता गरी कार्य सम्पादन हुनेछ भने कार्यालयहरुमा नगर प्रमुख नरुलाल चौधरीसहितका जनप्रतिनिधि र थारु समुदायका कर्मचारीहरु थारु सेवाग्राहीसँग आफ्नै भाषामा कुराकानी गर्नेछन् ।

त्यसैगरी नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले कृषि शाखाबाट संचालित अनुदान कार्यक्रमका लागि परेका निबेदनको मूल्यांकन गरि छनौट गर्न आर्थिक समितिका संयोजक राममणि पाण्डेयको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा कार्यपालिका सदस्य माया रावत, वडा नम्बर १७ का अध्यक्ष खुसीराम चौधरी र कृषि शाखाका प्रमुख भरत पोख्रेल सदस्य सचिव रहनुभएको छ ।

बैठकले वडा नम्बर २ रामपुरमा रहेको स्वास्थ्य चौकीको स्तरवृद्धि गरि शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्ने निर्णय गरेको नगर प्रमुखका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिएका छन् ।

उक्त शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्रमा एमबिबिएस डाक्टरसहितको स्वास्थ्यकर्मी र ल्यावसहितको उपचार सेवा सञ्चालन हुने भएको छ ।
बैठकले राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय घोराहीले भवन निर्माणका लागि जग्गा माग गरेको हुँदा वडा नम्बर ६ को प्रावि गुरुवागाउँ कम्पाउण्डभित्रको जग्गा वा वडा नम्बर १८ को नवलपुरमा जग्गा उपलब्ध गराउने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *