दाङ पूर्ण खोपयुक्त जिल्ला घोषणा

  
  प्रकाशित मितिः आइतवार, पुस २३, २०७४       | 265 Views   ||

दाङलाई स्वास्थ्य क्षेत्रको नमूना जिल्ला बनाउने महराको प्रतिबद्धता

उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले दाङलाई स्वास्थ्य क्षेत्रको नमुना जिल्ला बनाउने बताएका छन् ।

जिल्ला खोप समन्वय समिति दाङले आइतबार घोराहीमा आयोजना गरेको पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणामा महराले यस्तो बताएका हुन् ।

बालबालिकाको मौलिक हकको रुपमा रहेको पूर्ण खोपयुक्त अभियानले उच्च बाल मृत्युदर हटाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै महराले सरकारले पूर्ण खोप सुनिश्चिततालाई उच्च प्राथमिकता दिएको बताए ।

महराले दाङमा हवाइ सेवा सुरु गरेर समृद्धिको यात्रा सुरु गरेको बताए । अबको तीन साताभित्रै वामपन्थी सरकार बन्ने पनि महराको भनाई थियो ।

कार्यक्रममा विशिष्ट अतिथि स्वास्थ्य सचिव पुष्पा चौधरीले अहिले नेपालका सबै अस्पतालमा आधारभूत स्वास्थ्य सेवा दिइरहेको बताउँदै प्रभावकारी स्वास्थ्य सेवाको लागि पहल थालेको दावी गरिन् ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले समृद्धिको सूचकको रुपमा रहेको पूर्ण खोपलाई निरन्तरता दिनुपर्ने बताए । जिल्लाका दुई ठूला अस्पतालमा प्रभावकारी सेवा सुविधा नभएकाले बिरामीहरु रिफर भएर नेपालगञ्ज र बुटवल जानुपर्ने बाध्यता रहेको भन्दै यस्तो समस्या हटाउन सबैको पहल हुनुपर्ने बताए ।

कार्यक्रममा बाल स्वास्थ्य महाशाखा प्रमुख डा. विकास लामिछानेले पूर्ण खोपको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी, प्रदेश सभा सदस्यद्वय अमरबहादुर डाँगी र उत्तरकुमार वली, माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतम, एमाले दाङका अध्यक्ष टीकाराम खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ घोराहीको ट्राफिकचोकबाट सुरु भएको ¥यालीले घोराही बजार परिक्रमा गरेको थियो । ¥यालीमा विभिन्न महिला समुह, विद्यालय, टोलविकास संस्थाहरु व्यानर, प्लेकार्ड र झाँकीसहित सहभागी भएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण डा. लोकराज पराजुलीले गरेका थिए भने स्वागत जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले गरेका थिए ।

 

तस्बिरहरु : कुलदीप न्यौपाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *